पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित विषयमा गठन गरिएको छानबिन समितिले अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै उनको प्रारम्भिक बयान लिएको छ। बुधबार समितिले गुरुङलाई उपस्थित गराई सोधपुछ सुरु गरेको हो।
समितिले दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गरिएको सेयर लगानीको विषयमा गुरुङसँग जानकारी लिएको बताइएको छ। स्रोतका अनुसार सेयर खरिदसँग सम्बन्धित विभिन्न पक्षबारे प्रारम्भिक प्रश्न–उत्तर गरिएको हो।
गुरुङले सापटी रकम प्रयोग गरेर सेयर खरिद गरेको दाबी गर्दै आएका छन्। उक्त विषय सार्वजनिक भएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रारम्भिक विवरणअनुसार उनको नाममा करिब ५० लाख रुपैयाँ बराबरको सेयर रहेको देखिएको छ।
पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा वैशाख २८ गते गठन भएको समितिले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ। समितिका सदस्यहरूका अनुसार आवश्यक प्रमाण संकलनको काम जारी रहे पनि प्रतिवेदन तयारी प्रक्रिया सँगसँगै अगाडि बढिरहेको छ।
प्रकाशित: १३ जेष्ठ २०८३ १९:२८ बुधबार





