१६ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

जेन-जीलाई आध्यात्मिक सन्देश

चिन्तन

एकजना धनी मानिस थिए। उनको एउटा सन्तान थियो। उनी जहिले पनि सोच्थे कि म नभए मेरो छोराको अवस्था के हुन्छ? यो सोचले उनी जहिले पनि दुःखी हुन्थे। उनको छोरा जब ७–८ वर्षको भयो, एक दिन छोरालाई राजनीति सिकाउनका लागि  छानामाथि चढाए र भने– छोरा, हाम फाल, म समात्छु।

छोराले भन्यो– होइन, गल्तीले छुट्यो भने खुट्टा भाँचिन्छ। बुबाले भने– यस्तो सोच्नु हुन्न। भरोसा गर्नु अनि हाम फाल्नु। छोराले डराउँदै आँखा बन्द गरेर हाम फाल्यो तर बुबाले छोरालाई समातेनन्। छोरा तल खस्यो, उसको खुट्टा भाँचियो। छोराले रुँदै भन्यो– बुबा, किन यस्तो गर्नुभयो?

बुबाले हाँस्दै भने– दुःख नमान्नु छोरा। म तिमीलाई राजनीतिको पाठ सिकाइरहेको थिएँ। अबदेखि यो कुरा ख्याल राख्नु कि राजनीतिमा बुबा पनि छोराको हुँदैन। अर्थात् कोही कसैको हुँदैन। यस कारण सबैमाथि भरोसा गर्नु हुँदैन। धेरै सोचविचार गरेर फैसला लिनुपर्छ।

राजनीतिमा व्यक्तिगत रूपमा कोही कसैको हुँदैन तर, देश र मातृभूमिप्रति सबैको आस्था हुनैपर्छ। व्यक्तिगत स्वार्थपूर्तिका लागि कुनै पनि बाहिरी शक्तिको सहयोग लिनु हुँदैन। कसैले आकस्मिक रूपमा सहायता गर्न थाल्यो भने सावधान हुनुपर्छ। सहयोगका पछाडिको चाहना वा अदृश्य लोभ के छ भनेर सोच्नुपर्छ। सहयोग लिएपछि मान्छे उसको वशमा पर्न थाल्छ र पछि उसको नराम्रो कुरा पनि राम्रो भन्न बाध्य हुन्छ। आपसमा जति द्वन्द्व भए पनि देश र जन्मभूमिलाई माथि राख्नुपर्छ।

संस्कृतमा एउटा श्लोक छ– जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी। अर्थात् जन्म दिने आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

इतिहासमा प्रस्ट छ, जुन बेला पनि स्वार्थपूर्तिका लागि जसले बाहिरी सहयोग लियो, त्यसको सर्वनाश भयो।

गत भदौदेखि ‘जेनजी’ शब्द चर्चामा आएको छ। आन्दोलनको दिनसम्म पनि जेनजी को हो भनेर हामीलाई थाहा थिएन। जेनजीबारे दोस्रो दिन समाचार माध्यमबाट बल्ल थाहा भयो।

सन् १९९७ देखि २०१२ बिच जन्मिएका बालबालिकालाई जेनजीमा राखिन्छ। तर मेरो विचारमा ती सबै मान्छे जेनजीको श्रेणीमा आउँछन्, जसमा जोस, जाँगर, उत्तरदायित्वबोध, इमानदारी, देशभक्ति र देश निर्माणको क्षमता छ, गलतको विरोध गर्ने साहस र सहयोगको भावना छ।

जेनजीमा हुनुपर्ने आवश्यक गुण

जसरी सरकारी नियम तोडेपछि प्रहरीले समात्छ। समातेपछि मलाई यो कुराको ज्ञान थिएन भन्न पाइँदैन।

सन्तुलनको शक्ति– हुन त सबैजना आफूलाई ज्ञानी र समझदार ठान्छन्। जुन व्यक्तिमाथि विवेकको शासन छ, त्यही व्यक्ति असली समझदार र ज्ञानी हुन्छ। फलाम जुन बेलासम्म चिसो रहन्छ, त्यही बेलासम्म बलियो रहन्छ। ठ्याक्कै त्यस्तै, जुन बेलासम्म हाम्रो भावना र विचार सन्तुलित र शान्त रहन्छ, त्यो बेलासम्म हामी समझदार र शक्तिशाली रहन्छौं। एउटा भनाइ छ– सुखमा मात्तिनुहुँदैन र दुःखमा आत्तिनुहुँदैन। जुन बेला पनि हामीलाई सन्तुलन राख्नुपर्छ।

