८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिरियाको द्वन्द्व समाधानका लागि कजाकिस्तानमा वार्ता

नुर–सुल्तान – कजाकिस्तानको राजधानी नुर–सुल्तानमा सिरियामा जारी द्वन्द्वको उपयुक्त समाधानको उपाय पहिल्याउने उद्देश्यले छलफल गर्न इरान, रुस र टर्कीका प्रतिनिधिहरु भेला भएका छन्।

तीन ओटा शक्ति राष्ट्र र सिरिया सरकारका प्रतिनिधिहरु पनि नुर–सुल्तान आइपुगेका कजाकिस्तानका विदेश मन्त्रीले पुष्टि गर्नु भएको छ। शुक्रबार दिनभर वार्ता हुने बताइएको छ। सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूत गेइर पेडर्सन पनि वार्तामा सहभागी हुन लाग्नु भएको विदेश मन्त्रालयले जानकारी दिएको छ। अल–कायदा आवद्ध हायत ताहरिर अल शाम नामक लडाकू समूहले नियन्त्रणमा लिएको सिरियाको उत्तरपूर्वी क्षेत्र इद्लिबको अवस्थाका बारेमा पनि छलफल हुने अनुमान गरिएको छ।

कजाकिस्तानको राजधानीको नाम गत महिनासम्म अस्ताना थियो। हालै मात्र सत्ता छोड्न लाग्नु भएका राष्ट्रपतिको नाममा नुर–सुल्तान नामकरण गरिएको छ। दमास्कसलाई मद्दत गर्ने उद्देश्यले सन् २०१५ मा रुसले सिरियामा सैन्य हस्तक्षेप गरेपछि देशको दुई तिहाई भूभाग पुनः सत्तापक्षको नियन्त्रणमा आएको छ। सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो। सो जनआन्दोलन अलकायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुँदै गएपछि केही समयमा नै आन्दोलन गृहयुद्धमा परिणत भएको थियो। सन् २०११ देखि हालसम्म जारी सो द्वन्द्वमा परी ३ लाख ७० हजार व्यक्तिको मृत्यु भइसकेको छ। गृहयुद्धमा परी दशौं लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थीको रुपमा विस्थापित भएका छन्। त्यसैगरी लाखौं मानिस घाइते भएका छन्। सरकारी तथ्याङ्कअनुसार सर्वसाधारणको हताहतको सङ्ख्या सानो भएको र अझ बढी व्यक्ति प्रभावित भएको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन्। रासस

प्रकाशित: १२ वैशाख २०७६ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App