२७ असार २०८३ शनिबार
image/svg+xml
अर्थ

गण्डकीका ६ जना आरोहीलाई सम्मान

आठहजार मिटर भन्दा अग्ला हिमाल उनीहरुले आरोहण गरेका थिए

सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेका थिए। त्यसपछि बल्ल हिमाल आरोहणको गौरवमय इतिहास सुरुवात भएको हो। हिमाल आरोहणको त्यही पृष्ठभूमिलाई लिएर गण्डकी प्रदेश सरकारले आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेका प्रदेशभित्रका ६ जना साहसी आरोहीलाई सम्मान गरेको छ।  

पर्वतारोहीलाई जनही ४५ हजार रुपैयाँ, सम्मानपत्र, मायाको चिनो तथा दोसल्ला प्रदान गरी सम्मान गरिएको हो। सम्मानित हुने आरोहीमा गोरखाको चुमनुब्री गाउँपालिका–१ की नाङसल छ्योटोन लामा, पर्वतको कुश्मा नगरपालिका–९ का किरणबहादुर पीसी, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी, पर्वतको बिहादी गाउँपालिका–४ का देवीप्रसाद न्यौपाने, तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापा तथा तनहुँको ऋषिङ गाउँपालिका–५ का नवराज राना छन्।  

प्रदेशको पर्यटन मन्त्रालयका अनुसार गोरखाकी लामाले सगरमाथा (२०८१ जेठ १० गते), मनास्लु, र ल्होत्से हिमालको सफलता पूर्वक आरोहण गरेकी थिइन। भारतीय सेनाका कार्यरत पर्वतका पिसीले २०८२ जेठ १३ गते सगरमाथा आरोहण गरेका थिए। नेपाली सेनाका मेजर कास्कीका अधिकारीले २०८२ जेठ १ गते सगरमाथा आरोहण गरेका थिए।  

सेनाको सैनिक उच्च शिखर शिक्षालय कैसाङ क्याम्प मुस्ताङमा कार्यरत पर्वतका न्यौपानेले २०७९ वैशाख २९ गते सगरमाथाको सफल आरोहण गरेका थिए। त्यस्तै सैनिक उच्च शिखर शिक्षालय कैसाङ क्याम्प मुस्ताङमा कार्यरत तनहुँका थापाले २०७९ वैशाख १४ गते कञ्चनजंगा हिमालको आरोहण गरेका थिए। सैनिक उच्च शिखर शिक्षालय कैसाङ क्याम्पमै कार्यरत तनहुँका रानाले २०८० वैशाख ४ गते अन्नपूर्ण हिमालको आरोहण गरेको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकको संख्या मात्रै बढाउने भन्दा पनि आएका पर्यटकलाई लामो समयसम्म बस्न प्रेरित गर्ने वातावरण निर्माणमा प्रदेश सरकारको ध्यान केन्द्रित हुने बताए।  

‘अब हामीले पोखरामा कति संख्यामा पर्यटक आए भन्ने भन्दा पनि आएका पर्यटकको बसाइ अवधि कसरी लम्ब्याउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ। गुणस्तरीय पर्यटक भित्र्याएर पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ बढाउनेतर्फ अघि बढ्नुपर्छ,’ उनले भने।

 मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय पर्यटकको नेपाल तथा गण्डकी प्रदेशमा आगमन उत्साहजनक रुपमा बढेको बताए।  पर्यटन क्षेत्रको अफसिजन मानिने समयमा समेत भारतीइ पर्यटक आगमन बढ्नु पर्यटन क्षेत्रका लागि सकारात्मक पक्ष रहेको उनले बताए। भारतीय पर्यटकको बढ्दो आगमनले पर्यटन व्यवसायीलाई अफसिजनमा पनि आम्दानी गर्न बाटो खुलेको र त्यसले ठूलो राहत दिलाएको उनले बताए।  

मुख्यमन्त्री पाण्डेले हिमाल केवल प्राकृतिक सम्पदा मात्रै नभई नेपालको पहिचान, सभ्यता, संस्कृति र पर्यटनको प्रमुख आधार भएको बताए। विश्वभर योग, ध्यान र वेलनेसप्रति आकर्षण बढिरहेका बेला गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उनले बताए।  

कार्यक्रममा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीको साहस, समर्पण र उपलब्धिले नयाँ पुस्तालाई प्रेरणा दिने बताईन। हिमालको पहिचान र पर्यटन प्रवद्र्धनमा आरोहीहरुको योगदान महत्वपूर्ण रहेको उनले बताईन।  

प्रदेश सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पाँचलाख रुपैयाँ बजेट विनियोजन गरी पर्वतारोहण क्षेत्रमा योगदान पुर्याएका प्रदेशका नागरिकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको मन्त्रालयका उपसचिव टिकाराम पौडेलले बताए।  सम्मानित आरोही देवीप्रसाद न्यौपानेले हिमाल जति सुन्दर र मनमोहक देखिन्छ, त्यसको आरोहण उत्तिकै चुनौतीपूर्ण रहेको अनुभव सुनाए। ‘हिमाल देख्दा सहज लागे पनि जति उचाइ बढ्दै जान्छ, त्यति नै तेज हावा र लेक लाग्ने समस्याले कठिन बनाउँछ,’ उनले भने।  

प्रकाशित: २७ असार २०८३ १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App