९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्विजरल्यान्डमा मर्यादित इच्छामरणको अभ्यास

जीवनदृष्टि

समाजको विकाससँगै भिन्न भिन्न प्रकारका सामाजिक चुनौतीहरू पनि थपिने रहेछन्। आर्थिक, वातावरण वा भौतिक चुनौतीभन्दा मानिसको बुढ्यौली व्यवस्थापन चाहिँ बढी जटिल हुने रहेछ। कुनै देशको जनसांख्यिक संरचनामा आउने बदलाब र यसलाई सरकारले सही तरिकाले व्यवस्थित गर्न नसकेको अवस्थामा त बुढ्यौलीको व्यवस्थापन विकराल नै बन्दो रहेछ।

अहिलेको विश्व परिवेशमा पारिवारिक संरचनाको परिवर्तनका कारण संयुक्त परिवारको अन्त्य (आफू अलग बस्ने) र थातथलो छोडेर अन्त जाने (घुमन्ते अभ्यास) अहिलेको समाजको यथार्थ हो र यही यथार्थको एउटा जटिल र संवेदनशील पाटो अति वृद्ध, अशक्त भएर मानिसले बिताउनुपर्ने नारकीय जीवन र त्यो अवस्थामा कसैबाट यथोचित सहयोग नपाउँदाको अवस्था कहाली लाग्दो हुने रहेछ।

वृद्धावस्थामा थला परेर आफैं दिसापिसाब गर्न जान नसक्ने, बोकेर लगिदिने मानिस नहुँदा बिछ्यौना, लगाएका कपडामा दिसा पिसाब गर्नुपर्ने अवस्थाले सिर्जित दुर्गन्ध र यसै कारण कोही छेउमा समेत नआउँदा बिस्तारै शरीरका अंगहरूमा किरा पर्ने, ठुला घाउ सहेर नारकीय जीवन बिताउनुपरेकोे अवस्था देखिन्छ।

छोराछोरीले सहयोग गरौं नै भन्दा पनि उनीहरू नै वृद्धावस्थातिर लागेका हुनाले भौतिक रूपमा वृद्ध बाबुआमालाई बोकेर लैजाने, दिसापिसाब गराउने, नुहाउने, कपडा सफा गरिदिनेजस्ता भौतिक बल पर्ने काम गर्न नसक्ने अवस्था देखिएको छ।

वृद्धवृद्धामा आएका परिवर्तनका कारण उनीहरू आफ्ना कुरा मात्र भन्ने, अरूले भनेको नमान्ने वा बेवास्ता गर्ने गर्दा त्यसले उनीहरूका आफन्तमा उब्जने आक्रोश र प्रतिक्रिया, भोक लागेको समयमा चाहेअनुसार खाना खानसमेत अरूमा भर पर्नुपर्ने, आवश्यकतानुसार चर्पीमै गई दिसापिसाब गर्न नसकी बिछ्यौना वा कपडामा दिसापिसाब गर्दाको दुर्गन्ध र त्यसले घर परिवारका अरू सदस्यमा ल्याउने नकारात्मक प्रतिक्रिया वा घृणा आदि सहेर काल पर्खेर बस्नु पर्दाका छटपटी अति मार्मिक तर आधुनिक समाजका यथार्थ भएका छन्। त्यसैले संसारका केही देशले यो समस्यालाई आत्मसात गरी यसको सम्बोधन गर्ने प्रयास गरेका छन्। यो प्रयास हो मर्यादित इच्छामरण। यो सवालमा अहिले संसारभर बहस सुरु भऐको छ।

विज्ञानले अहिलेसम्म मृत्युको विकल्प दिन नसकेको अवस्थामा मर्यादित तवरले व्यक्तिले मृत्यु रोज्न पाउनु उसको आधारभूत अधिकार हो भन्ने आवाज उठेका छन्। यस्ता आवाज मूलतः पीडितबाटै उठेका छन् वा भविष्यमा यही नारकीय अवस्थाबाट गुज्रनु नपरोस् भनेर केही अधबैंसे उमेरका व्यक्तिले पनि मर्यादित इच्छामरणको आवश्यकताबारे आवाज उठाएका छन्।

