भारतको अहमदाबाद शहरको मेहगनिनगर क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त एयर इन्डिया विमानको ब्ल्याक बक्स रेकर्डर शुक्रबार फेला परेको छ।
अहमदाबादबाट बेलायतको लन्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु थिए। एक जना व्यक्ति चमत्कारिक रूपमा बाँच्न सफल भए। ‘सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,’ बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शय्याबाट राष्ट्रिय प्रसारक डीडी न्यूजसँग भने।
प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २६५ जनाको शव गणना भएको र दुर्घटनास्थलमा कम्तीमा २४ जना गैरयात्रीको मृत्यु भएको बताए।
मृतकको औपचारिक सङ्ख्या डीएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ।
प्रकाशित: ३० जेष्ठ २०८२ २१:४८ शुक्रबार