संयमको शक्ति– संयम राख्नु राम्रो हो किनकि संयमबिना शक्ति असन्तुलित हुन्छ। तर वास्तविक प्रश्न हो, संयम कसरी राख्ने ? यसका लागि ध्यानको सहयोग लिनुपर्छ। ऊर्जावान् र सार्मथ्यवान् व्यक्तिले मानसिकता नियन्त्रण राख्नका लागि दैनिक रूपमा ध्यान गर्न आवश्यक हुन्छ। नत्र गलत र नराम्रो कार्यमा पनि शक्ति र ध्यान लागिरहन्छ।

जतिबेला पनि मनमा रिस र राग उत्पन्न हुन्छ, त्यतिबेला लामो सास लिने र छोड्ने। लामो सास लिएपछि नाइटोसम्म ऊर्जा जान्छ र हामीलाई आकस्मिक शक्ति प्राप्त हुन्छ। यो कुरा हामीलाई याद राख्नुपर्छ कि संयम नै शक्ति हो।

असली देशभक्ति– जेनजी होस् वा जो पनि नागरिक, आपूmलाई देशभक्त ठान्छन्। तर देशभक्तिले मात्र हुँदैन, असली देशभक्ति चाहिन्छ। असली देशभक्तिको मतलब देशका लागि हामीले के के त्याग गर्न सक्छौं भन्ने बोध र व्यवहार हो। मन्त्री, सचिव वा सिडिओ भए मात्रै देशको विकास गर्न सकिन्छ भन्ने हुँदैन। कुनै पनि देशका लागि हरेक मान्छे महत्त्वपूर्ण छन्। हामी जे छौं, जहाँ छौं, जस्ता छौं, हरेक परिस्थितिमा देशको विकासका लागि केही न केही अवश्य गर्न सक्छौं। तर त्यसका लागि असली देशभक्त हुनुपर्छ।

नैतिकता– मान्छेमा नैतिकताका साथै सरलता आवश्यक हुन्छ।  सरलताले अरूको मनलाई चाँडै प्रभावित पार्छ। यस्तो स्थितिमा गलत कार्य गराउने सम्भावना पनि धेरै हुन्छ। यसकारण नैतिकताका साथै अनुभवी व्यक्तिको सल्लाह पनि चाहिन्छ।

आध्यात्मिक ज्ञान – जसरी लाखौं रुपैयाँको मैनबत्ती सलाईबिना बाल्न सकिँदैन, त्यसैगरी आध्यात्मिक ज्ञानबिना जीवन प्रज्वलित  हुन सक्दैन। आध्यात्मिक ज्ञान भनेको जीवनको सत्यलाई स्वीकार गर्ने चेतना हो।

एकदिन हामी रहँदैनौं। यो सानो जिन्दगीका लागि गलत तरिकाबाट धन र प्रतिष्ठा प्राप्त गर्नुहुँदैन। परिवर्तनका सकारात्मक तरिकाले सधैं प्रयास गर्नुपर्छ। कुनै पनि स्थितिमा धन, सम्पत्ति र जिउज्यानको नोक्सान हुनु हुँदैन। गलत कार्यको परिणाम सधैं गलत नै हुन्छ।

सबै मान्छे भगवान्का सन्तान हुन्। भगवान् भनेको शुद्ध शक्ति हो। यसकारण हामीले सधैं सबैप्रति शुद्धताको भाव राखेर कार्य गर्नुपर्छ। नत्र सफलता प्राप्त हुँदैन। आत्मकल्याणबारे सबैले सोचिरहन्छ तर सबैको कल्याणमा आफ्नो वास्तविक कल्याण के हो भन्ने पनि सोच्नुपर्छ। हाम्रो आत्मविकास र मुक्तिको लागि शुभ विचार आवश्यक छ। अर्काको दुःखपीडामा आफ्नो सुख खोज्नु महामूर्खता हो।  

प्रकाशित: १० माघ २०८२ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App