‘यो देश सवैको साझा हो’ भनेर शिक्षकले पढाउँदै गर्दा एकजना विद्यार्थी आँखामा आँसु खसाल्दै प्रतिवाद गर्छन् । उनी शिक्षकसँग प्रश्न गर्छन्, यो देश कसरी सवैको साझा हुन्छ ? जबकि मैले यही देशमै बसेर सानो नाङलो पसल थापेर वस्दा मलाई नगर प्रहरीले बारम्बार लखेट्छ र काम गर्न दिंदैन । उनी तर्क गर्दै थप प्रश्न सोध्छन्, अनि कसरी यो देश सवैको साझा हो ? यो होइन गुरुजी, यो हुँदै होइन । आँखाबाट आँसु बगाउँदै यसो भन्दै गर्दा धेरैको आँखा रसाएको थियो ।
यो परिदृश्य हो, भक्तपुरमा प्रदर्शन गरिएको ख्याल (प्रहसन) खेल खतम नामक नाटकको । नाट्यकर्मी समाज नेपालको आयोजनामा भक्तपुरको लिवालीस्थित आस्था थिएटरमा यस्तैयस्तै विविध सामाजिक विषयवस्तु समेटिएको नाटक प्रदर्शनको महामेला चलिरहेको छ यतिखेर । ११ दिने नाटक मवहोत्सव साउन महोत्सव १९ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा विभिन्न सामाजिक तथा समसामयिक विषयवस्तुमा आधारित १० वटा नाटक मञ्चन गरिने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन खेल खतम नामक नाटक प्रदर्शन गरिएको थियो । पहिलो र अन्तिम दिन यो नाटक प्रदर्शने हुने आयोजकले जनाएको छ । दोश्रो दिन आइतबार क्षेरावती नामक नाटक प्रदर्शन गरिएको छ । यसरी नै प्रत्येक दिन फरकफरक क्रमशः १२ बजे, खुँगाता ज्व ज्व, तन्त्र टाब्लेट (नेपाली भाषा), खुँ, तन्त्र टाब्लेट, टुरिस्ट गाइड, अस्पतालया जा, रानी पुखु प्रदर्शन हुने जनाइएको छ । यी सवै नाटकहरुमध्ये तन्त्र टाब्लेट (नेपाली भाषा)मा बाहेक सवै नेपाल भाषा (नेवारी भाषा) मा प्रर्दशन हुनेछन् ।
यी नाटकहरू क्रमशः भक्तपुर साकोस, ख्वप कलेज, स्टार वाचनालय, बहुरङ्गी रंगकर्मी समूह, बाल विकास इगलिश स्कुल, प्रभात माध्यमिक विद्यालय, श्रमिक साकोस, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर नगरपालिका वडा नं १, शहीद निर्मल–पुष्प स्मृति वाचनालय, जेलाँ सांस्कृतिक समाजले मन्चन गर्ने जनाइएको छ ।

आयोजक नाट्यकर्मी समाज नेपालका अध्यक्ष लक्ष्मीप्रसाद चवालका अनुसार सुरुमा ११ दिनमा ११ वटा नाटक प्रदर्शन गर्ने योजना थियो । तर विशेष कारणले ११ दिनमा १० वटा मात्रै नाटक प्रदर्शन गरिनेछ । त्यसकारण पहिलो र अन्तिम दिनमा एउटै नाटक दोह्याएर खेल खतम नाटक प्रदर्शन गर्ने योजना तयार गरेको उनले बताए । उनका अनुसार पूर्वनिर्धारित योजना अनुसार अन्तिम दिन सिमा त फः फः स्व गरी ११ दिनमा ११ वटा नाटक मञ्चन गर्ने योजना थियो । यसका लागि संगम साकोसले मञ्चन गर्ने गरी तयारी समेत भइसकेको थियो । तर प्राविधिक कारणले यो सफल नभएको उनले सुनाए ।
कार्यक्रमको नाम रामशेखरया ख्याल ब्वज्या अर्थात् रामशेखरको प्रहसन प्रदर्शन राखिएको छ । भक्तपुरका चर्चित लेखक, कलाकार स्वर्गीय रामशेखर नकर्मीले लेखेका नाटकहरुको प्रदर्शनी भइरहेको हो । स्वर्गीय नकर्मीका धेरै प्रहसनहरुमध्ये ११ वटा प्रहसन छनौट गरी प्रदर्शन भइरहेको हो ।
आयोजकका अनुसार साउन ९ गतेदेखि १९ गतेसम्म हरेक साँझ ५ बजे आस्था थिएटरमा नाटक प्रदर्शन भइरहेको हो । आस्था थिएटर भक्तपुर नगरपालिका–८ लिवाली ख्वप इन्जिनियरिङ गेटको अपोजिट रहेको छ।
प्रकाशित: १० श्रावण २०८३ २०:१७ आइतबार



-600x400.jpg)