संसारभर विगतमा विभिन्न कारणले व्यक्ति कोमामा रहने अवस्थामा चिकित्सकको सल्लाहमा पीडाहीन मृत्यु गराउनेबारे बहस चलेका थिए भने अहिले यो मर्यादित इच्छामरणको बहस व्यक्ति शारीरिक वा मानसिक रोग वा दुर्घटना वा अन्य कुनै कारणले आफूले समाज र परिवारलार्ई केही दिन नसक्ने तर उनीहरूको बोझ भएर नारकीय जीवन बिताउनुपर्ने अवस्था आएमा आफू यस्तो अवस्थामा बाँच्न चाहन्न भन्ने निर्णय गर्न पाउनुपर्ने र राज्यबाट त्यो निर्णयलाई विधिसम्मत ढंगले आधिकारिक तरिकाले कार्यान्वयन गर्ने प्रावधानको सुनिश्चितता हुनुपर्छ भन्नेमा पुगेको छ।

म पनि मर्यादित इच्छामरण आवश्यक छ र यसले कानुनी मान्यता पाउनुपर्छ भन्ने गहिरो मान्यता राख्छु। म अहिले ६१ वर्षको भएँ। मलाई मेरो सक्रिय जीवनपछि ओछ्यानमा थला परेर, पूर्ण रूपमा अरूको भर परेर, अशक्त भएर कुनै प्रकृतिको नारकीय जीवन बिताउन पटक्कै इच्छा छैन। म मेरो परिवारको बोझ बन्न चाहन्नँ। त्यसैले म पूर्ण रूपमा सचेत रहेकै अवस्थामा मेरो जीवनको उत्तरार्धको नारकीय जीवनको अन्त्यबारे स्वविचारसहित निर्णय गर्न चाहन्छु। त्यसैले मलाई राज्यले उचित नीति, कानुन र कार्यकारी संरचना बनाई आफ्ना नागरिकप्रति जिम्मेवार बनोस् भन्ने अपेक्षा छ।

म जस्ता मर्यादित इच्छामरणको पक्षका मानिस हाम्रो देशमै पनि धेरै होलान्। मर्यादित इच्छामरणको निर्णयले निजका परिवारका सदस्यलाई अनावश्यक तनाव र दुःखबाट मुक्ति दिनेछ भने समाजले सामाजिक समस्या बनेको ‘नारकीय जीवन बिताइरहेका अति अशक्त’बाट सिर्जना हुने सामाजिक भार थाम्नुपर्ने छैन। र राज्यले यस्ता व्यक्तिमा गर्ने खर्च बालबालिकामा गर्न सक्ने छ।

स्व. भैरव रिसाललगायत समाजका अरू केही अगुवाहरूले यो इच्छामरणको आवश्यकताबारे विगतमा आवाज उठाउनुभएपछि मलाई यसबारे चाख लागेर अध्ययन गर्न थालेँ। यही सिलसिलामा मैले समाजका विभिन्न क्षेत्रका हजारौं मानिससँग छलफल गरेँ, अशक्त वृद्धवृद्धाहरूका कुरा सुनेँ। अधिकांशको चाहना मर्यादित इच्छामरणले कानुनी मान्यता पाई अन्तिम अवस्थामा सहजतासाथ जीवन अन्त्य भइदिए वा गर्न पाए हुन्थ्यो भन्ने नै पाएँ। केवल एउटै मात्र सरोकार यो प्रावधानको दुरूपयोग हुने हो कि भन्ने रहेछ। तर यस्तो दुरूपयोग त कानुन र सचेतनाबाट रोक्न सकिने रहेछ। यसै सवालमा यो पंक्तिकारले यही नागरिक दैनिकमा २०८१ माघ २ मा ‘बहसमा मर्यादित इच्छामरण’ शीर्षकमा एक लेख पनि लेखेको थिएँ। त्यसपछि यसबारे स्वदेश र विदेशबाट धेरै सोधीखोजी भयो। चाख देखाइयो र उहाँहरूले थप जानकारी पनि पठाउनुभयो।

