न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले भारतसँग हुने आइसिसी टी ट्वान्टी विश्वकपको फाइनलमा केही मनहरू तोड्न पनि तयार रहेको बताएका छन्।
सान्टनरको टोली न्युजिल्यान्डले आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतसँग फाइनल खेल्नेछ, जहाँ एक लाखभन्दा बढी घरेलु समर्थक उपस्थित हुने अपेक्षा गरिएको छ तर सान्टनरले डिफेन्डिङ च्याम्पियन तथा आयोजक भारतको समर्थकको मन तोड्ने आशा व्यक्त गरेका छन्।
न्युजिल्यान्ड सन् २०२१ मा फाइनलमा पुगे पनि त्यतिबेला अष्ट्रेलियासँग पराजित भएको थियो। अहिलेसम्म न्युजिल्यान्डले सेतो बल विश्वकप जित्न सकेको छैन। ‘मलाई ट्रफी जित्न मन नपर्ने त होइन,’सान्टनरले भने,‘किनकि लक्ष्य चुनौतीपूर्ण छ। सबैलाई थाहा छ हामी सम्भवत् फेभरेट होइनौं।’
यद्यपि, न्युजिल्यान्डका कप्तान सान्टनरले आफ्नो टोली घरेलु समर्थकको मन तोड्न तयार रहेको बताएका छन्। ‘ट्रफी जित्नका लागि एकपटक केही मनहरू तोड्न चाहन्छौं,’उनले भनेका छन्।
यस विश्वकपमा न्युजिल्यान्डको प्रदर्शन उतारचढावपूर्ण नै रह्यो। फिन एलनले सेमिफाइनलमा सबैभन्दा छिटो शतक प्रहार गरेपछि न्युजिल्यान्ड फाइनलमा पुगेको हो। यस क्रममा उसले त्यसअघिसम्म अपराजित दक्षिण अफ्रिकालाई ९ विकेटले नै पराजित गर्यो तर यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिका र इङ्ल्यान्डसँग पराजित टोली हो, न्युजिल्यान्ड। अब यो टोलीले लगातार तीन जितसहित उत्कृष्ट लयमा रहेको भारतको सामना गर्नेछन्।
भारत भने यस फरम्याटमा तेस्रो पल्ट उपाधि उचाल्न चाहन्छ। सन् २०२३ मा प्याट कमिन्सको कप्तानीमा अस्ट्रेलियाले एकदिवसीय विश्वकपको फाइनलमा अहमदाबादमा घरेलु दर्शकलाई निराश बनाएको थियो। ‘हाम्रो लक्ष्य पनि भीडलाई शान्त बनाउने नै हो,’सान्टनरले भने,‘टी ट्वान्टी क्रिकेट कहिलेकाहिँ अनिश्चित हुन्छ। दक्षिण अफ्रिकाले यस विश्वकपभर राम्रो खेल्यो। तर, हामीविरुद्ध सानो गल्ती भयो र बाहिरियो। त्यहीबाट आत्मविश्वास लिन्छौं।’
उनले त्यही तरिकाले फाइनल खेले अर्को ठूलो टोलीलाई पनि चकित पार्न सक्ने आशा व्यक्त गरेका छन्।
विश्व वरीयतामा शीर्ष स्थानमा रहेको भारत लगातार दोस्रो टी ट्वान्टी विश्वकप जित्ने पहिलो टोली बन्ने प्रयासमा छ। साथै घरेलु भूमिमा यो ट्रफी उचाल्ने पहिलो टोली बन्ने लक्ष्य पनि भारतको छ। यदि भारतले जितेमा यो उसको तेस्रो टी ट्वान्टी विश्वकप उपाधि हुनेछ तर त्यसका लागि उसले खचाखच भरिएको मैदानका दर्शक सामना गर्नुपर्नेछ।
सान्टनरले अपेक्षाको भारीले भारतमाथि दबाब पनि सिर्जना गर्नसक्ने औंल्याएका छन्। ‘यस्तो अवस्थामा धेरै अतिरिक्त दबाब पनि हुन्छ,’उनले भने,‘यदि हामी मैदानमा गएर त्यो दबाब उनीहरूमाथि थप्न सक्छौं भने फाइनल रोचक हुनेछ।’
प्रकाशित: २४ फाल्गुन २०८२ ०९:४४ आइतबार





