२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

मधेशमा शान्ति–सुरक्षा पहिलो प्राथमिकता, अफवाह नफैलाउन मुख्यमन्त्री यादवको अपिल

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति–सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहीबार जारी गरेको प्रेसविज्ञप्तिमा मुख्यमन्त्री यादवको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको वर्तमान शान्ति–सुरक्षाको अवस्थाको समीक्षा गर्दै नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम र प्रभावकारी व्यवस्थापन गर्ने बताइएको छ।

विज्ञप्तिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, सञ्चारमाध्यम, निजी क्षेत्र तथा आम नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।

साथै, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट कुनै पनि प्रकारका अफवाह, भ्रामक सूचना वा समाजमा द्वेष, हिंसा र अशान्ति फैलाउने सामग्रीको प्रचार–प्रसार नगर्न तथा आधिकारिक निकायबाट जारी सूचनामात्र विश्वास गर्न प्रदेश सरकारले सबै प्रदेशवासीसँग अपिल गरेको छ।

मुख्यमन्त्री यादवले हालैका घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै प्रदेशमा शान्ति, सुशासन, कानुनी शासन तथा नागरिकका संवैधानिक अधिकारको संरक्षणमा सरकार दृढ रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका छन्।

प्रकाशित: १४ श्रावण २०८३ १८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App