नेपाली साङ्गीतिक आकाशमा विगत साढे दुई दशकदेखि अनवरत रूपमा सुमधुर स्वर पस्कँदै आएकी वरिष्ठ गायिका वविता मानन्धरले मुलुकको राजनीतिक अवस्थाप्रति पनि उत्तिकै चिन्तन राख्छिन्।
वि.सं. २०५७ सालदेखि औपचारिक रूपमा चलचित्रको पाश्व गायनबाट साङ्गीतिक यात्रा सुरु गरेकी मानन्धरले हालसम्म झन्डै दुई दर्जन चलचित्रमा आफ्नो आवाज दिइसकेकी छिन्।
चलचित्रका गीतबाहेक अन्य विधाका गरी करिब पाँच दर्जन गीत रेकर्ड गराइसकेकी उनका कतिपय गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
विशेषगरी, चेलीबेटी बेचबिखनजस्तो संवेदनशील सामाजिक मुद्दामा आधारित उनका गीतहरू वास्तविक घटनामा आधारित रहेको उनी बताउँछिन्।
हालै मात्र उनको स्वरमा ‘कलियुगकी राधा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यसले पनि दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ।
यतिबेला देशमा चुनावी सरगर्मी पनि उत्तिकै बढिरहेको छ। कलाकारहरूले यसलाई कसरी लिएका छन् र उनीहरूको अपेक्षा के छ भन्ने सन्दर्भमा गायिका मानन्धरसँग नागरिककर्मी अमृता कुशवाहाले गरेको छोटो-मिठो निर्वाचन विशेष कुराकानीको सम्पादित अंश:
अहिलेसम्म हजुरले मतदान गर्नुभएको छ कि छैन ? मतदानलाई कसरी लिनुहुन्छ ?
-मैले अहिलेसम्म मतदान गर्दै आएकी छु। मेरो विचारमा सबै नागरिकले नै मतदान गर्नु पर्छ। यो हाम्रो लोकतान्त्रिक अधिकार मात्र होइन, एउटा सचेत नागरिकको हैसियतले निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण कर्तव्य र हक पनि हो।
अबको निर्वाचन र बन्ने नयाँ सरकारबाट हजुरको अपेक्षा के छ ?
-मेरो मुख्य अपेक्षा भनेको पछिल्ला समय घटेका दुःखद घटनाहरू अब पुनः नदोहोरिउन् भन्ने हो। विशेषगरी नयाँ पुस्ता (जेन–जी) ले भोगिरहेका समस्याहरू समाधान हुनुपर्छ। अबको पुस्तालाई शिक्षादेखि स्वास्थ्य उपचारसम्मका आधारभूत कुरामा कुनै दुःख नहोस्। म जब देश बाहिर जान्छु, त्यहाँको विकास र व्यवस्थित प्रणाली देख्दा लोभ लाग्छ। तर, जब ती व्यवस्थाहरू हाम्रो देशमा देख्न पाइन्न, तब असाध्यै चित्त दुख्छ। त्यसैले जो आए पनि जनतालाई सहज हुने व्यवस्था ल्याओस् भन्ने चाहन्छु।
नयाँ बन्ने सरकारबाट चलचित्र उद्योगमा चाहिँ सुधार आउने कत्तिको अपेक्षा राख्नुभएको छ ?
-चलचित्र समाजको ऐना हो। यसबाट हामीले धेरै कुरा सिक्न पाउँछौँ। तर, अहिलेको अवस्थालाई नियाल्दा मलाई के लाग्छ भने, चलचित्र उद्योगमा मात्र सुधार भएर पुग्दैन। समग्र देशको ‘सिस्टम’ वा व्यवस्थामा नै सुधार हुनु आवश्यक छ। वर्तमान अन्योलग्रस्त अवस्थालाई देख्दा सबै क्षेत्रमा आमूल परिवर्तन र सुधार हुनु एकदमै जरुरी भइसकेको छ।
पछिल्लो समय चलचित्र क्षेत्रका कलाकारहरू पनि उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका छन्, यसलाई हजुरले कसरी लिनुभएको छ ?
-को उठ्यो वा को आयो भन्दा पनि उहाँहरूले गर्ने काम महत्त्वपूर्ण हुन्छ। कलाकार आउनु राम्रो हो, तर मेरो स्पष्ट मान्यता के छ भने, सरकार जोसुकैको बनोस् वा जोसुकै निर्वाचित भएर आउनुहोस्, देश राम्रो बनाउनुपर्यो। व्यक्ति फेरिएर मात्र हुँदैन, देशको व्यवस्थामा सुधार हुनुपर्यो। मेरो अपेक्षा यति नै हो।
प्रकाशित: २३ माघ २०८२ २१:२७ शुक्रबार





