३ चैत्र २०८१ आइतबार
image/svg+xml २३:२३ अपराह्न
अन्तर्राष्ट्रिय

कहाँ गायब भयो चामल?

जापानमा दुर्लभ मानिने एउटा रोचक लिलामी भएको छ। सबैले चासोपूर्वक हेरेको यो लिलामीको अन्तिम परिणाम सम्भवतः आइतबार सार्वजनिक गरिनेछ। यो लिलामी भने कुनै दुर्लभ चित्र वा कार बिक्रीको होइन। हामीले दैनिक जीवनमा प्रयोग गर्ने चामलको हो।

जापान सरकारले आफ्नो आपतकालीन भण्डारबाट एक लाख ६५ हजार टन चामल बेच्ने घोषणा गरेको थियो। यो भनेको लगभग दुई अर्ब प्लेट भात हो। जापानी मिडियाका अनुसार पछिल्लो समय बजारबाट अचानक दुई लाख टनभन्दा बढी चामल ‘गायब’ भएपछि सरकारले आपतकालीन समयलाई भनेर राखेको चामल लिलामीमा राखेको हो।

पछिल्लो समय जापानमा चामलको संकट बढ्दै जान थालेको छ। चामल यहाँको खानाको मुख्य स्रोत हो। जापानमा चामल अभाव हुँदै जाँदा सुपरमार्केटहरूले सर्वसाधारणले कति चामल किन्ने भन्ने सीमा लगाउन थालेका थिए भने चामलको बढ्दो मूल्यका कारण रेस्टुराँहरू पनि भातको मूल्य बढाउन बाध्य भएका थिए। यो समस्या अझै सामान्य हुन सकेको छैन।

समस्या कति गम्भीर बन्यो भने सरकारले पहिलो पटक आपतकालीन भण्डारमा रहेको चामल नै निकाल्नुपर्‍यो र त्यसलाई लिलामीमा राखी बजारमा चामलको बढ्दो मूल्यलाई कम गर्ने प्रयास गर्नुपर्‍यो। गत बुधबार चामलको लिलामी सकिएपछि जापानी कृषिमन्त्री टाकु इटोले भने, ‘जापानमा यस्तो घटना हुन पुग्यो। त्यसैले हामीले यो असामान्य स्थितिलाई सामान्यमा फर्काउन चामल लिलामीमा राख्यौं।’

यस्तो कसरी भयो?

जापानमा गएको ग्रीष्मयाममा चामलको कमी देखियो। यसको मूल कारणका रूपमा विशेषज्ञहरूले सन् २०२३ मा ग्रीष्मयाममा बढेको चर्को तापक्रमलाई दोष दिए।

हुन पनि त्यसबेला चर्को गर्मी थियो। चर्को गर्मीले बालीलाई नोक्सान पुर्‍यायो। त्यसपछि अगस्टमा प्राकृतिक प्रकोपले पनि चामलको कमी गराउन भूमिका खेल्यो। त्यसमाथि जापान सरकारले बाहिरबाट आयात हुने चामलमा निकै कडाइ गरेको छ। आयात गरिने चामलको बाढी आयो भने स्थानीय उत्पादन बिक्री नहोला भन्ने आशंकाका कारण सरकारले बढी नै कर लगाएको छ।

यसो हुँदा सीमित उत्पादन रहेको जापानी चामलको मूल्य उच्च हुँदै जान थाल्यो। गत वर्षको तुलनामा एक बोरा चामलको मूल्य दोब्बरले बढेर चार हजार येन (४२ डलर) सम्म पुग्यो। चामलको मूल्य बढ्न थालेपछि सबैतिर चर्चा हुन थाल्यो। अझै चामलको मूल्य बढ्ने आशंका हुन थाल्यो। सर्वसाधारणले चामल किन्दै घरमा जम्मा गर्न थाले। त्यसपछि त चामल किन्ने मामिलामा पनि नियन्त्रण गर्नुपर्‍यो।

त्यहीबेला जापानी सरकारले भनेको थियो– घरमा चामल जम्मा गर्नु जरुरी छैन। २०२४ मा उत्पादन हुने चामल यथेष्ट हुन्छ। उत्पादन बजारमा आउनेबित्तिकै चामलको भाउ घट्ने छ। नभन्दै चामलको पर्याप्त उत्पादन भयो। उत्पादित चामल भने बजारमा आएन। किसानले उत्पादन बजारमा नपठाई आफैंसँग राखे। अहिले सरकारले आफूसँग भएको आपत्कालीन भण्डारबाट चामल निकालेर लिलामी गर्नुको मूल कारण तिनै किसानले चामल बजारमा नपठाएर हो।

किसानले बजारमा नपठाएको चामललाई केहीले ‘गायब भएको चामल’ भनेका छन्। कसरी चामल गायब भयो भन्नेबारे अहिले विश्वविद्यालयका अध्येताका लागि चाखको विषय बन्न पुगेको छ। ‘कसरी चामल गायब भयो, त्यो कसैलाई थाहा छैन,’ क्योटो विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक शुजी हिसानो भन्छन्।

