१५ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पश्चिम बंगालको जगन्नाथ धामको प्रसादमा भइरहेको विवाद के हो ?

अप्रिल ३० मा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ओडिशाको प्रसिद्ध जगन्नाथ पुरी मन्दिरको ढाँचामा निर्मित जगन्नाथ धामको उद्घाटन गरेकी थिइन्। उद्घाटन हुनुभन्दा अगाडि नै सुरु भएको विवाद रोकिएको छैन।

राज्य सरकारले यो मन्दिर निर्माणमा लगभग २५० करोड रुपैयाँ खर्च गरेको थियो। यो मन्दिर सत्तारूढ तृणमूल कांग्रेस र विपक्षी भाजपा बीच विवादको केन्द्र बनेको छ। अब हरेक घरमा यसको प्रसाद पुर्‍याउने सरकारको योजनामा ​​विवाद छ।

यस मन्दिरको उद्घाटनको समयमा यसको नामलाई लिएर विवाद भएको थियो। त्यसपछि पुरी मन्दिरको काठबाट यहाँ मूर्ति बनाएको आरोप लागेको थियो।

ओडिशा सरकारले पनि राज्य सरकारलाई पत्र पठाएर नामकरणको मुद्दामा आफ्नो आपत्ति जनाएको थियो।

के हो विवाद?

राजनीतिक वृत्तमा यो मन्दिरलाई भाजपाको आक्रामक हिन्दुत्वको सामना गर्न ममताको रणनीतिको रूपमा हेरिएको थियो। यद्यपि, तृणमूल कांग्रेसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ।

अब यस मन्दिरको प्रसाद वितरण र यसमा खर्च भएको रकमको विवाद चर्किँदै गएको छ।

वास्तवमा ममता बनर्जीले यस मन्दिरको प्रसाद हरेक घरमा पुर्‍याइने बताएकी थिइन्। तदनुसार यो अभ्यास राशन पसलहरू र सरकारको 'दुआरे राशन योजना' अन्तर्गत जुन १७ देखि नै सुरु भएको छ।

यो प्रसादको एक प्याकेटको मूल्य २० रुपैयाँ छ र यो प्रसाद लगभग १.४० करोड घरहरूमा पुर्‍याउने योजना छ।

यो काम पश्चिम बंगाल आवास पूर्वाधार विकास निगममार्फत भइरहेको छ। निगमले जगन्नाथ धाम मन्दिर निर्माण गरेको छ। राज्यको विपक्षी दल भाजपाले यसमा प्रश्न उठाउँदै एकातिर सरकार पैसाको अभावमा रोइरहेको छ भने अर्कोतिर प्रसाद वितरणमा ४२ करोड रुपैयाँ खर्च गरिरहेको बताएको छ।

भाजपाले दिघाको मुस्लिम पसलबाट प्रसाद लिएर सबै धर्मका मानिसहरूमाझ बाँड्नुलाई हिन्दूहरूको भावनासँग खेलबाड भनेको छ।

भाजपा नेता शुभेन्दु अधिकारीले भनेका छन्, 'यो हिन्दू भक्तहरूको भावनामाथिको आक्रमण हो। यो तृणमूल कांग्रेसको तुष्टीकरणको नीतिको अंश हो।'

भाजपा नेता दिलीप घोषले पनि स्थानीय पसलेहरूलाई मन्दिरको प्रसादको रूपमा मिठाई बाँड्नु हिन्दू धर्मको अपमान भएको बताएका छन्।

हरेक धर्मका मानिसहरूलाई प्रसाद

भाजपाले आरोप लगाएको छ कि प्रसाद वितरणको माध्यमबाट ममताले अर्को वर्ष हुने विधानसभा चुनाव अघि हिन्दू मतदाताहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेकी छिन्।

तर तृणमूल कांग्रेसले यी आरोपहरूलाई निराधार भनेको छ।

हिडकोका अध्यक्ष तथा वरिष्ठ टीएमसी नेता तथा शहरी विकास मन्त्री फिरहाद हाकिम भन्छन्, 'यसले भाजपाको 'स्वार्थी सोच' देखाउँछ। प्रसादका प्याकेटहरू जगन्नाथ मन्दिरबाट नै आएका हुन्। यो हरेक धर्मका मानिसहरूलाई बाँडिएको छ। राज्यको हरेक घरमा पठाउने व्यवस्था गरिएको छ।'

