भारत उत्तर प्रदेशको बनारसमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ। बीबीसी हिन्दीका अनुसार यो जघन्य अपराधमा संलग्न २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
प्रहरीले ६ जना अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ। उजुरीमा (मार्च २९ देखि अप्रिल ४ सम्म) उनलाई विभिन्न स्थानमा लगेर बलात्कार गरिएको उल्लेख छ। उनकी आमाले प्रहरीमा उजुरी दर्ता गरेकी हुन्।
उजुरीमा १२ जना अभियुक्तको नाम उल्लेख छ। तर ११ जनाको पहिचान अझै खुल्न बाँकी छ। प्रहरीले भारतीय दण्ड संहिताका विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ।
प्रहरी अधिकारी चन्द्रकान्त मीनाका अनुसार युवती मार्च २९ मा आफ्नो साथीको घर जान्छु भनेर गएकी थिइन्। तर अप्रिल ४ मा उनको परिवारले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दियो। सोही दिन प्रहरीले उनलाई फेला पारेको थियो। त्यतिबेला सामूहिक बलात्कारको उजुरी दर्ता भएको थिएन। डीसीपी मीनाका अनुसार अप्रिल ६ मा मात्रै परिवारले उजुरी दिएको हो।
प्रकाशित: २६ चैत्र २०८१ १४:०८ मंगलबार





