सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै मोरङमा बसेको सर्वपक्षीय सद्भाव बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। बैठकले जिल्लामा शान्ति, सुरक्षा र सामुदायिक एकता कायम राख्न साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको आह्वानमा बसेको बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विराटनगरका विभिन्न अस्पतालमा उपचाररत घाइतेको उपचार प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने निर्णय पनि गरिएको छ।
बैठकले धार्मिक वा साम्प्रदायिक सद्भावमा कुनै असर पर्न नदिन राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सुरक्षा निकाय तथा सरोकारवाला सबैले जिम्मेवार भूमिका निर्वाह गर्ने सहमति जनाएको छ।

यसैबीच, सामाजिक तथा धार्मिक सद्भावको सन्देश प्रवाह गर्न शुक्रबार दिउँसो ३ बजे विराटनगरमा बृहत् सद्भाव र्याली आयोजना गरिने भएको छ। महेन्द्र चोकबाट सुरु हुने र्याली ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको डाँफे चोकमा पुगेर समापन हुने कार्यक्रम छ।
र्यालीमा राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, व्यवसायी, युवा र सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ।
बैठकले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक, जातीय वा साम्प्रदायिक द्वेष फैलाउने, हिंसा भड्काउने तथा भ्रमपूर्ण सामग्री प्रकाशन वा साझेदारी नगर्न पनि सबैलाई आग्रह गरेको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि गैरकानुनी गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरिनेछ। उनले सामाजिक सद्भाव बिथोलिने सम्भावित सूचना वा गतिविधिबारे तत्काल प्रहरी तथा प्रशासनलाई जानकारी गराएर सहयोग गर्न पनि सबैसँग अनुरोध गरेका छन्।
प्रकाशित: १४ श्रावण २०८३ १८:४८ बिहीबार





