१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानसँगको आयातमा भारतको पूर्ण प्रतिबन्ध

भारत सरकारले शनिबार पाकिस्तानबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। यस सम्बन्धमा सरकारको तर्फबाट औपचारिक सूचना पनि सार्वजनिक गरिएको छ।

सो निर्णयसँगै अब पाकिस्तानी जहाजहरू भारतीय बन्दरगाहमा प्रवेश गर्न नपाउने भएका छन् भने भारतीय जहाजहरू पनि पाकिस्तानी बन्दरगाहमा नजाने स्पष्ट गरिएको छ।

सरकारका पछिल्ला निर्णयहरूबीच प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार हैदराबाद हाउसमा अंगोलाका राष्ट्रपति जोआओ लुरेन्सोसँगको भेटमा आतङ्कवादलाई मानवताको सबैभन्दा ठूलो खतरा भएको बताएका छन्। उनले आतङ्कवादविरुद्ध कडा सन्देश दिँदै शान्ति र सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखे।

कश्मीर हमलापछि प्रहरीको व्यापक कारबाही, ७५ जना पक्राउ

पहलगामको बायसरन उपत्यकामा भएको आतङ्ककारी हमलापछि जम्मु–कश्मीर प्रहरीले ठूलो संख्यामा पक्राउ अभियान थालेको छ।

हालसम्म ७५ जनालाई सार्वजनिक सुरक्षा ऐन अन्तर्गत पक्राउ गरिएको पुष्टि कश्मीर क्षेत्रका आइजीपी वी.के. बिरदीले गरेका छन्। उक्त ऐन अन्तर्गत दोषीलाई दुई वर्षसम्म थुनामा राख्न सकिने प्रावधान छ।

यता, बायसरन घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सीले खोजी अभियानको दायरा दक्षिण कश्मीरबाट जम्मुको चेनाब र पिर पंजाल क्षेत्रसम्म विस्तार गरेको छ।

सुरक्षा स्रोतका अनुसार आतङ्ककारीहरू पहिल्यै भाग्ने बाटो तय गरिसकेका कारण उनीहरूको ठेगाना पत्ता लगाउन समस्या भइरहेको छ।

भारतसँगको तनावबीच पाकिस्तानद्वारा ‘अब्दाली’ मिसाइल परीक्षण

भारतसँगको चिसिएको सम्बन्धका बीच पाकिस्तानले शनिबार ‘अब्दाली वेपन सिस्टम’ नामको ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको घोषणा गरेको छ।

पाकिस्तानका सैन्य अधिकारीहरूका अनुसार ‘इन्डस’ नामक सैन्य अभ्यास अन्तर्गत परीक्षण गरिएको यो मिसाइल जमिनदेखि जमिनमा प्रहार गर्न सक्ने क्षमता राख्छ र यसको मारक क्षमता ४५० किलोमिटर रहेको बताइएको छ।

पाकिस्तानले परीक्षणको स्थान खुलाएको छैन तर यो मिसाइल परमाणु तथा परम्परागत दुवै प्रकारका ५००–७०० किलोसम्मका विस्फोटक बोक्न सक्षम रहेको जनाइएको छ। अत्याधुनिक नेभिगेसन र मार्गनिर्देशन प्रणालीले यसलाई लक्षित स्थानमा सटिक प्रहार गर्न सक्षम बनाउने दाबी गरिएको छ।

सैन्य तयारी तीव्र, भारतका दुई आयुध कारखानामा बिदा रद्द

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै भारतका दुई प्रमुख आयुध कारखाना– मध्य प्रदेशको जबलपुर र महाराष्ट्रको चन्द्रपुरस्थित फैक्ट्रीमा कर्मचारीहरूको विदा रद्द गरिएको छ।

व्यवस्थापनले यो कठिन घडीमा काम निरन्तर जारी राख्न निर्देशन दिएको जनाइएको छ।

प्रकाशित: २० वैशाख २०८२ १६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App