१५ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलमाथि इरानको ब्यालिस्टिक मिसाइल आक्रमण : तीनको मृत्यु, ८० घाइते

इरानले शुक्रबार राति र शनिबार बिहान इजरायलमाथि धेरै ब्यालिस्टिक मिसाइल (क्षेप्यास्त्र) प्रहार गरेको छ। यस आक्रमणले इजरायलभर त्रासको वातावरण सिर्जना भएको छ। 

देशभरका इजरायलीहरू आश्रयस्थलतिर दौडिरहेका थिए किनभने आकाश क्षेप्यास्त्र प्रक्षेपण र इजरायली अवरोध प्रणालीबाट उत्पन्न प्रकाश र आगोका गोलाहरूले भरिएको थियो।

इजरायली रक्षा बलका अनुसार रातभर चारवटा आक्रमणमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएका थिए। तर कुनै निश्चित संख्या खुलाइएको छैन। इरानी सञ्चारमाध्यमले पहिलो आक्रमणमा सयौं क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरे पनि एक सयभन्दा कम रहेको अनुमान छ।

आक्रमणमा मध्य इजरायल विशेष गरी तेल अभिभ क्षेत्रमा ठूला विस्फोटहरू सुनिए। टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा लगभग ८० जना घाइते भएका छन्। जसमध्ये तीन जनाको गम्भीर चोटका कारण मृत्यु भएको छ।

अमेरिकाले यस आक्रमणमा प्रत्यक्ष संलग्नता अस्वीकार गरे पनि एक अमेरिकी अधिकारीले इजरायललाई क्षेप्यास्त्र आक्रमणबाट बचाउन सहयोग गरेको भनेका छन्। ‘म पुष्टि गर्न सक्छु कि अमेरिकाले इजरायललाई लक्षित गरी क्षेप्यास्त्रहरू खसाल्न सहयोग गरिरहेको छ,’ नाम न छाप्ने सर्तमा ती अधिकारीले एएफपीलाई भने। अमेरिकी भूमिकाबारेमा उनले थप जानकारी उपलब्ध गराउन मानेनन्। 

इजरायलले धेरैजसो क्षेप्यास्त्रहरू हवाई प्रतिरक्षा प्रणालीद्वारा रोकिएको भनेको छ। यो आक्रमण इजरायलले शुक्रबार बिहान इरानको परमाणु र सैन्य अड्डामा गरेको ‘अपरेशन राइजिङ लायन’ को जवाफी कारबाही हो। इरानले यसलाई ‘अपरेशन ट्रू प्रोमिस ३’ नाम दिएको छ। इरानले आफ्ना उच्च सैन्य अधिकारीहरूको हत्याको बदला लिने बताएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०८२ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App