१० माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

शङ्कर: ध्वनि-प्रतिध्वनिमा जीवित विम्ब

सन्दर्भ: शङ्कर लामिछानेको पचासौं पुण्यस्मृति

कवि शङ्कर लामिछानेको एउटा कविता ‘नजन्मेको छोरालाई’ पढेपछि मैले कविता रेकर्ड गर्ने तयारी गरेँ। उनलाई कविका रूपमा मैले धेरै पछि चिनेँ। र, यो कवितासितको मेरो सान्निध्य ‘शङ्कर लामिछाने निबन्ध कोश’ स्थापना गरेकै समयदेखि सुरु भएको हो। यो कविता मैले म्युजिक नेपालबाट प्रकाशित नेपाली कविताको सिडी ‘अञ्जली’मा संगृहीत छ। यस्तै शीर्षकमा पछि पारिजातको कथा पनि प्रकाशित छ।

पारिजात, भूपी शेरचन र शङ्कर लामिछानेको समयमा भीमदर्शन रोका शक्तिशाली कवि थिए र उनी भूपीका पनि गाइड–कवि बने। शङ्कर गीतकार पनि थिए, रेडियो नेपालका प्रथम गीतकार। उनको गीत नातिकाजीको सङ्गीत–रचनामा हरिप्रसाद रिमाल, समरबहादुर मल्ल, केदार ठाकुर र साथीहरूले समेतको स्वरमा गाए। रिमालसित गरिएको विषयपरक र विनयपरक कुराकानीमा मैले धेरै पटक यो गीतको चर्चा गरेको छु। गीतको पूरै पाण्डलिपि उहाँसित सुरक्षित थियो। उहाँ बितेपछि यो गीतको चर्चा मैले कतै सुनिनँ।

‘मेरो मुटु तिम्रो आँखाबाट आँसु भएर बहनेछ’ 

रेडियो नेपालबाट पहिलो लाइभ गाइएको यस गीतका गीतकार शङ्कर लाछिाने र गायक हरिप्रसाद रिमाल नाताले मामाचेला फुपूचेला थिए। शङ्करको निकटता अझै बढी कवि गोपालप्रसाद रिमालसित थियो। कवि रिमालसितको सङ्गतले नै शङ्करले एकपटक गौरी–शङ्कर नाट्य समुदायमा गएर ‘म उनी गएपछि’ भन्ने नाटकमा अभिनय गर्न गएका थिए।

अभिनयमा उनको रुचिले पछि उनलाई सिनेमासित पनि जोड्यो, डिमात्रीको अंग्रेजी फिल्म ‘द माउन्टेन इज यङ’मा लियाजन अफिसर भएर उनी एक्काइस सालको पोखरा पुगे, डकोटा चढेर। पोखरामा छायाङ्कन हुने भनिएको ‘द माउन्टेन इज यङ’ क्यानेडियन–चाइनिज लेखिका ह्वेन साङको नेपाल अनुभव गाथा थियो। यो उपन्यास साङले विशालनगरको वसन्त शमशेरको दरबारमा बसेर लेखेकी थिइन् भनेर उनकी छोरी नीरा राणा रोय बेला बेला सुनाउँछिन्। ह्वेन साङको यो कृतिमा फिल्म नबने पनि शङ्करले ‘स्टार्ट साउन्ड, एक्सन’ भन्न यहींबाट सिके, जुन उनले ‘विम्ब प्रतिविम्ब’मा लेखेका पनि छन्।

कालान्तरमा शङ्करलाई यही सिनेमाले गर्दा काठमाडौंको दोस्रो सिनेमा हल ‘जनसेवा’को म्यानेजर पनि बनायो। आफ्ना घनिष्ट मित्र दयारामभक्त माथेमा र उनका भान्जाभाइ भुवनेश्वर अमात्यसित उनले जनसेवा हलमा आगो नलागुन्जेल काम गरे। यो हलको अग्निकाण्डपछि शङ्कर भुवनेश्वर अमात्यको क्युरिओ सपमा आबद्ध भए।

