दक्षिणी युरोपमा फैलिएको गर्मीको लहरले इटाली, स्पेन र ग्रीसजस्ता देशमा तापक्रम १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस) भन्दा माथि पुगेको छ। स्थानीय अधिकारीहरूले डढेलोको जोखिमविरुद्ध चेतावनी जारी गरेका छन्।
विज्ञहरूले गर्मीको लहरलाई जलवायु परिवर्तनसँग जोडेका छन्। उनीहरूले दक्षिणी युरोपमा यस्ता चरम मौसमी घटना सामान्य हुँदै गएको बताए। सप्ताहान्तमा इटाली, ग्रीस, स्पेन र पोर्चुगलमा तीव्र गर्मी रेकर्ड भएको थियो। स्थानीय र पर्यटकहरूले गर्मीबाट बच्न छायाँ खोजेका थिए।
पोर्चुगलको दुई तिहाइ क्षेत्र आइतबार अत्यधिक गर्मी र डढेलोको उच्च जोखिममा थियो। लिस्बनमा तापक्रम १०७ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) माथि पुग्ने अनुमान थियो।
इटालीका लाजियो, टस्कनी, क्यालाब्रिया, पुगलिया र उम्ब्रियामा रेकर्ड तापक्रमका कारण दिनको सबैभन्दा तातो समयमा बाहिरी काममा प्रतिबन्ध लगाउने योजना बनेको छ। इटालियन ट्रेड युनियनहरूले सरकारलाई यस्ता उपाय राष्ट्रिय स्तरमा लागू गर्न दबाब दिएका छन्।
आइतबार इटालीको स्वास्थ्य मन्त्रालयले २७ मध्ये २१ सहरलाई उच्च गर्मी सतर्कतामा राख्यो। सूचीमा रोम, मिलान र नेपल्सजस्ता लोकप्रिय गन्तव्य पनि थिए। सडकमा भएका विक्रेताहरूले पर्यटक र स्थानीयलाई गर्मीबाट राहत दिन कागती पानी बेचे।
ग्रीसमा अत्यधिक गर्मीका कारण डढेलोको जोखिम देखिएको छ। गर्मीको लहर सप्ताहान्तसम्म रहने अनुमान छ।
विज्ञहरूले तीव्र गर्मीले दैनिक जीवनमा असर गर्ने, विशेष गरी वृद्ध र बालबालिकालाई जोखिम हुने चेतावनी दिए। स्थानीय अधिकारीहरूले दिनको तातो समयमा शारीरिक गतिविधि नगर्न र प्रशस्त तरल पदार्थ पिउन सुझाए।
एउटा अध्ययनले जलवायु परिवर्तनका कारण गर्मीजन्य मृत्युको जोखिम बढेको देखाएको छ। अध्ययनले वर्तमान जलवायु नीति कायम रहे शताब्दीको मध्यसम्ममा गर्मीजन्य मृत्यु चार गुणा बढ्ने अनुमान गरेको छ। अध्ययनले भनेको छ, ‘गर्मीभन्दा चिसोले धेरै मानिसको मृत्यु हुन्छ, तर बढ्दो तापक्रमले हल्का जाडोको फाइदा कम गर्नेछ, जसले गर्मीजन्य मृत्युदरमा उल्लेखनीय वृद्धि गर्छ।’ एजेन्सी
प्रकाशित: १६ असार २०८२ ०९:४५ सोमबार





