इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता नभएको बताए। उनले यदि इजरायलले तेहरान समय बिहान ४ बजेसम्ममा इरानीहरूमाथि आफ्नो अवैध आक्रमण रोक्यो भने इरानले इजरायलविरुद्ध बदला लिने कार्य जारी नराख्ने बताए।
अराघचीले इरानले आफ्नो सैन्य कारबाही रोक्ने बारेमा अन्तिम निर्णय पछि लिने बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान ३:३० बजे इरान र इजरायलबीच युद्धविरामको घोषणा गरे। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखे, 'म यो घोषणा गर्न पाउँदा खुसी छु कि इजरायल र इरानबीच १२ घण्टामा, अर्थात् अबको ६ घण्टामा पूर्ण युद्धविराम लागू हुनेछ। इरानले पहिलो १२ घण्टाको लागि आफ्नो हतियार बिसाउनेछ र त्यसपछि इजरायलले अर्को १२ घण्टाको लागि आफ्नो हतियार बिसाउने छ।'
'यो १२ दिने युद्ध अन्त्य गर्न मद्दत गरेकोमा म दुवै देशका नेताहरूलाई धन्यवाद दिन चाहन्छु। यो वर्षौंसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याउन सक्थ्यो। मध्य पूर्वमा शान्ति चाहने प्रधानमन्त्री नेतान्याहू, इजरायल र इरानका जनतालाई बधाई छ। यो संसारको लागि एक महान दिन हो!' उनले भने।
यद्यपि, इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता नभएको बताए। न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाका प्रवक्ताले युद्धविराम सम्बन्धी ट्रम्पको भनाइमा केही पनि बोल्न अस्वीकार गरे।
ट्रम्पको घोषणाको केही घण्टाअघि मात्र इरानले कतारमा रहेको अमेरिकी अल-उदेइद हवाई सैन्य अड्डामा १९ वटा मिसाइल प्रहार गरेको थियो। यद्यपि, यस आक्रमणमा कुनै हताहत भएको थिएन किनभने इरानले आक्रमण अघि नै यसबारे अलर्ट जारी गरेको थियो। एजेन्सी
प्रकाशित: १० असार २०८२ ०७:०४ मंगलबार





