१६ चैत्र २०८१ शनिबार
image/svg+xml १७:२३ अपराह्न
अन्तर्राष्ट्रिय

थाई प्रधानमन्त्रीले जितिन् विश्वासको मत

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले संसद्‌मा विश्वासको मत जितेकी छन्। विपक्षी दलहरूले उनलाई उनका अर्बपति पिता तथा पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको कठपुतली भएको आरोप लगाएका थिए।

दुई दिनको तीव्र बहसपछि अविश्वास प्रस्तावमा सांसदहरूले ७ जना अनुपस्थित रहँदा १६२ को विपक्षमा ३१९ मतले विश्वासको पक्षमा मतदान गरे। विपक्षीले ३८ वर्षीया पेटोङटार्नको देश चलाउने क्षमता र अनुभवको कमीमाथि प्रश्न उठाएका थिए।

मतदान जितेपछि पेटोङटार्नले समर्थकहरूलाई धन्यवाद दिँदै फेसबुकमा लेखिन्, ‘पक्ष र विपक्षका सबै मतले मलाई र मन्त्रिपरिषद्लाई जनताका लागि कडा मेहनत गर्न प्रेरणा दिनेछ।’ थाई राजनीतिका प्रभावशाली तर विवादित नेता थाकसिन १५ वर्षको स्वनिर्वासनपछि सन् २०२३ मा देश फर्किएका थिए। भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा उनले प्रहरी अस्पतालमा केही महिना बिताएपछि राजाबाट क्षमादान पाएका थिए। यसले उनलाई सहुलियत दिइएको चर्चा चलेको थियो।

सन् २००१–२००६ मा शासन गरेका ७५ वर्षीय थाकसिन गरिब थाईहरूबीच अझै लोकप्रिय छन्, तर रूढिवादी शीर्ष वर्गले उनलाई भ्रष्ट र चतुर ठान्छ। पूर्वप्रधानमन्त्री श्रेत्था थाविसिनलाई अदालतले हटाएपछि थाकसिनले स्थापना गरेको फेउ थाई पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारको प्रमुख बनेर पेटोङटार्न गत वर्ष प्रधानमन्त्री बनेकी थिइन्।

बहसमा मुख्य विपक्षी पिपुल्स पार्टीका सांसद रङ्सिमान रोमले पेटोङटार्नमाथि आफ्ना पितालाई विशेष व्यवहार गरेको आरोप लगाए। उनले संसद्‌मा भने, ‘तपाईंले आफ्ना पिताको अवस्था अरू कैदीभन्दा राम्रो बनाउन राक्षसी सम्झौता गर्नुभयो। सर्त थियो– उहाँ एक दिन पनि जेलमा बस्नुहुन्न।’  पेटोङटार्नले आफू प्रधानमन्त्री हुनुअघि नै पिताले क्षमादान पाएको भन्दै यो आरोप अस्वीकार गरिन्।

विपक्षीले उनलाई कर चुहावट र गत महिना चीन फिर्ता गरिएका ४० उइगुर मुद्दा गलत तरिकाले सम्हालेको आरोप पनि लगाए। उइगुर फिर्तीले अन्तर्राष्ट्रिय आलोचना निम्त्याएको थियो र वासिङ्टनले केही थाई अधिकारीमाथि भिसा प्रतिबन्ध लगाएको थियो। एएफपी

प्रकाशित: १३ चैत्र २०८१ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App