८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फेसबुकले बन्द गर्‍याे म्यानमारका सेना प्रमुखको अकाउन्ट

न्युयोर्क – म्यानमारका सेना प्रमुख सहित थुप्रै उच्च सैनिक अधिकारीको अहिले फेसबुक अकाउन्ट छैन।

संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनले म्यानमारको उत्तरी राज्य रखाइनमा रहेका अल्पसंख्यक रोहिन्जा सहित अन्य क्षेत्रमा भएका हिंसाका घटनामा म्यानमाली सेनाका कैयौं उच्च अधिकारीलाई अनुसन्धान गर्नु पर्ने र उनीहरु विरुद्ध जातीय नरसंहारको मुद्दा चलाउनुपर्ने बताएपछि फेसबुकले उनीहरुको अकाउन्ट बन्द गरेको बिबिसीले जनाएको छ। 

फेसबुकले कुनै पनि देशको सैन्य अधिकारी वा राजनीतिक नेतृत्वको अकाउन्ट बन्द गराएको यो पहिलो घटना हो। म्यामारसँग सम्बन्धित १८ वटा अकाउन्ट र ५२ वटा फेसबुक पेजलाई फेसबुकले हटाएको छ। त्यसैगरी फेसबुककै अर्को परियोजना इन्स्टाग्रामको एउटा अकाउन्ट पनि बन्द गरिएको छ। यसरी बन्द गराइएका अकाउन्टमा कुल एक करोड २० लाख मानिसले ‘फलो’ गरेको बताइएको छ। म्यानमारमा फेसबुक ठूलो सामाजिक सञ्जाल हो । म्यानमारमा मात्रै एक करोड ८० लाख फेसबुक प्रयोगकर्ता भएको बिबिसीले उल्लेख गरेको छ। 

सोमबार राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा म्यानमारको विषयमा तथ्य पत्ता लगाउनका लागि गठन गरिएको स्वतन्त्र अन्तर्राष्ट्रिय मिसनले सार्वजनिक गरेको प्रतिवेदनमा म्यानमाली जनताका लागि इन्टरनेट भनेकै फेसबुक भएको उल्लेख गरिएको छ । यद्यपि फेसबुक सामाजिक द्वैष फैलाउनका लागि महŒवपूर्ण संयन्त्रका रूपमा प्रयोग गर्ने गरिएको समेत सो प्रतिवेदनले जनाएको छ। 

म्यानमाली सेना प्रमुख मिन आङ लाइङका दुई वटा फेसबुक अकाउन्ट थिए । फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार उनको एउटा अकाउन्टमा १३ लाख फलोअर्स र अर्कोमा २८ लाख फलोअर्स रहेका थिए । यसको अर्थ उनी म्यामारमा अत्यन्तै प्रभावशाली व्यक्ति हुन्, एएफपीले जनाएको छ । सेना प्रमुखको एउटा फेसबुक पोस्टमा उनले रोहिन्जालाई ‘बंगाली’का रूपमा समेत उल्लेख गरेका छन्। बन्द गरिएको अन्य पेजसहित सेना प्रमुखको पेजले म्यानमारमा जातीय तथा धार्मिक तनाब बढाएको फेसबुकले बताएको छ। 

सरकारसँग सल्लाह नै नगरी फेसबुकले एकतर्फी रूपमा देशको सेना प्रमुखसहित उच्च सुरक्षा अधिकारीको फेसबुक अकाउन्ट बन्द गरेको म्यानमारका राष्ट्रपतिका प्रवक्ता यू ज टेलाई उद्धृत गर्दै म्यानमार टाइम्स नामक समाचार पोर्टलले जनाएको छ । बन्द गराइएका अकाउन्ट पुनः खुला गर्नका लागि सरकारले फेसबुकसँग कुराकानी गरिरहेको समेत उनले बताएका छन् । 

म्यानमारमा जातीय हिंसा फैलाउनका लागि फेसबुक महत्वपूर्ण माध्यम भइरहेको विभिन्न समयमा आरोप लाग्ने गरेका छन्। सन् २०१४ मा म्यानमारमा घुणाजन्य सम्बोधन फैलाउनका लागि फेसबुक प्रयोग भइरहेको र यसले ठूलो समस्या ल्याउन सक्ने विज्ञहरुले चेतावनी दिएका थिए । यसै वर्षको मार्च महिनामा संयुक्त राष्ट्रसंघका एक अधिकारीले म्यानमारमा फेसबुक जंगली जनावरमा परिणत भएको बताएका थिए। म्यानमारमा घृणाजन्य अभिव्यक्तिका लागि फेसबुक अत्यन्तै निस्प्रभावी भएको सोमबार सार्वजनिक भएको प्रतिवेदनले समेत जनाएको छ। फेसबुकमा हुने विभिन्न खाले पोस्टले म्यानमारमा जातीय भेदभाव र हिंसा फैलाउन सहयोग पुगिरहेको सो प्रतिवेदनले बताएको छ। राष्ट्रसंघीय प्रतिवेदनप्रति प्रतिक्रिया दिँदै फेसबुकले घृणाजन्य पोस्ट रोक्न नसकेको स्वीकार गरेको बिबिसीले जनाएको छ । घृणाजन्य अभिव्यक्ति पत्ता लगाउनका लागि नयाँ प्रविधिको विकासमा सुधार भइरहेको समेत उसले जनाएको छ। अन्य देशको तुलनामा म्यानमारका अधिकांश जनता सूचनाका लागि फेसबुकमा निर्भर हुने गरेको तथ्य पनि फेसबुकले सार्वजनिक गरेको छ। 

 

प्रकाशित: १३ भाद्र २०७५ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App