जापानको राजधानी टोकियोमा मतदाताले सत्तारुढ दललाई नगर सभाको सबैभन्दा ठूलो समूहको स्थानबाट पछाडि धकेलेको मत परिणामले सोमबार देखाएको छ।
सन् १९५५ देखि लगातार देशको नेतृत्व गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को यो प्रमुख स्थानीय निर्वाचनमा निकै कम मत आएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
अक्टोबरमा पदभार ग्रहण गरेका इशिबालाई सार्वजनिक समर्थनमा महिनौंदेखि ठूलो कमी आएको छ। उच्च मुद्रास्फीतिका कारण गत वर्षको तुलनामा चामलको मूल्य दोब्बर भएको छ।
आइतबार भएको मतदानमा एलडिपीले टोकियो विधानसभाका २१ सिट जितेको छ, जसमध्ये यसअघिका तीन सिट पार्टीसँग सम्बन्धित उम्मेदवारले जिते पनि राजनीतिक चन्दा प्रकरणपछि आधिकारिक रूपमा अनुमोदन गरिएको थिएन।
असाही शिम्बुन र अन्य स्थानीय सञ्चारमाध्यमका अनुसार यसले सन् २०१७ को तुलनामा पार्टीको २३ सिटको रेकर्ड तोडेको छ।
टोकियोका गभर्नर युरिको कोइकेले स्थापना गरेको टोमिन फस्र्ट नो काईले १२७ सदस्यीय विधानसभामा आफ्नो सिट बढाएर ३१ पुर्याएको छ।
एलडिपीको टोकियो शाखाका प्रमुख शिन्जी इनोउले मतदानपछिको सर्वेक्षणले पार्टीको सिट घट्दै गएको देखाएपछि आइतबार भने, ‘यो निकै कठिन चुनाव थियो।’
निर्वाचनलाई प्रभावित गर्न राज्यकोषबाट रकमको हिनामिना गरिएको (फन्डिङ स्क्यान्डल) ले परिणामलाई ‘प्रभावित’ गरेको हुन सक्छ।
इनोउले भने, ‘मुद्रास्फीतिलाई सम्बोधन गर्ने सरकारको नीति मतदातासम्म राम्रोसँग पुर्याउन नसक्नु र विपक्षी दलले मुद्रास्फीतिलाई सम्बोधन गर्ने भनी गरेको व्यापक प्रचारले एलडिपीले अपेक्षा गरेको मत परिणामभन्दा फरक वातावरण देखिएको छ।’
जीवनयापनको लागत
केही हप्ताभित्र इशिबाले संसदको माथिल्लो सदनका लागि चुनावको सामना गर्नुपर्नेछ र जुलाई २० मा राष्ट्रिय मतदान हुन सक्ने बताइएको छ।
बढ्दो महँगी र राजनीतिक घोटालाबाट आक्रोशित मतदाताले इशिबाको एलडिपी र यसको कनिष्ठ गठबन्धन साझेदारलाई अक्टोबरमा शक्तिशाली तल्लो सदनमा बहुमतबाट वञ्चित गरे।
यो विगत १५ वर्षमा एलडिपीको सबैभन्दा खराब आम चुनाव परिणाम हो।
धानको मूल्यलाई सम्बोधन गर्ने नीतिका कारण यो महिना गरिएको सर्वेक्षणमा इशिबाको समर्थनमा केही वृद्धि भएको देखिएको छ।
जापानी पसलमा हालै चामलको अभाव हुनुका पछाडि धेरै कारण छन्, जसमा दुई वर्षअघि अत्यधिक तातो र सुख्खा गर्मीले देशव्यापी रूपमा फसललाई क्षति पुर्याएको थियो र गत वर्ष ‘महा–भूकम्प’ चेतावनीपछि चामल खरीद आतङ्कले गर्दा केही व्यापारीले नाफा बढाउन चामल मौज्दात राख्ने गरेको जानकार बताउँछन्।
जापानमा ताजा खाद्य पदार्थ, अन्य सामान र ऊर्जा क्षेत्रका शीर्षक समावेश नगरेको मूल्य वृद्धिदर अघिल्लो वर्षको तुलनामा मे महिनामा ३.७ प्रतिशतले बढी रहेको थियो।
इशिबाले माथिल्लो सदनको चुनावअघि प्रत्येक नागरिकलाई २० हजार येन (१३९ अमेरिकी डलर) नगद सहयोग गर्ने घोषणा गरेका छन्।
‘गम्भीर’ परिणाम
वासेदा युनिभर्सिटीका राजनीतिकर्मी मासाहिसा एन्डोले टोकियो विधानसभाको नतिजा सत्तारुढ दलका लागि गम्भीर भएको बताए।
‘टोकियो एलडिपीको बलियो गढ होइन, तर नतिजाबाट यसको समर्थन देशभरि कमजोर भएको निष्कर्ष निकाल्न सकिन्छ।
इशिबाले माथिल्लो सदनमा बहुमत प्राप्त गर्न नसके पनि उनको स्थान अहिले कसले लिन चाहन्छ भन्ने कुरा बुझ्न कठिन छ। ‘जापानका विपक्षी पार्टी एलडिपीको शक्तिलाई विश्वसनीय चुनौती दिने सम्बन्धमा विभाजित छन्,’ एन्डोले एएफपीसँग भने।
विपक्षी ‘डेमोक्र्याटिक पार्टी फर द पिपुल (डिपिपी)’ ले टोकियो विधानसभाको मतदानमा पहिलो पटक नौ सिट जितेको छ।
जुलाईको चुनावका लागि डिपिपीको चुनावी प्रतिबद्धतामा परिवारको आय बढाउन बिक्री कर कटौती गर्ने उल्लेख छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबारको मतदान दर ४७.६ प्रतिशत रहेको छ। चार वर्षअघि यो दर ४२.४ प्रतिशत थियो।
सन् १९९७ यताकै सबैभन्दा बढी २९५ जना उम्मेदवारले प्रतिस्पर्धा गरेको टोकियोको विधानसभा निर्वाचनमा ९९ जना महिला उम्मेदवार पनि थिए। निर्वाचित महिला विधानसभा सदस्यको सङ्ख्या ४१ बाट बढेर ४५ पुगेको छ। एएफपी
प्रकाशित: १० असार २०८२ १३:३५ मंगलबार





