१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

फिफाको प्रस्तावमा युरोपको आपत्ति

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजनामा एक पटकका लागि २० मिलियन डलरको प्रस्ताव स्वीकार गर्न आग्रह गरेका छन्।

फिफा अध्यक्ष इन्फान्टिनोले आफ्ना दुई सय ११ सदस्य राष्ट्रका फुटबल संघहरूलाई सेप्टेम्बर १९ सम्मको समयसीमा दिँदै उक्त प्रस्ताव गरेका हुन्। जारेड कुसनरका भाइ जोसुआ कुसनरले २० बिलियन डलर मूल्यको फिफा सहायक कम्पनीको योजनामा अन्तर्राष्ट्रिय फुटबल संघहरूले कडा आलोचना गरेका छन्।

युरोपेली फुटबल महासंघ (युईएफए) ले आफ्ना ५५ सदस्य संघहरूको आपत्कालीन अनलाइन बैठक बोलाउने तयारी गरिरहेको छ, जुन सम्भवतः बिहीबार हुनेछ। इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट व्यक्तिहरूसँग सम्बन्ध अझ बलियो बनाउने पछिल्लो प्रयासका रूपमा उक्त प्रस्तावलाई हेरिएको छ। यसअघि पनि उनले फिफा पिस प्राइज स्थापना गरेका थिए। विश्वकप ‘ड्र’ का क्रममा डिसेम्बरमा ट्रम्प नै पहिलो सम्मानित व्यक्ति थिए।

अमेरिकाका फरवार्ड फोलारिन बालोगुनलाई विश्वकपको एउटा खेल प्रतिबन्ध हटाएको निर्णयपछि नै इन्फान्टिनोमाथि धेरै आलोचना भएको थियो। अहिले जोसुआ कुसनरको कम्पनीसँग १२ वर्षे स्वामित्व सम्झौता गर्ने प्रयास पनि यसैको निरन्तरता मानिएको छ। इन्फान्टिनोले सदस्य संघहरूलाई पठाएको पत्रमा २० अर्ब अमेरिकी डलर मूल्यको ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) सहायक कम्पनी स्थापना गर्ने आफ्नो योजनालाई ‘अद्वितीय र ऐतिहासिक लगानी अवसर’ भनेका छन्।

उक्त कम्पनीमा २० प्रतिशत हिस्सा निजी लगानीकर्ताको हुनेछ। यसले फिफा विश्वकप र क्लब विश्वकपजस्ता फिफाका प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्नेछ। ‘फिफा अध्यक्षका रूपमा केही परिवर्तन गर्ने अवसरहरू हाम्रा सदस्यहरूको सामु प्रस्तुत गर्नु मेरो कर्तव्य र जिम्मेवारी हो,’ पत्रमा इन्फान्टिनोले लेखेका छन्।

जोसुआ कुसनरको लगानी कम्पनी थ्राइभ क्यापिटलले पनि मंगलबार सार्वजनिक प्रस्तावलाई समर्थन गरेको छ। इन्फान्टिनोका पूर्वसहकर्मी रहेको युइएफएले उक्त प्रस्तावबारे कडा विरोध गरिसकेको छ। ‘विश्वकप फिफाले बेच्न मिल्ने सम्पत्ति होइन,’ युइएफएले भनेको छ।

युरोपेली फुटबलसँग उपलब्ध विकल्पमध्ये एक फिफाका प्रतियोगिताको बहिष्कार गर्ने चेतावनी पनि हुन सक्छ।

सन् २०२१ मा युइएफएको नेतृत्वमा भएको विरोधले विश्वकप प्रत्येक चार वर्षको सट्टा दुई वर्षमा आयोजना गर्ने इन्फान्टिनोको योजना रोकिएको थियो। फिफाको निजी इक्विटी योजना इन्फान्टिनोको ११ वर्षे कार्यकालमा आएको पछिल्लो महत्त्वाकांक्षी प्रस्ताव हो। उनी सरोकारवालासँग पर्याप्त परामर्श नगरी निर्णय गर्ने कार्यकारी प्रमुखका रूपमा देखिँदै आएका छन्।  

यसअघि उनले फिफा पिस प्राइज स्थापना गर्ने, सन् २०१८ मा २५ अर्ब अमेरिकी डलरको गोप्य निजी इक्विटी योजनामार्फत नयाँ र ठूलो पुरुष प्रतियोगिता सुरु गर्ने प्रयास गरेका थिए। त्यो योजना पनि युइएफएको विरोधका कारण अघि बढ्न सकेन।

बुधबार एसियाली फुटबल महासंघ (एएफसी) र उत्तर तथा मध्य अमेरिकी क्षेत्रीय महासंघ (कनकाकाफ) ले पनि पछिल्लो योजनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ‘प्रक्रियागत पारदर्शिताको अभावप्रति हामी गम्भीर रूपमा चिन्तित छौं,’ कन्काकाफले विज्ञप्तिमा भनेको छ।

क्वालालम्पुरस्थित एएफसीले पनि यति महत्त्वपूर्ण विषय सार्वजनिक हुनुअघि एएफसी परिवारलाई अध्ययन र छलफल गर्ने अवसर नदिइएकोमा निराश रहेको जनाएको छ। च्याम्पियन्स लिग, युरोपियन लिग र कोपा अमेरिकाजस्ता आफ्नै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने महादेशीय महासंघहरूले पुरुष र महिला विश्वकपका साथै क्लब विश्वकपलाई अझ धेरै पटक आयोजना गर्ने, सहभागी टोली बढाउने र लगानीकर्तालाई आकर्षित गर्न आम्दानी वृद्धि गर्ने फिफाको प्रयासले आफ्ना प्रतियोगितामा असर पर्ने आशंका गरेका छन्।

सदस्य संघलाई के प्रस्ताव गरिएको छ?

