सियरा लियोनको फ्रिटाउनस्थित राष्ट्रपति भवनमा शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले जनाएका छन्। आगलागीका बेला राष्ट्रपति जुलियस माडा बायो भवनमा थिएनन्। उनी सम्मेलनमा भाग लिन टर्की भ्रमणमा छन्।
दमकल सेवाका एक वरिष्ठ अधिकारीका अनुसार पाँच घण्टापछि आगो नियन्त्रणमा लिइयो। कुनै मानवीय क्षति नभए पनि भवनका कागजपत्र र फर्निचर जलेर नष्ट भए।
सूचना मन्त्रालयका अनुसार स्टेट हाउसको तेस्रो र चौथो तलामा विस्फोट भयो, तर दोस्रो तलाको राष्ट्रपतिको कार्यालयमा कुनै क्षति भएन।
स्थानीय समय अपराह्न ४:०० बजे सुरु भएको आगलागीको कारण खुलेको छैन।
सामाजिक सञ्जालका भिडियोमा भवनको माथिल्लो तलाको झ्यालबाट आगोको ज्वाला र बाक्लो कालो धुवाँ निस्किएको देखिन्छ। स्थानीय मोहम्मद कामाराले भने, ‘शनिबार साँझ भवनको झ्याल र माथिल्लो तलाबाट धुवाँ र आगो निस्किएको थियो।’
प्रहरीले भवन वरपरका सडक घेरा हालेर सुरक्षाकर्मी र सैनिक परिचालन गरेको थियो। एएफपी
प्रकाशित: ३१ चैत्र २०८१ १२:३५ आइतबार