२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङलाई अलैंचीको सुपर जोन बनाइँदै

नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लालाई अलैंचीको सुपर जोनमा समावेश गराउन ताप्लेजुङबाट दबाब सुरु भएको छ । कोशी प्रदेशका दुई सांसद सहित बिहीबार ताप्लेजुङमा भएको सरोकारवालाको छलफलले अहिले अलैंची जोन मात्र रहेको र थप खेतीक्षेत्र बिस्तार सहितको बलियो सम्भावना रहेको ताप्लेजुङलाई अलैंचीको सुपर जोनमा समावेश गराउन कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको हो ।  

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ अन्तरगत सञ्चालनमा रहेको अलैंची जोनलाई सुपरजोनमा स्तरबृद्धिका लागि पहल भएको जानकारी दिए । सरोकारवालाको छलफलले यहाँको हाल अलैची खेती भइरहेको क्षेत्र संकलन गरी खेती क्षेत्र बिस्तारको सम्भावित क्षेत्रफलको विवरण यहाँका ९ वटै स्थानीय तहका सबै वडाहरुबाट संकलन गरी कृषि ज्ञान केन्द्र ताप्लेजुङमार्फत एकीकृत विवरण तयार पार्ने निर्णय समेत गरेको छ ।  

ताप्लेजुङमा आर्थिक वर्ष २०७५/७६ बाट अलैंची जोन सञ्चालनमा रहेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त प्रमुख विजय श्रेष्ठका अनुसार ताप्लेजुङमा कुल ४ हजार ५ सय ७८ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गरेको छ ।  

ताप्लेजुङका ६१ मध्ये ओलाङचुङगोला बाहेक बाँकी सबै ६० वटै वडाहरुमा अलैंची उत्पादन हुने गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङका प्रमुख काशीराम पाण्डेका अनुसार ताप्लेजुङमा आर्थिक वर्ष २०८१/८२ मा २ हजार २ सय ९१ मेट्रिकटन अलैंची उत्पादन भएको छ । उत्पादकत्व प्रति हेक्टर ०.५४ मेट्रिकटन रहेको समेत पाण्डेले जानकारी दिए । पछिल्ला चारवर्षको अवस्था हेर्दा ताप्लेजुङमा आव २०७८।७९ मा सबैभन्दा बढी अलैंची उत्पादन भएको छ । सो आवमा उत्पादकत्व प्रति हेक्टर ०.६५ मेट्रिकटन रहेकोमा उत्पादन भने ४ हजार ३ सय ३ मेट्रिकटन रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङले जनाएको छ । यस्तै आव २०७९।८० मा २ हजार ६ सय ५० मेट्रिकटन र आव २०८०/८१ मा २ हजार ५ सय ३९ मेट्रिकटन उत्पादन भएको कार्यालयले बताएको छ । कृषि ज्ञान केन्द्रले ताप्लेजुङ अलैंची उत्पादनको अपार सम्भावना बोकेको जिल्लाको रुपमा औंल्याएको छ । बिक्रम् सम्वत् १९१० साल देखि नेपालका पूर्वी पहाडी जिल्लाहरुमा अलैंची खेती सुरु गरिएको इतिहाँस रहेको ज्ञान केन्द्रले जनाएको छ । बिक्रम् सम्वत् १९७५ सालमा इलामको फिक्कलमा अलैंची विकास केन्द्र स्थापना भई सरकारी निकायले व्यवस्थित र संस्थागत रुपले खेतीको अनुसन्धान एवम् बिस्तारको प्रारम्भ गरेको कृषि ज्ञान केन्द्रले भनेको छ । हाल नेपालमा ५७ जिल्लामा उत्पादन हुने अलैंचीको करिव ४७ प्रतिशत हिस्सा ताप्लेजुङ जिल्लाले ओगट्ने विभिन्न आलेखहरुमार्फत देखिएका छन् । अलैंचीलाई नेपाल व्यापार एकीकृत रणनीति २०८० ले निर्यात सम्भावना बोकेको प्रमुख बालीको रुपमा औंल्याएको छ । संयुक्त राष्ट्र संघ अन्तरगत खाद्य तथा कृषि संगठन(एफएओ)ले नेपाललाई अलैंचीको देशको संज्ञा दिएको छ । 

प्रकाशित: ८ माघ २०८२ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App