८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनमा कमिलासहितको बेलायती ‘पार्सल’ बरामद

बेइजिङ – बेलायतबाट आएको एक ‘मेल पार्सल’ मा एक हजारभन्दा बढी कमिला पठाइएको भेटिएपछि उक्त पार्सललाई बरामद गरिएको चीनको केन्द्रीय भन्सार कार्यालयले आइतबार जनाएको छ। चीनको मध्य क्षेत्रमा रहेको हुनान प्रान्तको छाङ्साबाट हालै कमिलासहित बरामद भएको पार्सलमा एक हजारभन्दा बढी ‘हार्भेस्टर एन्ट’लाई उसको खानाका लागि आवश्यक पोषणयुक्त खानासहित टेस्ट ट्युबमा बन्द गरिएको अवस्थामा भेटिएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। चीनमा विदेशी जीवलाई पाल्ने सोख बढिरहेका समय कमिलाको उक्त प्रजातिलाई आयात गरिएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन्।

बरामद ‘हार्भेस्टर एन्ट्स’ मध्ये ३७ वटा एक दशमलव चार सेन्टिमिटर लामो काला तथा राता रानी कमिला भएको र तिनीहरु अन्य कमिला झैं टेस्ट ट्युबमा खानासहित बन्द अवस्थामा भेटिएको हुनान प्रान्तको राजधानी छाङ्साका भन्सार अधिकारीहरूले बताएका छन्। रानी कमिलासँगै ठूलो संख्यामा ज्यामी कमिला र तिनीहरूका फुलसमेत पार्सलमा भेटिएको भन्सार स्रोतले जनाएको छ।

‘सबै कमिला ‘हार्भेस्टर एन्ट’ प्रजातिका रहेको र सुन्दर भएका कारण जीव पाल्न सौखिन चिनियाँबीच उनीहरूको लोकप्रियता रहेको छ,’ एक अधिकारीले बताए। उक्त प्रजातीका कमिलाको प्रजनन् छिटो हुने भएकाले उनीहरूलाई हुर्काउन सहज मान्ने गरिएको जीवप्रेमी चिनियाँ नागरिकले बताएका छन्। चीनमा हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानुनी बन्देज रहेको छ। अधिकारीले भनेका छन्, ‘गैरकानुनी रूपमा आयात गरिने विदेशी कमिलाको प्रजातिका कारण मुलुकको पारिस्थितिक सन्तुलनमा जोखिम हुन्छ।’ चिनियाँ कानुनअनुसार ती कमिला र पार्सललाई प्रक्रिया पु¥याएर नस्ट गरिने छ।

चीनको फस्टाउँदो इ–कमर्सका कारण सर्प, साना–ठूला किरा र छेपारो प्रजातीका विदेशी जीवको आयात बढ्दो देखिएको छ। यसका कारण विदेशी जीव र कहिलेकाहीं संकटापन्न जीवको अवैध कारोबार गर्ने गरेको आरोप बेलावखत चीनमाथि लाग्ने गरेको छ।

 

प्रकाशित: १६ वैशाख २०७६ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App