चामल कहाँ गायब भयो भन्ने सरकारभित्र र बाहिरका विशेषज्ञलाई राम्रो अनुमान छ। ‘जापानमा चामल वितरण कहाँ कसरी भइरहेको छ भन्ने पत्तो लगाउन गाह्रो भएको छ,’ प्राध्यापक हिसानो भन्छन्। सरकारले धान उत्पादनमा सीमा लगाउने गरेको छ। सीमित उत्पादनबीच आपूर्ति र मागमा आउने सानो उतारचढावले पनि बजारमा पठाउनेभन्दा पनि भण्डार गर्ने प्रवृत्तिलाई हौस्याउने प्राध्यापक हिसानोको भनाइ छ।

विश्लेषकहरूका अनुसार केही वितरकले चामललाई भण्डार गरिरहेका छन्। ‘भण्डारकर्ताहरूलाई मूल्य बढ्ने अपेक्षा छ,’ उत्सुनोमिया विश्वविद्यालयका कृषि अर्थशास्त्रका सहायक प्राध्यापक मसायुकी ओगावाको भनाइ छ, ‘केही व्यवसायी र व्यक्तिले चामललाई पैसाको खेलको रूपमा व्यवहार गर्न थालेका छन।’

त्यसो भए यो लिलामीले सर्वसाधारणलाई कत्तिको सहयोग गर्ला त ? यसको ठ्याक्कै उत्तर नभएको विश्लेषक बताउँछन्। यसको उत्तर भने आउँदा दिनले देखाउने छ। सरकारले आफ्नो रणनीतिक चामल भण्डारको एक भाग लिलामीमा बेच्ने ऐतिहासिक निर्णय गरेर आफ्नो कर्तव्य निभाएको छ।

विगतमा यो भण्डार प्राकृतिक प्रकोप वा फसल नष्ट भएको अवस्थामा आपूर्ति पूरा गर्नका लागि सुरक्षित राखिएको थियो। सर्वसाधारणले चामललाई सकेजति जम्मा गर्न थालेपछि त्यसको जवाफस्वरूप सरकारले पहिलो पटक आपत्कालीन भण्डारको चामल लिलमी गरेको हो।

सरकारले देशभरिको अभाव पूरा गर्न दुई लाख ३१ हजार टन चामल लिलामीमा राखेको थियो। यो संख्या जापानको कुल आपत्कालीन भण्डारको पाँचौंभन्दा बढी हो। यो चामल देशभरिका तीनसयभन्दा बढी स्थानहरूमा भण्डार गरिएको छ।

वितरकहरूले लिलामीमा पहिलो एक लाख ६५ हजार टन चामलका लागि डाक बढाबढ गरेका छन्। यसपछि चामल विभिन्न कम्पनीहरू र सुपरमार्केटहरूमा पुग्ने छ। यसपछि पनि चामलको माग जारी रहेको खण्डमा बाँकी ६६ हजार टन चामल लिलामीमा चढाइने जापानी कृषि मन्त्रालयले जनाएको छ।

एक अध्ययनअनुसार औसत जापानीले हरेक वर्ष ५० केजी चामल उपभोग गर्छन्। औसत अमेरिकीले वार्षिक १२ केजी चामल उपभोग गर्छन्। नेपालीले भने प्रतिव्यक्ति एक सय ३८ केजी चामल उपभोग गर्छन्। जापानीहरूको चामलप्रतिको बढी नै निर्भरता रहेका कारण आपूर्ति नबढे फेरि जम्मा गर्न थाल्ने विश्लेषकहरू बताउँछन्। यस्तो भयो भने चामलको भाउ अझै बढ्न सक्छ।

‘चामल जापानीहरूको जनजीवनको अभिन्न अंग हो’ ६२ वर्षीया तकाओ इइजुकाले टोकियोस्थित आफ्नो पसलमा चामल देखाउँदै भने, ‘अहिले जापानीहरूको मनमा एउटै कुरा खेलिरहेको छ, किन्न जाँदा चामल पाइएला कि नपाइएला ! जनतालाई यस्तो दुविधाबाट सरकारले निकाल्नुपर्छ।’

इइजुकाले कच्चा बोरामा चामल बेच्छन्। यससँगै उनी पकाएर प्लम, सामन र अन्य परिकारसहित बेच्छन्। गत महिना उनी एक डलर पर्ने भातको ढिक्काको मूल्य लगभग २० प्रतिशतले बढाउन बाध्य भए। अब चामलकै मूल्य वृद्धि भएपछि भातको मूल्य त बढ्ने नै भयो। उनले आफ्नो पसलमा तीन दशकयता यस्तो दृश्य कहिल्यै देखेका थिएनन्। आफ्नै उत्पादनले अर्को फसल उब्जिउञ्जेल पुग्ला कि नपुग्ला भनेर उनी चिन्तित छन्। पर्याप्त चामल नपाए उनी व्यापार सुक्ने सम्भावना देख्छन्। उनलाई यसअघि जसले चामल आपूर्ति गरिरहेको थियो, उसको स्टक पनि सकिएको छ।

-द न्युयोर्क टाइम्स 

प्रकाशित: ३ चैत्र २०८१ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App