३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
विचार

दल होइन, सबल व्यक्ति छानौं

हालसालै म एकजना अत्यन्तै नजिकको मित्रलाई बिदाइ गर्न एअरपोर्ट पुगेको थिएँ। एअरपोर्टको चिसो भुइँ, भिडको हल्ला र उडान घोषणाबिच त्यहाँ देखिएको एउटा दृश्यले मेरो मुटु नै चुडेर लग्यो। आँखा अगाडि देखिएको त्यो क्षणले मन छियाछिया बनायो। एकजना पुरुष विदेश उड्नुअघि आफ्नो देशमा अन्तिम पलहरू बिताइरहेका थिए। उनकी सानी छोरी, जसले अझै संसारको क्रूरता बुझ्न सकेकी थिइनन्, बाबुको काख समातेर आँखाभरि आँसु बोकेर रोइरहेकी थिइन्। त्यो रुवाइमा प्रश्न थियो, असमझदारी थियो र एक्लोपनको डर थियो। उनकी श्रीमती, आँसु नदेखियोस् भनेर ओठ च्यापेर, मन कठोर बनाउने प्रयास गरिरहेकी थिइन् तर उनका कम्पनले सबै कुरा बोलिरहेका थिए। उनले दुवैलाई अँगालो हालेर सान्त्वना दिइरहेका थिए तर त्यो अँगालो आफैं कमजोर बन्दै गइरहेको थियो । उनका आफ्नै आँखामा जमिएका आँसुका ढिक्का लुकाउने कुनै उपाय थिएन।

थोरै पर उभिएका आमा र बुबा आँसु थाम्न असफल भइरहेका थिए। ती वृद्ध आमा–बुबाको मौनतामा शब्दभन्दा गहिरो वेदना थियो। जाने समय आयो। अन्तिमपटक फर्केर उनले भनेको एउटा वाक्य आज पनि मेरो कानमा मात्रै होइन, मनभित्र गुन्जिरहन्छ - ‘अबको निर्वाचनमा राम्रो मान्छेलाई भोट दिनु, ताकि मेरी छोरी पनि भोलि मजस्तै आफ्नो देश छोड्न बाध्य नहोस्।’

यति मात्रै भनेर भारी मन र च्यातिएको हृदय बोकेर उनी आफ्नै सपना र परिवारलाई यहीं छोडी आफ्नो गन्तव्यतर्फ लागे।

उनी एक्ला होइनन्। उनीजस्तै हरेक दिन सयौं नेपाली युवा बिदेसिन बाध्य छन्। यो दृश्य देख्दा मन खिन्न हुनु स्वाभाविक हो। आखिर किन हाम्रा युवाहरू आफ्नै देशमा अवसर नपाएर विदेश जानुपरेको छ? यो प्रश्न आज हरेक घर, हरेक आँगनमा घुमिरहेको छ। आउँदो निर्वाचनले केही आशा दिएको छ तर त्यहीसँगै कतै फेरि गलत निर्णय नहोस् भनेर डर पनि छ।

आउँदो निर्वाचन नेपालका लागि ठुलो अवसर हो। यो केवल सत्ता परिवर्तनको विषय होइन, यो देशको दिशा तय गर्ने घडी हो। हामीले सही नेतृत्व छान्न सकेमा देश विकासको बाटोमा अघि बढ्न सक्छ। अब पार्टीको नाममा होइन, व्यक्ति र उसको क्षमता हेरेर मत दिने समय आएको छ। यहाँ नयाँ र पुरानाको बहसभन्दा पनि राम्रो र नराम्रो छुट्याउनु धेरै जरुरी छ। यो निर्वाचनलाई नेपालको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्छ। यो मौका गुमायौं भने फेरि यस्तै अवसर सजिलै आउँदैन।

हाम्रो मतले नेपाललाई राम्रो दिशातर्फ डोर्‍याउन सक्छ। यो बेला पार्टीको झन्डा होइन, देशको हित हेर्नुपर्छ। ‘समय बलवान् हुन्छ’ भनेझैं यो समयलाई सदुपयोग नगरे पछुतो मात्र बाँकी रहन्छ। सही उम्मेदवार छानेर हामीले यस्तो नेपाल बनाउन सक्छौं, जहाँ हाम्रा सन्तानले रोजगारीका लागि विदेशको बाटो समात्न नपरोस्।

