झन्डै १२ सय माइल टाढाको दुरीमा रहेका इजरायल र इरानबिच युद्ध हवाई हमलामा मात्रै सीमित रहने धेरैको बुझाई थियो। एक अर्कामाथि हमला गर्दा दुवै देशले आफ्नै भूमि अथवा समुद्रबाट क्षेप्यास्त्र(मिसाइल), ड्रोन र लडाकु विमानको प्रयोग गर्ने÷गरिरहेको बुझाई थियो।
तर इजरायलले इरानी भूमिमै पसेर पनि हमला गरिरहेको विभिन्न रिपोर्टका सङ्केत भेटिएको भन्दै बिबिसी फारसीले समाचार लेखेको छ। इजरायलले यस्ता आक्रमण लामो समयदेखि गरिरहेको पाइएको समाचारले जनाएको छ।
इजरायलले लामो समयदेखि खुफिया अपरेसनका माध्यमबाट घुसपैठ गरेर इरानमाथि हमलाको ठुलो तयारी गरेको पनि भनिएको छ।
यद्यपि इरानी अधिकारीले पहिलेदेखि नै इरानी सुरक्षा बलमा इजरायली घुसपैठको आशङ्का व्यक्त गर्ने गरेका थिए। पछिल्लो घटनामा इजरायली खुफिया एजेन्सी मोसादको भूमिकाको आकलन गरिएको छ। सामान्यतया: इजरायलले मोसादको कामकाजबारे सार्वजनिक जानकारी दिँदैन।
विभिन्न मिडिया रिपोर्टका अनुसार इजरायली अधिकारीको भनाईबाट इरानभित्र पनडुब्बी प्रतिरोध प्रणाली(एन्टी–सबमरिन सिस्टम), क्षेप्यास्त्र गोदाम, कमान्ड सेन्टर र रोजाइका व्यक्तिलाई निसाना बनाइएका घटना निकै सटिक छन्। जो इजरायलको भूमिबाट प्रहार गर्न सम्भव छैन।
इजरायलले हमला गर्दा इरानको सैन्य र परमाणु परीक्षण स्थान मात्रै निसाना बनाएको छैन, उसका खुफिया क्षमतामाथि पनि गम्भीर क्षति पु¥याएको छ। जसले इरानका नेता र सैन्य अधिकारीहरूकै बिचमा भ्रम र हैरानी पैदा गरिदिएको छ।
यस्तो अवस्थामा हमलाको पाँचौँ दिनमा इस्लामिक रिवोल्युसनरी गार्डका तर्फबाट जारी वक्तव्यमा त्यसबारे चिन्ता प्रकट गरिएको छ।
उक्त वक्तव्यमा सरकारी तथा सैन्य अधिकारीलाई सुरक्षा चेतावनी दिँदै कुनै पनि सञ्चार नेटवर्कसँग जोडिएका डिभाइस, मोबाइल फोन, स्मार्ट घडी, ल्यापटप जस्ता चिजको प्रयोग नगर्न सुझाइएको छ। यो चेतावनी अधिकारीलाई मात्रै दिइएको छैन कि, आम जनतासँग पनि त्यस्ता चिज प्रयोग नगर्न भनिएको छ। यसले इरानभित्र देखा परेको साइबर सुरक्षाको चिन्ताको अवस्था दर्साउँछ।
इरानमा कसरी पुग्यो इजरायली हतियार?
इजरायली र पश्चिमा सञ्चारमाध्यमको रिपोर्टहरूको विश्वास गर्ने हो भने इजरायलले इरानकै जमिनमा हातहतियारको निर्माण र तैनाथीका लागि एक सङ्गठित प्रणाली तयार पारेको छ। इजरायलले यो मिसनलाई लामो समयदेखि तयार पारेर स्थानीय एजेन्ट बनाएको, एजेन्टका लागि सुरक्षा बन्दो बस्ती गरेको, यातायात प्रणाली र आधुनिक प्रविधिको प्रयोगमा ध्यान दिएको भनिएको छ। यसैको जगमा अहिले इजरायलले इरानमाथि गरेको हमला सम्भव भएको हो।
समाचार पोर्टल ‘द वार जोन’ र अन्य स्रोतका अनुसार इजरायलले तस्करीका माध्यमबाट इराकबाट जाने ट्रक, व्यावसायिक कन्टेनर र यात्रुका सुटकेसलगायतका अलगअलग माध्यमबाट लुकाएर संवेदनशील ड्रोन, मिसाइल तथा सैन्य उपकरण बिस्तार बिस्तार गर्दै इरान भित्र पु¥याएको थियो। अन्य उपकरणमा इलेकट्रोनिक्स फ्युज, एडभान्स अप्टिकल क्यामरा, लिथियम ब्याट्रीहरू, हलुका इन्जिन, जिपिएस आधारित गाइडेड सिस्टम र सुरक्षित सञ्चार डिभाइस सामेल छन्। जसलाई इजरायली एजेन्सी मोसादले अलग–अलग स्थानमा राखेर आक्रामक हतियार बनाएको थियो।
इरानी समाचारकै एक रिपोर्टअनुसार राजधानी तेहरानकै एक तीन तले भवनमा आत्मघाती ड्रोन निर्माण गर्ने कम्पनी नै भेटिएको छ।
रिमोट कन्ट्रोलबाट हमला
यो गोप्य अपरेसनमा इजरायलले इरानकै जमिनमा हल्का, सटिक र दूरबाटै नियन्त्रण गरेर हमला गर्न सक्ने क्षेप्यास्त्र प्रणाली तयार पारेको थियो। यस्ता आधुनिक प्रविधियुक्त हतियार अपरेटर बिनै हमला गर्न सकिने खालका थिए। अर्थात् यी हतियार रिमोट कन्ट्रोलबाटै चलाउन मिल्ने बनाइएका थिए। जुन इजरायलले इरानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पार्न प्रयोग गरेको छ।
इरानकै एक टिभीले यस्ता स्पाइक मिसाइल लन्चर बरामद गरेको समाचार प्रसारण गरेको छ।
इजरायलले यस्तै रिमोट कन्ट्रोल हतियार इरानभित्रै सन् २०२० मा पनि प्रयोग गरिसकेको छ। जसमा इरानकै वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको थियो।
बिबिसीबाट
प्रकाशित: ६ असार २०८२ १८:४६ शुक्रबार