अमात्यका छोरा गायक योगेश्वर अमात्य बेला बेला यो घटना वा कथा सम्झिरहन्छन्। संयोगले योेगेश्वर भीमदर्शन रोकासित इंग्लिस ट्युसन पढ्थे भने शङ्करका छोरा दीप लामिछाने र छोरी शिखासित उनको मित्रवत् निकटता कायमै रह्यो।

अभिनय, कविता, गीत हुँदै शङ्करले उपन्यास लेखनमा पनि पाइला चाले, अक्षराम्भ। उनको उपन्यासको नामकरण भइसकेको थियो तर एक परिचित मित्रले धोका दिएको कारण त्यो उपन्यास छापिएन।

कथा र निबन्धमा त शङ्करको तुलना र चर्चा सधैं भइरहन्छ। बजारमा किताब नभएपछि र पाठकले नपाएपछि उनको किताब तिस वर्षपछि सम्पूर्ण अधिकारका साथ छाप्ने काम ‘भावक अभियान नेपाल’ले गरेको थियो। भावक अभियान नेपालले ‘एब्स्ट्य्राक्ट चिन्तन प्याज’, ‘गोधूली संसार’ र ‘गौंथली गुँड’ प्रकाशन गरेर सार्वजनिकीकरण गरेको घटना नेपाली साहित्यमा एक इतिहास बन्यो। यसलाई पछिसम्म नेपाली समाजले सम्झिरह्यो, सम्झिरहनेछ। ‘भावक अभियान नेपाल’ले पछि शङ्करकै ‘विम्ब–प्रतिविम्ब’ पनि प्रकाशन गर्‍यो। साहित्यकार लैनसिंह वाङ्देलले यसलाई ‘स्पाइनी बाइबलर’मा विमोचन गरेका थिए, २०५८ सालमा।

‘विम्ब–प्रतिविम्ब’मा उनले महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम, बालचन्द्र शर्मा, अम्बर गुरुङ, भूपी शेरचन, पारिजात, हृदयचन्द्रसिंह प्रधान, भीमदर्शन रोका, तुलसीनाथ ढुङ्गेल र शंकर लामिछानेबारे नै लेखेका थिए, व्यक्तिविम्ब। पछि ‘भावक अभियान नेपाल’ले छापेको किताब बजारमा आउँदा अगमसिंह गिरी र रमोलादेवी शाह छिन्नलताको पोट्रेट थपियो।

समय र सन्दर्भ कस्तो फरक भयो भने यी किताब छापिएपछि वा छापिएर बिक्री हुन थालेपछि शङ्कर लामिछानेका किताब छाप्न नचाहने साझा प्रकाशनदेखि अन्य सबै प्रकाशन उनका पुस्तक प्रकाशन गर्न शङ्कर लामिछाने निबन्ध कोश धाउन थाले।

साझाका तत्कालीन जिएमदेखि साझाका सञ्चालक समितिका सदस्यहरूले समेत सबैतिरबाट तागत लगाउन थाले। यसरी उनका किताब सबै व्यापारमुखी संघसंस्थाले छाप्न थाले। यसै क्रममा उनको संस्मरणमा लेखिएको ‘शंकर स्मृति’ पनि नयाँ खण्ड छापिएर आयो।

शङ्कर यति लामो वर्ष हराउनुका पछाडि कसको कस्तो भूमिका थियो? परिवार नै किन यसका पछाडि मौन रहे? शङ्करकी कान्छी पत्नी सुवर्ण श्रेष्ठ र उनका दुई छोरा प्रकाश लामिछाने र प्रवास लामिछाने दृश्यमा कता हराए?

