एपस्टीन फाइल्ससम्बन्धी विवादका कारण बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरको पद संकटमा परेको छ। लेबर पार्टीभित्रैबाट उनको राजीनामा माग भइरहेको छ। तर स्टार्मरले राजीनामा नदिने स्पष्ट अडान लिएका छन्। यसैबीच, नयाँ प्रधानमन्त्रीको दौडमा गृहमन्त्री शबाना महमूद, स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ र पूर्व उपप्रधानमन्त्री एन्जेला रेनरको नाम अगाडि आएको छ।
शबाना महमूद पाकिस्तान प्रशासित कश्मीरको मीरपुर मूलकी हुन्। सन् २०२५ मा गृहमन्त्री बनेकी उनी पहिलो मुस्लिम महिला हुन्। यदि उनी प्रधानमन्त्री बनिन् भने, बेलायतकी पहिलो मुस्लिम प्रधानमन्त्री बन्नेछिन्।
बेलायतमा एपस्टीन फाइल्ससँग जोडिएको विवाद यति चर्कियो कि प्रधानमन्त्री स्टार्मरका सबैभन्दा विश्वासिला सहयोगी तथा डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीले राजीनामा दिनुप¥यो।
म्याकस्वीनीमाथि यौन अपराधी जेफ्री एपस्टीनलाई समर्थन गर्ने पीटर मन्डेलसनलाई अमेरिकामा बेलायतको राजदूत बनाएर पठाएको आरोप लागेको छ। म्याकस्वीनीले यो नियुक्ति गलत भएको स्वीकार गरेका छन्।
म्याकस्वीनीले मन्डेलसनले जेल गएकोपछि पनि जेफ्री एपस्टीनलाई समर्थन गरेको कुरा आफूलाई थाहा भएको स्वीकार गरे। मन्डेलसनमाथि बेलायतका व्यवसाय सचिव रहेका बेला एपस्टीनलाई बजारसम्बन्धी संवेदनशील जानकारी दिएको आरोप पनि लागेको छ।
म्याकस्वीनीका अनुसार यस निर्णयले पार्टी, देश र राजनीतिप्रति जनताको विश्वास कमजोर बनाएको छ। उता विपक्षी दलहरूले प्रधानमन्त्री स्टार्मरले यस प्रकरणको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन्। एजेन्सी
प्रकाशित: २७ माघ २०८२ ०८:५५ मंगलबार





