सातदोबाटो युथ क्लब र श्री भगवती क्लबले जारी राष्ट्रिय लिगमा तेस्रो खेलबाट पहिलो जित निकालेका छन्।
शुक्रबार शीर्ष डिभिजन क्लब सातदोबाटो युथले मनाङ मर् स्याङ्दीमाथि १–० को जित निकाल्दा श्री भगवतीले नव जनजागृति युवा क्लबलाई ५–१ को फराकिलो गोलअन्तरले हराएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोले घरेलु शीर्ष डिभिजन लिगको सबैभन्दा सफल क्लब मनाङलाई स्तब्ध बनाउँदै अंक बटुल्यो। सातदोबाटोको जितमा फरवार्ड फोडे फोफानाको गोल निर्णायक साबित भयो। मनाङ सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सर्वाधिक आठपल्टको विजेता क्लब हो तर मनाङले जारी लिगमा आफ्नो छाप छाड्न सकेको छैन। उल्टै लगातार तेस्रो हारपछि मनाङमाथि दबाब बढेको छ। मनाङमा अधिकांश युवा खेलाडी छन्।
विदेशी खेलाडीले पनि प्रभाव जमाउन सकेका छैनन्। त्यसैले पनि मनाङमाथि दबाब बढ्दै गएको छ। पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। दोस्रो हाफमा गोल निस्कियो। फोफानाले ६१औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए। जगजित श्रेष्ठको पासमा फोफानाको हेडर बल जाली चुमेको हो। यो गोलपछि सातदोबाटोले थप अवसर बुने पनि सफलता पाउन सकेन तर त्यो गोलले नै मनाङलाई तेस्रो हार बेहोर्न बाध्य बनायो। यो जितसँगै सातदोबाटोले तीन खेलबाट चार अंक बटुलेको छ। मनाङ तीन खेलबाट अंकविहीन हुँदै लिगको अंकतालिकामा पुछार छ।
पहिलो खेलमा सातदोबाटो युथले संकटा क्लबसँग गोलरहित बराबरीको नतिजा सामना गरेको थियो। सातदोबाटो दोस्रो खेलमा भने न्युरोड टिम (एनआरटी) सँग ३–१ ले पराजित हुन पुग्यो। एनआरटीविरुद्ध पनि फोफानाले जगजितकै पासमा गोल गरेका थिए। तेस्रो खेलमा पनि एक मात्र गोलमा यी दुईको नै भूमिका रह्यो। मनाङले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ५–० को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा पनि मनाङले मच्छिन्द्र क्लबलाई २–१ ले नतिजा सुम्पियो। पहिलो खेलमा श्री भगवतीले मोफसलको टोली नव जनजागृति क्लबमाथि पूर्ण हाबी भयो। श्री भगवती ‘बी’ डिभिजन लिगबाट बढुवा भएको हो।
एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलेको नव जनजागृतिले सुखद प्रदर्शन गर्न सकेको छैन। नव जनजागृतिको पनि तेस्रो हार हो। सादोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा श्री भगवतीको फराकिलो जितमा शिशिर लेखीले दुई तथा अजयी मार्टिन्स, सुवास बम र सीमान्त थापाले समान एक गोल गरे।
भगवतीको तेस्रो खेलबाट पहिलो जित हो। तीन खेलबाट भगवतीको ४ अंक छ। तीन खेलमा जितविहीन नव जनजागृति पुछारमा छ। खेलको सुरुदेखि नै जनजागृतिले दबाब सामना गर्यो। खेलको दोस्रो मिनेटमै मार्टिन्सले गोल गर्दै भगवतीलाई अग्रता दिलाए। पेनाल्टी बक्सबाहिरबाट उनको प्रहार गोलमा परिणत भएको हो। जनजागृतिले पनि २२औं मिनेटमा अवसर बुन्यो।
तर अमित बाछरले पेनाल्टी बक्स नजिकबाट गरेको प्रहार श्री भगवतीका गोलकिपर विश्वास चौधरीले उत्कृष्ट बचाउ गरे। ३८औं मिनेटमा शिशिरले पेनाल्टी मार्फत गोल गर्दै भगवतीको अग्रता दोब्बर बनाए। ४२औं मिनेटमा फरवार्ड सुवासले आकर्षक गोल गरेपछि भगवती ३–० ले अगाडि बढ्यो। यससँगै पहिलो हाफमा श्री भगवती ३–० ले अगाडि रह्यो। दोस्रो हाफमा श्री भगवतीले दुई गोल थप्दा जनजागृतिले एक गोल मात्र गर्न सक्यो। ५४औं भगवतीका मिनेटमा सीमान्तको सानदार गोलपछि श्री भगवती सहज जिततर्फ अग्रसर भयो। भगवतीले ५७औं मिनेटमा अर्को गोल गर्ने अवसर गुमायो।
सुवासले दिएको पासमा मार्टिन्सले गरेको प्रहारले लक्ष्य रहन सकेन। एक मिनेटमा शिशिरले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै भगवतीले ५–० को अग्रता बनायो। ७७औं मिनेटमा विक्रम थोकरले गोल गर्दै खेलमा फर्कन प्रयास गरे तर जनजागृतिले त्यसपछि थप गोल गर्न सकेन र तेस्रो हार सामना गर्न बाध्य भयो। दिनको तेस्रो खेल अहिले दशरथ रंगशालामा नै भइरहेको छ। शीर्ष स्थानको लालीगुँरास एसोसिएसनले आफ्नो तेस्रो खेलमा नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेको छ।
प्रकाशित: १० माघ २०८२ ०७:३० शनिबार




-600x400.jpg)