इच्छामरण आंशिक वा पूर्ण रूपमा विभिन्न विधि र पात्रहरूको सक्रियतामा हालसम्म १७ भन्दा बढी देशमा विभिन्न चरणमा अभ्यासमा आएको पाइन्छ। ती देश हुन्– स्विजरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, क्यानडा, अस्टे«लिया, अमेरिका (विभिन्न स्टेटमा), लक्जेम्बर्ग, स्पेन, जर्मनी, न्युजिल्यान्ड, फ्रान्स, कोलम्बिया, पोर्चुगल, इक्वेडर आदि। भारतले पनि सन् २०१६ मा सरकारले नागरिकसँग यसबारे सुझाव मागेको रहेछ।

यो आलेखमा म यिनै देशमध्ये सबैभन्दा बढी चर्चामा रहेको ‘मृत्यु पर्यटन’को केन्द्र भनेर चिनिने देश स्विजरल्यान्डमा अभ्यासमा रहेको ‘मर्यादित इच्छामरण’बारे चर्चा गर्दैछु। यही प्रसंगमा अप्रिल महिनाको दोस्रो र तेस्रो साता स्विजरल्यान्ड भ्रमण गरी स्वेच्छिक इच्छामरणबारे संकलन गरेका तथा त्यहाँका अस्पताल भ्रमण, डाक्टरहरूसँगको भेटघाटबाट संकलन गरेको जानकारीका आधारमा यो लेख तयार गरेको छु।

स्विजरल्यान्डमा इच्छामरण अस्पतालले गर्ने नभई कानुनी मान्यता प्राप्त सामाजिक संस्थाहरूले गर्ने रहेछन्। यही इच्छामरणमा विशिष्टता हासिल गरेका संस्थाले त्यहाँका अस्पताल, डाक्टर, सरकारी निकायहरूसँग नजिक रहेर समन्वयमा काम गर्दा रहेछन्।

सन् १९४२ मै अरूको सहयोगमा मृत्युवरण गर्न कानुनी मान्यता दिई अभ्यासमा ल्याएको विश्वको पहिलो मुलुक स्विजरल्यान्ड हो। यो देशको संघीय कानुनको पेनल कोडको धारा ११५ ले ‘सेल्फिस मोटिभ’ अर्थात् स्वार्थी उद्देश्यले एसिस्टेन्ट सुसाइड गर्न नपाइने तर कानुनको परिधि भित्र रही प्रक्रिया पुर्‍याएर जीवन अन्त्य गर्न दिन्छ। मर्यादित इच्छामरण कार्यान्वयनका लागि स्विस एकेडेमी अफ मेडिकल साइन्सले यो कार्यमा संलग्न डाक्टरहरूका लागि गाइडलाइन नै तयार गरी कार्यान्वयनमा ल्याएको छ।

यहाँ स्वेच्छिक इच्छामरण गराउने विशिष्ट प्रकृतिका वैधानिक सामाजिक संस्थाहरू नै छन्। तीमध्ये केही प्रमुख संस्थाहरूमा डिग्निटास, द लास्ट रिसोर्ट, एक्जिट, लाइफ सर्कल, पेगाकोस आदि हुन्। डिग्निटास एसिस्टेन्ट सुसाइडका लागि विश्वकै सबैभन्दा ठुलो संस्था रहेछ। यो संस्थाले स्वदेशी र विदेशी दुवैलाई स्वेच्छिक इच्छामरणसेवा प्रदान गर्ने रहेछ।

माथि उल्लिखित विशेषज्ञता हासिल गरेका वैधानिक सामाजिक संस्थाहरूले स्वेच्छिक मरण विभिन्न विधाको प्रयोग गरे पनि घातक औषधी प्रयोग चाहिँ बढी प्रचलित रहेछ। घातक सोडियम पेन्टोबार्बिटल इन्जेक्सन रगतबाट पठाई मृत्यु गराउने विधि बढी नै प्रचलनमा रहेछ। बेलायत, फ्रान्सलगायत विश्वका विभिन्न देशबाट यहाँ मृत्युवरण गर्न आउने रहेछन्।