हाकिम भन्छन्, 'भगवान सबैको हो र उनको प्रसाद पनि सबैको लागि हो। भाजपाले धार्मिक मुद्दालाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्न खोजिरहेको छ।'

पुरीको जगन्नाथ मन्दिर जस्तो नभई, दीघामा केवल हिन्दूहरूको प्रवेशमा कुनै प्रतिबन्ध छैन। हरेक धर्मका मानिसहरूले मन्दिरमा दर्शन गर्न सक्छन्। त्यस्तै, प्रसाद वितरणमा कुनै विशेष धर्मलाई महत्त्व दिइँदैन।

यो विवादले आम जनतालाई असर गरिरहेको छैन। हिन्दूहरू बाहेक अल्पसंख्यक समुदायका मानिसहरूले पनि ठूलो संख्यामा यो प्रसाद लिइरहेका छन्।

हुगली जिल्लाको सिंगुरका बासिन्दा मोहम्मद सिराजुद्दीन भन्छन्, 'राज्य सरकारको यो पहलको बारेमा जानकारी पाएपछि मैले प्रसाद लिएँ। मेरो गाउँका धेरै मानिसहरूले यो प्याकेट लिए।'

त्यस्तै, दक्षिण २४ परगनास्थित भांगरमा बस्ने सबिना शेखले पनि आफ्नो इलाकाका धेरै मानिसहरूसँगै प्रसादका प्याकेटहरू लिएका छन्।

सबिना भन्छिन्, 'मैले यो लिएको छु। विवादसँग मेरो कुनै सरोकार छैन। सरकारले यो पठाएको छ, त्यसैले यसलाई लिन हामीलाई कुनै आपत्ति छैन।'

कोलकातास्थित इस्कनका प्रवक्ता राधारमण दास भन्छन्, 'मन्दिरमा भगवानलाई चढाइएको लगभग तीन सय किलोग्राम खवा राज्यका सबै जिल्लामा पठाइएको छ। त्यहाँ खवा मिसाएर मिठाई बनाइएको छ। यसलाई प्याकेटमा प्याक गरेर घर-घरमा वितरण गरिँदैछ।'

सरकारी पैसाको धार्मिक प्रयोगको आरोप

पश्चिम बंगालको राजनीतिक वृत्तमा राज्यकी मुख्यमन्त्री ममता बनर्जीले यो मन्दिर निर्माण गर्नुलाई भाजपाको आक्रामक हिन्दुत्वको सामना गर्ने हतियारको रूपमा लिइँदैछ।

मन्दिरको उद्घाटन हुनुअघि भाजपाले परियोजनाको आलोचना गर्दै राज्य सरकारले कुनै पनि धार्मिक संस्थाको निर्माणमा सार्वजनिक पैसा प्रयोग गर्न नसक्ने बताएको थियो।

कांग्रेस र सीपीएमले पनि यसको लागि सरकारको आलोचना गरेका थिए। तर तृणमूल कांग्रेसले त्यतिबेला भनेको थियो कि सरकारले स्थानीय जनताको इच्छालाई सम्मान गर्दै दिघामा यो मन्दिर निर्माण गरेको हो।

तृणमूलका प्रवक्ता कुणाल घोषले विपक्षीको आलोचनालाई अस्वीकार गर्दै भनेका थिए कि यति भव्य मन्दिर निर्माणले विपक्षीको निद्रा हरायो।

उनले भने, 'ममता आफ्नो राजनीतिक करियरभरि धर्मनिरपेक्ष रहिआइन्। यस्तो अवस्थामा, विपक्षीहरूले उनीमाथि हिन्दुत्वको राजनीति गरेको वा प्रवर्द्धन गरेको आरोप निराधार छ।'

राजनीतिक विश्लेषक विश्वनाथ चक्रवर्ती भन्छन्, 'राज्यमा हिन्दुत्वको राजनीति निरन्तर तीव्र हुँदै गइरहेको छ। ममताले यो मन्दिर आफ्नो छवि सुधार्न र भाजपाको आरोपको जवाफ दिन मात्र बनाएकी हुन्। तर अस्पताल, विद्यालय, रोजगारी र अन्य आधारभूत आवश्यकताहरू प्रदान गर्न सरकार कति गम्भीर छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।' एजेन्सी

प्रकाशित: १२ असार २०८२ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App