जु येओङले मासुको लागि कुकुर पाल्थे। उनको व्यवसाय राम्रो चलिरहेको थियो।
दक्षिण कोरियामा कुकुरको मासुको खपत प्रचलित छ, जहाँ किसानहरूले मासुको लागि पालिएका अन्य जनावरहरू जस्तै फार्ममा कुकुरहरू पाल्छन्।
तर गत वर्ष जनवरीमा दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगायो। अब जु जस्ता धेरै किसानहरूलाई आफ्नो फार्ममा रहेका कुकुरहरूलाई के गर्ने भन्ने कुरा थाहा छैन।
६० वर्षीय जुले गत वर्षदेखि कुकुरहरू बेच्ने प्रयास गरिरहेका छन् तर कुनै खरिदकर्ता फेला पार्न सकेका छैनन्। जनवरी २०२४ मा दक्षिण कोरियाली सरकारले देशभर कुकुरको मासु बेच्न प्रतिबन्ध लगाएको थियो।
सरकारले देशमा मासुको लागि कुकुर बेच्ने पसलहरू फेब्रुअरी २०२७ सम्ममा बन्द गर्न आदेश दिएको थियो। तर पुस्तादेखि चलिरहेको व्यवसायलाई तुरुन्तै बन्द गर्नु सजिलो नभएको स्थानीयहरुु बताउँछन्। यसबाहेक मासुको लागि पालिएका पाँच लाखभन्दा बढी कुकुरहरूको लागि सरकारले कुनै ठोस योजना बनाएको छैन।
प्रतिबन्धको समर्थन गर्ने पशु अधिकारकर्मीहरू पनि यसप्रति चिन्तित छन्। किसानहरूसँग लाखौं कुकुरहरू छन् तर तिनीहरूलाई किन्न कोही छैन।
जु येओङ कोरियाली खाद्य कुकुर संघका अध्यक्ष पनि हुन्। उनी भन्छन्, 'मानिसहरू धेरै चिन्तित छन्। हामी ऋणमा डुबेका छौं। धेरै मानिसहरूले नयाँ काम पनि पाउन सकिरहेका छैनन्। अवस्था धेरै चिन्ताजनक छ।'
किन यस्ता समस्याहरू उत्पन्न भइरहन्छन्?
अर्का किसान चान वु (नाम परिवर्तन गरिएको) सँग अब केवल १८ महिना मात्र छ जसमा उनले आफ्नो फार्ममा रहेका ६०० कुकुरहरूको लागि केही व्यवस्था गर्नुपर्नेछ। यदि उनले त्यसो गर्न असफल भए भने उनलाई दुई वर्षसम्मको जेल सजाय हुन सक्छ।
उनी भन्छन्, 'मैले मेरो सबै बचत यसै व्यवसायमा लगानी गरेको थिएँ तर अहिले मानिसहरू कुकुर किन्न पनि तयार छैनन्।'
उनले प्रतिबन्ध लागू गर्न अभियान चलाइरहेका पशु अधिकारकर्मी र सरकारी अधिकारीहरूलाई औंल्याए। तर प्रतिबन्धपछि बाँकी रहेका लाखौं कुकुरहरूको बारेमा सरकार वा कार्यकर्ताहरूले अहिलेसम्म कुनै ठोस योजना अघि सारेका छैनन्।
'उनीहरूले कुनै स्पष्ट योजना बिना नै यो कानुन पारित गरे,' चान वु भन्छन्, 'र अब उनीहरू कुकुरहरू पाल्न सक्दैनन् भनिरहेका छन्।'
ह्युमन वर्ल्ड फर एनिमल्स कोरियाका अभियान प्रबन्धक ली सुङक्युङले यो चिन्तालाई दोहोर्याउँछन्।
उनी भन्छन्, 'कुकुरको मासुमा प्रतिबन्ध लागू गरिएको छ, तर सरकार र सामाजिक संस्थाहरूले यी बाँकी रहेका कुकुरहरूलाई कसरी बचाउने भन्ने निर्णय गर्न सकेका छैनन्। छलफलको एउटा महत्त्वपूर्ण भाग भनेको पछाडि छोडिएकाहरूलाई के हुनेछ भन्ने हो।'
दक्षिण कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएअनुसार यदि किसानहरूले आफ्ना कुकुरहरूलाई त्यागे भने स्थानीय अधिकारीहरूले तिनीहरूलाई आफ्नो संरक्षणमा लिनेछन् र आश्रयस्थलमा राख्नेछन्।
तर जनावरहरूका लागि बनाइएका आश्रयहरू पहिले नै भरिएका छन्। अब ती कुकुरहरूका लागि संकट उत्पन्न भएको छ जसको सुरक्षाको लागि मासुमा प्रतिबन्ध लगाइएको थियो।
चान वु भन्छन्, 'मैले सोचेको थिएँ कि उनीहरूले कुकुरहरूको जिम्मेवारी लिनको लागि केही योजना बनाएका हुनेछन्। तर अब म सुनिरहेको छु कि पशु अधिकार समूहहरू आफैंले यी कुकुरहरूलाई मार्नु नै एक मात्र विकल्प हो भनिरहेका छन्।'
किसानले कुकुरहरूलाई के गर्नुपर्छ?