शङ्करका किताब छापिएपछि ती सबै प्रकटमा आए। त्यसपछि शङ्कर लामिछाने निबन्ध कोशमा अध्यक्षका रूपमा अम्बर गुरुङ, उपाध्यक्षका रूपमा उनकी रत्ना लामिछाने र प्रकाश सायमीसहित नगेन्द्र शर्मा, सविता ढुङ्गाना, मिङ्मा शेर्पा आदि बसे।

केही समयपछि यो कोश (नगेन्द्र शर्माआबद्ध सहकारीमा राखेको रकम लुप्त भएपछि) बन्द भयो। यसरी एसएलएनटी अर्थात् शंकर लामिछाने निबन्ध ट्रस्ट थन्कियो।

शंकर लामिछानेको लेखनमा अङ्ग्रेजी र हिन्दी साहित्यको प्रभाव धेरै थियो। कारण उनका धेरै साथी भारतीय मूलकै थिए। उनले केही समय नेपाल–भारत पुस्तकालयमा लाइब्रेरियन भएर काम गरे। यसले पनि उनलाई हिन्दी भाषा पढ्न र लेख्न सहज बनायो। त्यसमाथि काठमाडौंस्थित भारतीय राजदूतावासमा सांस्कृतिक सहचारी भएर आएका कवि शिवमङ्गल सिंह सुमनसितको सम्बन्ध र स्नेहले उनी झन् अन्य भारतीय कविहरूसित आकर्षित भए।

कवि शिवमङ्गलसिंह सुमन

  

कवि सुमन उनका अफिसियल फ्रेन्ड मात्र रहेनन्, फ्यामिली फ्रेन्ड नै बने। शङ्करका कैयन् कविता शिवमङ्गल सिंह सुमनले नेपालीबाट हिन्दीमा अनुवाद गर्ने, छाप्ने कामसमेत गरेका थिए भन्ने बुझिन्छ।

शङ्करलाई लेख्न प्रेरित गर्ने सुमनले नै शङ्करलाई बच्चनसित चिनाए, बच्चन जो त्यतिबेला हिन्दी साहित्यमा ‘मधुशाला’ र ‘निशा निमन्त्रण’का कारण खुब चर्चामा थिए।

शङ्करले सुमनसित अर्को कुरा पनि सिके, बिहानको पूजा पाठ। सुमन बिहान दुई घण्टा पुजा गर्थे। उनी पूजा घण्टी बजाएर, धुप बालेर होइन, छेउमा चिया वा कफी राखेर पुस्तक पढ्थे। यसलाई उनी बिहानको पूजा भन्थे।

सुमनको यो अटुट चल्ने पूजा शङ्करले पनि देखेका थिए। शङ्करले यसबारे एउटा निबन्ध नै लेखेका छन्।

अघि नै भनियो, शंकर निबन्ध र कथाका निम्ति चर्चित थिए। निबन्ध कृतिमा त उनले मदन पुरस्कार नै पाए, २०२४ सालमा। निबन्ध कृतिमा मदन पुरस्कार दिइएको यो धेरै अघि धेरैपछिको एउटा यादगार घटना नै ठहरियो।

शङ्करले निबन्ध कृतिबाहेक पारिजातको उपन्यास ‘शिरीषको फूल’ र पिटर जे कार्थकको उपन्यास ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’मा लेखेको भूमिका सदैव चर्चामा रह्यो। पिटरको किताबमा लेखेको भूमिका नै उनको अन्तिम लेखनी थियो। यसपछि उनले आफ्नो डायरीमा लेखेको अभूमिका उनकी कान्छी पत्नी सुर्वणसित सुरक्षित थियो र पछि ‘एब्स्ट्य्राक्ट चिन्तन प्याज’मा थपियो।

१९८४ चैत्र ५ मा काठमाडौंमा जन्मेका शङ्कर लामिछानेको २०३२ माघ १० मा वीर अस्पतालमा निधन भयो। निधनपछि उनको साहित्यिक योगदानलाई सबैभन्दा बढी चर्चामा ल्याउने तीन व्यक्तिमा कमल दीक्षित, पिटर जे कार्थक र अम्बर गुरुङ नै हुन्। ती सबैप्रति यो लेख समर्पित छ। तिनै स्रष्टाहरूका कारण शङ्कर लामिछाने पुनर्जीवित भए।  

प्रकाशित: १० माघ २०८२ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App