फिफा फरवार्ड इन्टरप्राइज योजना बहुमतबाट पारित हुँदा प्रत्येक सदस्य संघलाई सन् २०३० पुरुष विश्वकपसँग सम्बन्धित चारवर्षे व्यावसायिक चक्रबाट २ करोड अमेरिकी डलर उपलब्ध गराइनेछ। त्यसपछि विश्वभरका विविध लगानीकर्ताको समूह जोसुआ कुसनरको थ्राइभ क्यापिटलसँग एन्कर लगानीकर्ताका रूपमा जोडिने इन्फान्टिनोको प्रस्ताव छ। ‘यो प्रक्रिया जेपी मोर्गनले नेतृत्व गर्नेछ,’ उनले लेखेका छन्।

योजना अस्वीकृत हुँदा सदस्य संघहरूले आगामी चार वर्षमा यसअघि नै वाचा गरिएको १ करोड अमेरिकी डलर मात्र प्राप्त गर्नेछन्। निजी इक्विटी योजना स्वीकार गर्ने सदस्य संघले १२ वर्षमा करिब ८ करोड ६० लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। अस्वीकार गरेमा प्रतिबद्धताअनुसार करिब ३ करोड ६० लाख अमेरिकी डलर मात्रै पाउनेछन्। दर्जनौं सदस्य संघहरू आर्थिक रूपमा फिफामाथि निर्भर छन्। तीमध्ये धेरैको विश्वकपमा छनोट हुने सम्भावना अत्यन्त न्यून छ। उनीहरूका उत्कृष्ट खेलाडीहरू पनि विश्व फुटबलका शीर्ष क्लबमा खेल्ने अवसर विरलै पाउँछन्। फिफाको ‘एक सदस्य, एक मत’ प्रणालीका कारण मैदानमा सबैभन्दा शक्तिशाली फुटबल राष्ट्रहरू पनि शीर्ष स्तरमा प्रतिस्पर्धा गर्ने सदस्य संघहरूसँग मतदानमा पराजित हुन सक्छन्।

बेलायतबाट विरोध

फिफाको योजनाले बेलायतमा पनि तत्काल विरोध सामना गरेको छ। बेलायत सरकारले सन् २०३५ महिला विश्वकप इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र आयरल्यान्डमा आयोजना गर्ने संयुक्त प्रस्ताव गर्ने तयारी गरिरहेको छ।

फिफाले नोभेम्बरमा हुने अनलाइन बैठकमा उक्त एक मात्र प्रस्तावलाई औपचारिक रूपमा अनुमोदन गर्ने अपेक्षा गरिएको छ। फुटबल समर्थकका रूपमा परिचित बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले इन्स्टाग्राममार्फत फुटबल लगानीकर्ताको सम्पत्ति नभएको र एक पटक विश्वकपको हिस्सा बेचेपछि फुटबल नै बेचेसरह हुने उल्लेख गरेका छन्।

यसअघि सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनसहित बेलायती सांसदहरूको विरोध तथा कानुनी कदम चाल्ने चेतावनीले युरोपियन सुपर लिग परियोजना रोक्न महŒवपूर्ण भूमिका खेलेको थियो। उक्त परियोजनाले युइएफएको च्याम्पियन्स लिगकै अस्तित्वमाथि चुनौती खडा गरेको र इन्फान्टिनोले त्यसलाई गोप्य रूपमा समर्थन गरेको आरोप लागेको थियो।

इन्फान्टिनोको भविष्य

इन्फान्टिनो आगामी सन् २०३१ सम्मका लागि चौथो तथा अन्तिम कार्यकालमा निर्विरोध पुनः निर्वाचित हुने बाटोमा अघि बढिरहेका छन्। सदस्य संघलाई आर्थिक सहयोग गर्ने वाचा सन् २०१६ मा उनको पहिलो निर्वाचनदेखि नै मुख्य एजेन्डा रहँदै आएको छ।

सन् २०१९ र २०२३ को निर्विरोध पुनः निर्वाचनमा पनि यही प्रतिबद्धता निर्णायक बनेको थियो। धेरै विश्लेषकले इन्फान्टिनोले भविष्यमा पनि विश्व फुटबलको नेतृत्वमा दीर्घकालीन भूमिका खोजिरहेको अनुमान गर्दै आएका छन्। एफएफई सहायक कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) वा कमिस्नरको भूमिका त्यसका लागि उपयुक्त हुन सक्ने उनीहरूको धारणा छ।

 यो साताभर इन्फान्टिनोको नेतृत्वप्रति युरोप मात्र नभई अन्य क्षेत्रबाट पनि असन्तुष्टि बढेको छ। आगामी चार महिनाभित्र उनीविरुद्ध अध्यक्ष पदका लागि चुनौती दिने उम्मेदवार उठाउने समय बाँकी छ। अध्यक्ष पदका उम्मेदवार दर्ताको अन्तिम मिति नोभेम्बर १८ तोकिएको छ। निर्वाचन आगामी मार्च १८ मा मोरक्कोको रबाटमा हुनेछ। मोरक्को पछिल्ला वर्षहरूमा इन्फान्टिनोको प्रमुख सहयोगी राष्ट्रमध्ये एक रहँदै आएको छ र सन् २०३० विश्वकपको सहआयोजक पनि हो।

प्रकाशित: १४ श्रावण २०८३ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App