निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएकाहरूले शुभचिन्तकबाट स्वैच्छिक सहयोग लिन सक्ने तर रकम तोकेरै चन्दा लिन नपाइने जनाएको छ।
स्वैच्छिक सहयोग लिँदा पनि पारदर्शी तरिकाले अर्थात् बैकिङ प्रणालीबाट लिनुपर्ने आयोगको भनाइ छ।
‘निर्वाचन आचारसंहिताभित्र रहेर उम्मेदवारहरूले स्वैच्छिक सहयोग लिन सक्छन् तर रकम तोकेरै यति सहयोग चाहिन्छ भनी जबर्जस्ती कसैले पनि चन्दा सहयोग लिन पाउँदैनन्,’ आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले भने, ‘स्वैच्छिक सहयोग लिँदा पनि बैकिङ खाताबाट लिनुपर्नेछ ताकि उम्मेदवारले लिएको सहयोग पारदर्शी होस्।’
आयोगले चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ। २३ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा आयोगले तोकेको छ। आयोगले तोकेको सीमाभित्र रहेर उम्मेदवारले स्वैच्छिक सहयोग लिन सक्ने जिसीले बताए।
आयोगका अनुसार आयोगले गत माघ १९ गते मतदातालाई मताधिकारबारे सचेत गराउन निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई वडास्तरमा पुर्याउने उद्देश्यबाट मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरेको छ।
जसअनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक/एक जना स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार स्थानीयस्तरमा कार्यरत बालविकास सहजकर्ता वा मातृशिशु कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट एक जना स्वयंसेवक छनोट हुनेछन्।
आयोगका अनुसार शुक्रबारसम्म समानुपातिक तथा प्रत्यक्ष गरी १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेमा शुक्रबार बिहानसम्म ८४ लाख ४० हजार मतपत्र छपाइ भई सात हजार १३४ मतपत्र प्याकिङ भइसकेको आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी जम्मा ३२ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ।
२०७९ सालको तुलनामा २०८२ सालमा कुल मतदाताको संख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ भने पुरुष मतदाताको संख्या पाँच लाख २२ हजार ५५२, महिला मतदाताको संख्या तीन लाख ९२ हजार ५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० थियो।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सालका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्न देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ।
प्रकाशित: २३ माघ २०८२ २२:०३ शुक्रबार





