२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तेल र ग्यासको भण्डार

आक्टु – अजरबैजान, इरान, कजाकस्तान, रुस र तुर्कमेनिस्तानका नेता क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाकस्तानको तटीय सहर आक्टुमा भेला भएका छन्।

सोभियत संघ विघटन भएपछि सीमाको कानुनी वैधताका विषयमा दुई दशकभन्दा बढी समयदेखि यी देशबीच विवाद रहँदै आएका छन्।

विशाल भित्री सागर
क्यास्पियन सागर विश्वमै जमीनले घेरेको सबैभन्दा ठूलो जलक्षेत्र हो। करिब ७० हजार क्युबिक किलोमिटर पानी रहेको क्यास्पियन सागर उत्तर तथा बाल्टिक सागरभन्दा दुई गुणा ठूलो छ। यस क्षेत्रका मुलुकबीच क्यास्पियन सागर हो वा सरोवर हो भन्नेमा लामो विवाद छ, जसका कारण कानुनी विवाद खडा हुने गरेको छ।

यो सागरबाट कुनै पनि नदी सुरु हुँदैनन् र यसलाई जमिनले घेरेको छ । त्यहीकारण यो सरोवर वा तालको रूपमा रहेको मान्न सकिन्छ। नयाँ मस्यौदा सम्झौतामा यसलाई सागर नै भनी परिभाषित गरिएको छ र रुसले आफूसँग विशेष कानुनी हैसियत रहेको दाबी गर्दै आइरहेको छ।

ऊर्जाको भण्डार
क्यास्पियन सागरमाथि सबैको आँखा गाडिनुको अर्को प्रमुख कारण यहाँ रहेको अथाह ऊर्जा हो। अमेरिकी ऊर्जा सूचना प्रशासनको सन् २०१२ मा गरेको पछिल्लो अनुमानअनुसार, यहाँ ४८ अर्ब ब्यारेल तेल र दुई सय ९२ खर्ब क्युबिक फिट प्राकृतिक ग्यास छ। यो अथाह इन्धन क्यस्पियन सागर र त्यस वरपरको जमीनभित्र रहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। क्यास्पियन सागरको सबैभन्दा ठूलो तेल खानी, कजाकस्तानको कासागानमा रहेको र त्यहाँ १३ अर्ब ब्यारेल खनिज तेलको भण्डार भएको बताइन्छ। सन् २००० मा पत्ता लागेको यस भण्डारण यो देशकै आजसम्म पत्ता लागेको सबैभन्दा ठूलो तेल र ग्यास भण्डार हो।

पानीभित्रको सतहबाट इन्धन उत्खनन् गर्नु र त्यसलाई बजारसम्म पु-याउनु त्यति सहज छैन र कासागान परियोजनाले समयमै उत्खनन गर्न नसक्दा ‘भिल्लको देशमा मणी’ झैं सावित भएको छ ।

सर्वाधिक महँगा माछा
क्यास्पियन सागरमा विश्वमै सबैभन्दा महँगा र स्वादिला माछाको भण्डार रहेको छ। यी माछाका भूरा सागरको दक्षिणतर्फ पाइन्छन् । तर वातावरणविदले यहाँ अत्यधिक माछा मार्ने कार्य हुने हुदा माछाको प्रजाति नै नष्ट हुने खतरा औंल्याउन थालेका छन् । अबको सम्झौताले यी माछाको संरक्षणमा ठोस काम हुने उनीहरुको भनाइ छ। गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार, इरानतर्फ यी माछाको मूल्य प्रतिकिलो २५ हजार अमेरिकी डलरसम्म हुने गरेको छ।

सागरको तटीय व्यवस्थापन
क्यास्पियन सागरको वरिपरिको अव्यवस्थित परिस्थितिले पर्यटकलाई सबै मुलुकले आकर्षित गर्न सकेका छैनन्। केबल तुर्कमेनिस्तान र अजरबैजानका स्थानीयले मात्र तटीय लाभ लिइरहेका छन्। यी दुई मुलुकले क्यास्पियन पर्यटनका लागि लगानी बढाएका छन् र यो स्थानीय तहमा मात्र केन्द्रित छ।     

तथापि, पौडी खेल्न तटीय इलाका कतिसम्म सुरक्षित गर्न सकिएला? सागरको वरिपरिका धेरै ठाउँ प्रदूषित छन् र औद्योगिक प्रदूषण पनि बढ्दो छ। हालैका वर्षमा, अजरबैजान र रुसको डागेस्तान क्षेत्रका अधिकारीले कतिपय बिचहरु पौडी खेल्न असुरक्षित रहेको घोषणा गरेका छन्।

नारनियासँगको सम्पर्क
बेलायती लेखक सी.एस.लेविसले बालबालिकाका लागि लेखेको लोकप्रिय पुस्तक ‘क्रोनिकल्स अफ नारनिया’मा नाविक राजकुमार क्यास्पियनलाई एक पात्रका रूपमा उभ्याएका छन् तर यसको सम्बन्ध प्रामाणित भने भएको छैन । तर पुस्तकले यस क्षेत्रका धेरै भाषा र सँस्कृतिलाई जोडेको पाइन्छ।

प्रकाशित: २८ श्रावण २०७५ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App