 बेलायतबाट मात्र यहाँ इच्छामरण गराउन झन्डै ६ सय मानिस आउँदा रहेछन्। स्विजरल्यान्डका डिग्निटास र एक्जिटजस्ता इच्छामरण गराउने ठुला संस्थाहरूले आफ्नै विशिष्ट विधि र प्रक्रिया तय गरेका र विज्ञ तथा डाक्टरहरू राखेका रहेछन्। यस्तो मृत्युका लागि सेवावापत उनीहरूले अहिले प्रतिव्यक्ति १० हजारदेखि १० हजार पाँच सय स्विस फ्रैंक लिने गरेको जानकारी पाइयो। विदेशी हो भने यातायात, आवासलगायत अतिरिक्ति खर्च त छँदैछ।

यहाँ व्यक्तिको स्वास्थ्य अवस्थाको जटिलताका आधारमा दुवै खाले भोलेन्टरी (बिरामीको स्वीकृतिबाट) र इनभोलेन्टरी (बिरामीको स्वीकृतिबेगर) पनि मृत्युवरण गरिँदो रहेछ। हरेक वर्ष १७ सयभन्दा बढी स्विसहरूले सहायतासहितको इच्छामरण गर्दा रहेछन् भने प्रत्येक वर्ष सयौंको संख्यामा विदेशीहरू यहाँ मृत्युवरण गर्न आउने रहेछन्। यसरी आउने व्यक्तिहरूको स्विस सरकारले केवल रेकर्ड मात्र राख्ने रहेछ।

अहिले स्विजरल्यान्डमा मर्यादित इच्छामरणको खर्च कसरी घटाउने भन्नेबारे गहिरो बहस भइरहेको रहेछ भने जर्मनीमा स्वेच्छिक मरणका पक्षधरहरूले मर्न चाहने व्यक्तिले निर्णय गरेपछि अरू सर्त र प्रावधानहरू राखिनु नहुने र सरल तरिकाले व्यक्ति आफैंले लेथल इन्फ्युजनबाट जीवन अन्त्य गर्न पाउनुपर्ने वकालत गरिरहेका रहेछन्।

लचिलो स्विस क्रिमिनल कोड (फौजदारी आचारसंहिता) बाटै इच्छामरण गराउनुपर्ने यस्ता संस्थाको माग र केही अडानवादीहरूको नयाँ छुट्टै कानुन ल्याई यसलाई संघीय तहमै व्यवस्थित गर्नुपर्छ भन्ने बहस अहिले स्विजरल्यान्डमा भए पनि हालसम्म यसको कानुनी प्रावधान क्यान्टुन तहमै रहेछ।

इच्छामरण कार्यमा विशिष्टता हासिल गरेका संस्थाहरूका कारण अहिले स्विजरल्यान्डमा मृत्यु पर्यटन बढिरहेको छ र यसबाट युरोपका अरू देशमा पनि इच्छामरणमा विदेशबाट आउने व्यक्तिलाई सहजै स्विकार्ने वातावरण बनाउन दबाब परेको रहेछ।

सारांशमा बदलिँदो परिवेश र द्रूत रूपमा परिवर्तित पारिवारिक संरचनाका कारण मर्यादित इच्छामरणलाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउँदै लैजानुको विकल्प छैन। त्यसैले अब नेपालमा तत्काल थालिहाल्नुपर्ने काम चाहिँ यस्तो मृत्युका लागि आवश्यक पर्ने नीति र कानुन, कार्यान्वयन संरचना र जनचेतनाको आवश्यकताबारे गहिरो बहस नै हो।

अब नेपालमा भावावेश र उत्तेजनाले होइन, संयम र धैर्यसहित इच्छामरणलाई यथार्थमै व्यक्तिको इच्छामा मृत्यु रोज्न पाउने नीति र कानुन तर्जुमा गरी यसको कार्यान्वयन गर्ने संरचनाबाट मर्यादित इच्छामरण कार्यान्वयनमा लाग्नु नै देशको भलाइमा छ।  

प्रकाशित: १३ वैशाख २०८२ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App