कोरियाली पशु कल्याण संघका प्रमुख चो ही-क्युङले सेप्टेम्बर २०२४ मा स्वीकार गरे कि सकेसम्म धेरै जनावरहरूलाई बचाउन प्रयास भइरहेको छ, तर केही कुकुरहरू अझै पनि बाँकी रहने छन्।
उनले भने, 'यी बाँकी रहेका कुकुरहरू 'छोडिएका र आवारा जनावर' भए भने यो अत्यन्तै दुःखद हुनेछ। त्यसैले, तिनीहरूलाई मार्नुपर्ने हुन सक्छ।'
यद्यपि, सरकारले यो विकल्पमा काम नगरेको स्पष्ट पारेको छ।
सियोल राष्ट्रिय विश्वविद्यालयको पशु चिकित्सा शिक्षा कार्यालयका निर्देशक चुन म्युङ-सन विश्वास गर्छन् कि बाँकी कुकुरहरूको लागि सरकारको योजना अझै अपूर्ण छ।
उनी भन्छिन्, 'यी कुकुरहरूलाई कसरी सम्हाल्ने भन्ने बारेमा हामीले स्पष्ट र ठोस कुराकानी गर्न आवश्यक छ। तिनीहरूलाई उनीहरूको परिवारलाई सुम्पने वा मार्ने दुवै विकल्पहरू खुला रूपमा छलफल गरिनुपर्छ। तर यदि हामीले तिनीहरूलाई मार्ने छनौट गर्यौं भने, यो अत्यन्तै दुःखद हुनेछ।'
जीविकोपार्जनको संकट
केही मानिसहरूले देश बाहिर यो संकटको समाधान खोजेका छन्। उनीहरूले आफ्ना कुकुरहरूलाई त्यस्ता देशहरूमा पठायरहेका छन् जहाँ सजिलै पालिन्छ जस्तै क्यानडा, बेलायत र अमेरिका।
२०२३ मा ह्युमन वर्ल्ड फर एनिमल्स कोरियाको टोलीले असान शहरको एउटा फार्मबाट लगभग २०० कुकुरहरूलाई उद्धार गरेको थियो। तिनीहरूलाई क्यानडा र संयुक्त राज्य अमेरिका पठाइएको थियो।
फार्मका मालिक ७४ वर्षीय याङ जोङ-ताईले बीबीसीलाई भने, 'मैले देखेँ कि उनीहरूले यी जनावरहरूलाई कति मायालु व्यवहार गरे। हामी कुकुरहरूलाई यसरी व्यवहार गर्दैनौं। हाम्रो लागि तिनीहरू केवल जीविकोपार्जनको माध्यम थिए। तर यी मानिसहरूले उनीहरूलाई सम्मानपूर्वक व्यवहार गरे, जसले मेरो हृदय छोयो।'
यद्यपि, याङले कुकुरको मासुमा प्रतिबन्ध लगाउने कुरामा आफू सहमत नभएको पनि बताए। उनले भने, 'यदि कुकुरको मासु जनावर भएको कारणले प्रतिबन्धित छ भने गाई, सुँगुर र कुखुरा खान कसरी अनुमति छ? तिनीहरू पनि जनावर हुन्।'
तर चुन विश्वास गर्छन् कि कुकुरको मासु र अन्य मासु एउटै होइनन्। उनी भन्छन् कि कुकुरको मासुले सरसफाइ, रोग र खाद्य सुरक्षाको हिसाबले बढी जोखिम निम्त्याउँछ।
ह्युमन वर्ल्ड फर एनिमल्सका अनुसार चीन, इन्डोनेसिया, भियतनाम, लाओस, म्यानमार, भारतको उत्तर-पूर्वी भाग र केही अफ्रिकी देशहरूमा अझै पनि कुकुरको मासु खाइन्छ।
'समाज र संस्कृतिको प्रगति हुँदै जाँदा दक्षिण कोरियाले अब कुकुरको मासु नखाने निर्णय गरेको छ,' चुन भन्छन्।
कुकुरको मासु व्यवसायमा संलग्न सबैले बीबीसीलाई बताए कि उनीहरू अब जीविकोपार्जनको संकटको सामना गरिरहेका छन्। केही मानिसहरूलाई डर छ कि यो व्यवसाय अब गोप्य रूपमा सञ्चालन हुनेछ।
चान-वूले २३ वर्षको उमेरमा यो काम सुरु गर्दा कुकुरको मासुको बारेमा धारणा त्यति नकारात्मक नभएको सम्झन्छन्।
उनले प्रतिबन्धको घोषणा अपेक्षा गरिएको भन्दा पहिले नै भएको बताए। 'अहिले जीवन अनिश्चित छ,' चान-वू भन्छन्, 'हामीलाई आशा छ कि कुकुरहरूलाई हटाउने समयसीमा बढाइनेछ।'
धेरै अन्य मानिसहरू पनि यही कुराको आशा गरिरहेका छन्। एजेन्सी
प्रकाशित: १३ असार २०८२ ११:५१ शुक्रबार





