नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन पञ्चायती प्रतिगमन ढाल्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरू मिलेर अघि बढेको ऐतिहासिक दृष्टान्त पेस गर्दै यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन मदन भण्डारीले खेलेको नेतृत्वदायी भूमिकाको चर्चा गर्दै छैटौँ महाधिवेशनको सन्दर्भ उल्लेख गरे।
उनले पञ्चायतजस्तो निरंकुशता र प्रतिगमनलाई पराजित गर्न नेपाली कांग्रेस र सबै वामपन्थी शक्तहरू मिलेर अगाडि बढ्ने नीति तय गरिएको स्मरण गराए।
क्रान्तिका नाममा तत्कालीन समयमै संविधानसभाको माग गर्दा पञ्चायत टिक्ने जोखिम रहेकाले जननेता भण्डारीले सबै शक्तिलाई मिलाएर प्रतिगमन पराजित गर्ने बाटो रोजेको ओलीको भनाइ थियो।
सोभियत संघमा ७४ वर्षसम्म चलेको सरकार ढलेर पूर्वी युरोपमा समेत कम्युनिस्ट सत्ता ढल्दा विश्व कम्युनिस्ट आन्दोलन गम्भीर रक्षात्मक अवस्थामा पुगेको ओलीले स्मरण गरे।
उनले भने, ‘पुँजीवादी शक्तिहरूले विजयी भावमा कम्युनिस्ट युग समाप्त भयो भन्दै घोषणा गरिरहेका बेला भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) मार्फत नेपालमा कम्युनिस्ट आन्दोलनलाई बचाउनुभयो र नयाँ वैचारिक दिशा दिनुभयो।’
कार्ल मार्क्सले पेरिस कम्युनको असफलतापछि पनि त्यसका उद्देश्यहरू विश्वभर विभिन्न रूपमा प्रकट भइरहने घोषणा गरेजस्तै मदन भण्डारीले पनि कम्युनिस्ट आन्दोलनको जित सुनिश्चित रहेको भन्दै आत्मविश्वास जगाएको ओलीले सुनाए।
पार्टीलाई उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी अवसरवाद दुवैबाट जोगाउँदै भण्डारीले बहुदलीय प्रतिस्पर्धाको वैचारिक जग बसालेको अध्यक्ष ओलीले बताए।
हतियारको बलमा मात्र टिक्न सकिन्छ भन्ने रुढिवादी सोच र आत्मसमर्पण गर्ने पलायनवादी बाटोलाई अस्वीकार गर्दै भण्डारीले समयअनुकूल अघि बढ्नुपर्ने नीति ल्याएको उनले बताए।
प्रकाशित: १४ असार २०८३ १६:२६ आइतबार