नेपालमा निर्वाचन हुँदा प्रायः एउटै कथा दोहोरिन्छ। धेरैले पार्टीको नाममा मत दिन्छन्, उम्मेदवारको योग्यता हेर्दैनन्। कुनै उम्मेदवार विगत भ्रष्टाचारमा जोडिएको भए पनि पार्टीकै कार्यकर्ताले उसैलाई मत दिन्छन्। यहाँ नागरिकभन्दा कार्यकर्ता धेरै छन्, जो पार्टी र नेताप्रति भक्त भएर समर्थन गर्छन् तर अब परिवर्तनको खाँचो छ।

नेपालमा विद्यमान धेरै समस्या राजतन्त्रपछिको युगसँग जोडिएका छन्। सन् २०६३ सालको शान्ति सम्झौताले दशकौं लामो गृहयुद्धको अन्त्य त गर्‍यो तर जनताले अपेक्षा गरेअनुसारको विकास र समृद्धि देशले पाउन सकेन। नेताहरूले गरेका प्रतिबद्धताअनुसार देशले कोल्टे फेर्न सकेन। व्यवस्था फेरियो तर जनताको जीवनस्तर उस्तै रह्यो। परिवर्तन सीमित व्यक्ति, तिनका नातागोता र आसेपासेमै सीमित भयो। न कांग्रेस, एमाले र माओवादी केन्द्रको वर्चस्व भएका दलले योग्यता र जवाफदेहितालाई पन्छाउँदै मनपरी गर्न थाले। भ्रष्टाचारका काण्ड दिनानुदिन बढ्दै गए। यसैबिच १५–२४ वर्ष उमेर समूहको बेरोजगारी २०.८ प्रतिशत पुगेको छ, जसका कारण झन्डै एकतिहाइ घरपरिवार रेमिट्यान्समा निर्भर छन्। सामाजिक सञ्जालमा देखिएको युवा आन्दोलनले देशमा व्याप्त असमानता, भ्रष्टाचार र बेथितिलाई अझ स्पष्ट रूपमा उजागर गरिदिएको छ।

अर्को गम्भीर समस्या पैसाको खेल हो। निर्वाचनमा उम्मेदवारले मतदातालाई पैसा बाँड्ने, खाना खुवाउने जस्ता काम गर्छन्। यसले मत किन्ने प्रयास हुन्छ। केहीलाई यो लोभलाग्दो लाग्न सक्छ तर दीर्घकालमा यसको मूल्य देशले चुकाउनुपर्छ। भ्रष्टाचार बढ्छ, विकास रोकिन्छ। महात्मा गान्धीले भनेझैं संसारमा अभाव होइन, लोभ नै समस्याको जड हो। हाम्रो निर्वाचन प्रणाली पनि यही लोभबाट ग्रसित छ।

सरकारहरू बारम्बार फेरिन्छन्, योजना अधुरा रहन्छन्। यसले विदेशी लगानीकर्तालाई निरुत्साहित गर्छ र अर्थतन्त्र कमजोर बन्छ। पर्यटन र जलविद्युत्जस्ता क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि सक्षम नेतृत्वको अभावले त्यसको उपयोग हुन सकेको छैन।

हामी सधैं पुरानै गल्ती दोहोर्‍याउँछौं। पार्टी आस्था वा जातीय आधारमा मत दिन्छौं, जसले योग्य उम्मेदवार पछाडि पर्छ। अब उम्मेदवारको विगत हेर्ने बानी बसाल्नुपर्छ। उसले के काम गर्‍यो? समाज र विकासमा के योगदान दियो? यी प्रश्न सोध्नैपर्छ। पार्टी होइन, व्यक्ति हेर्नुहोस्।

कसैले पैसा दिएर मत किन्न खोज्छ भने पैसा लिनुहोस् तर मत देशका लागि दिनुहोस्। निर्वाचनलाई परिवर्तनको अवसर बनाउनुहोस्। मतदान गर्दा सम्झनुहोस् -यो अवसर बारम्बार आउँदैन। देशलाई प्राथमिकतामा राखौं, पार्टीको झन्डामा नफसौं। साथीभाइ र परिवारलाई पनि सही उम्मेदवार छान्न प्रेरित गरौं।

यो नेपाललाई समृद्ध बनाउने अवसर हो। यदि यसलाई गुमायौं भने पछुतो गर्नबाहेक केही गर्न सकिन्न। नेपालको उज्यालो भविष्य हाम्रो आफ्नै हातमा छ। अब पनि देशका निम्ति नसोचे कहिले सोच्ने? आफ्ना लागि नभए पनि आफ्ना छोराछोरी र सन्तानका लागि सोचौं र राम्रा मान्छेलाई भोट दिऊँ। आखिर हामी सबै नेपाल हाँसेको हेर्न चाहन्छौं।  

प्रकाशित: २७ माघ २०८२ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %