२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सियरा लियोनमा एमपक्सको संकट : तीन हजारभन्दा बढी सङ्क्रमित, १४ को मृत्यु

सियरा लियोनमा सन् २०२५ को सुरुदेखि हालसम्म एमपक्स सङ्क्रमितको सङ्ख्या तीन हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार राति सार्वजनिक गरेको तथ्याङ्कअनुसार पश्चिम अफ्रिकी मुलुक सियरा लियोनका सबै क्षेत्रमा सङ्क्रमण पुष्टि भएको छ। 

यो तथ्याङ्कले मे १३ मा २,०४५ सङ्क्रमित र ११ जनाको मृत्यु भएको अघिल्लो तथ्याङ्कको तुलनामा सङ्क्रमण दर करिब ५० प्रतिशतले बढेको देखाउँछ। एमपक्स बिफरजस्तै सङ्क्रमित व्यक्तिबाट सर्ने रोग हो। ज्वरो, रुघाखोकी, छालामा घाउ देखिने र लामो समयसम्म निको नहुने यसका सामान्य लक्षण हुन्।

सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पहिलोपटक देखिएको यो रोग सन् २०२२ अघि सामान्यतः एक दर्जन अफ्रिकी देशमा मात्र सीमित थियो। डब्लुएचओले सन् २०२४ मा एमपक्सबाट जोगिन उच्च चेतावनी जारी गरेको थियो।

सङ्क्रमण बढेसँगै राजधानी फ्रीटाउनको प्रहरी प्रशिक्षण केन्द्रलाई चार सय शय्याको अस्पताल बनाएर उपचार सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

एक दशकअघि सियरा लियोन इबोला महामारीबाट धेरै प्रभावित देशमध्ये एक थियो। सन् २०१४ देखि २०१६ सम्म इबोलाले यहाँ करिब चार हजार व्यक्तिको ज्यान लिएको थियो।

अन्य अफ्रिकी देशहरूमा पनि एमपक्स सङ्क्रमण बढिरहेको छ। विशेषगरी कङ्गो, रुवान्डा, तान्जानिया, बुरुन्डी र केन्यामा हजारौँ व्यक्ति सङ्क्रमित छन्। एएफपी

प्रकाशित: ११ जेष्ठ २०८२ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App