coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँगको चिनियाँ व्यापार खुम्चियो

बेइजिङ (एजेन्सी) – संयुक्त राज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ। दुवै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको विभिन्न अध्ययनले देखाएका छन्।

अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा चीनमा २२ प्रतिशतले कमी आएको छ। चिनियाँ करवृद्धिका कारण अगस्ट महिनामा अमेरिकाबाट करिब १० अर्ब डलर बराबरको सामान मात्र आयात भएको छ।

चिनियाँ भन्सारका अनुसार संयुक्त राज्य अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करवृद्धिलाई यथावत राखेका कारण गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएका छन्।

संयुक्त राज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्।

अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको सुस्त वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ। गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए। सर्वेक्षणमा दुई प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए।

करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै सुरु हुने बताएका छन्। अर्थशास्त्रीले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरुबाट भित्रिने सामानमा करवृद्धि गरेका छन्। ट्रम्पले चीन, युरोपेली मुलुक, मेक्सिको र क्यानडाबाट आउने सामानमा कर बढाएका छन्। अमेरिकी अधिकारीहरुले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन् तर अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले प्रतिशोधस्वरुप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन्।

विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीचको व्यापारमा नाटकीय रूपमा कमी आएको छ। राष्ट्रपति ट्रम्पले करिब ३ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि पछिल्लो पटक घोषणा गरेको १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गरेका छन्।

सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन्। करिब पाँच प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन् जबकी ६४ प्रतिशतले सम्झौताको नाटक मात्र हुने बताएका छन्। करिब एक तिहाइले दुवै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन्।

सर्वेक्षणमा कर्पोरेसन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २ सय २६ जना अर्थविज्ञका धारणा समेटिएको छ। यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो।

प्रकाशित: २३ भाद्र २०७६ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App