१ वैशाख २०८२ सोमबार
image/svg+xml ६:११ पूर्वाह्न
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीले जेलेन्स्कीलाई भने: फर्केर ट्रम्पसँग सम्बन्ध सुधार्नुस्

ह्वाइट हाउसबाट निकालिएका जेलेन्स्की बेलायत पुगे

अमेरिकी राष्ट्रपति कार्यालय (ओभल अफिस) मा भएको तनावपूर्ण घटनापछि बेलायती प्रधानमन्त्री सर केयर स्टारमरले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ह्वाइट हाउस फर्केर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुधार्न आग्रह गरेको खुलासा भएको छ। 

शुक्रबार अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच टेलिभिजनमा प्रसारित बहसका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन जुवा खेलेको र अमेरिकाप्रति अनादर देखाएकाे आरोप लगाएका थिए। त्यसपछि युक्रेनी प्रतिनिधिमण्डललाई ह्वाइट हाउसबाट निकालिएको थियो।

द टेलिग्राफका अनुसार सोही साँझ स्टारमरले जेलेन्स्कीलाई टेलिफोन गरेर ह्वाइट हाउस फर्केर तनाव कम गर्न प्रयास गर्न आग्रह गरेका थिए। तर अमेरिकी पक्षले छलफलमा फर्कनुअघि तनाव शान्त हुनुपर्ने बताएपछि त्यो प्रयास सफल भएन।

त्यसयता जेलेन्स्कीमाथि अन्य युरोपेली नेताहरूबाट ट्रम्पसँग मेलमिलाप गर्न दबाब छ। नेटो महासचिव मार्क रुटले पनि मेलमिलापको पक्षमा जाेड दिएका छन्। रुटले बीबीसीसँग भने, 'मैले जेलेन्स्कीलाई भनेको छु: प्रिय भोलोडिमिर, तपाईंले डोनाल्ड ट्रम्प र अमेरिकी प्रशासनसँग सम्बन्ध पुनर्स्थापित गर्ने बाटो खोज्नुपर्छ। यो अगाडि बढ्न निकै महत्त्वपूर्ण छ।'

उनले जेलेन्स्कीलाई सन् २०१९ मा ट्रम्पले युक्रेनलाई जाभेलिन एन्टी-ट्यांक हतियार प्रदान गरेको स्मरण गराए। 'सन् २०२२ मा रूसको पूर्ण आक्रमण सुरु हुँदा जाभेलिन हतियारबिना युक्रेन निकै कमजोर हुने थियो,' उनले भने। 'मैले उनलाई भनेको छु, हामीले ट्रम्पले त्यतिबेला गरेको योगदान, त्यसयता अमेरिकाले गरेको सहयोग र अझै गरिरहेको सहायतालाई सम्मान गर्नुपर्छ।'

ट्रम्पले जेलेन्स्कीमाथि गरेका व्यक्तिगत टिप्पणीबारे रुटले थप बोल्न चाहेनन्। उनले भने, 'म पूर्ण विश्वस्त छु कि अमेरिका युक्रेनलाई दिगो शान्तितर्फ लैजान चाहन्छ। त्यहाँ पुग्न हामी सबैले मिलेर काम गर्नुपर्छ।'

जेलेन्स्कीले पनि अमेरिकी सम्बन्ध सुधार्ने प्रयास गरेका छन्। एक बयानमा उनले ट्रम्पको बारेमा भनेका छन्, ‘कठिन संवादको बावजुद, हामी रणनीतिक साझेदार बनेका छौँ। तर हाम्रा साझा लक्ष्यहरूलाई साँच्चै बुझ्नको लागि हामीले एकअर्कासँग इमानदार र प्रत्यक्ष हुनु आवश्यक छ।’

उनले सामाजिक सञ्जालमा लेखे, ‘राष्ट्रपति ट्रम्पको समर्थन हाम्रो लागि महत्त्वपूर्ण छ। उहाँ युद्ध अन्त्य गर्न चाहनुहुन्छ। हामी भन्दा बढी शान्ति अरू कसैले चाहँदैन। हामी नै युक्रेनमा यो युद्धमा बाँचिरहेका छौं। यो हाम्रो स्वतन्त्रताको लागि, हाम्रो अस्तित्वको लागि लडाई हो।’

ट्रम्पसँगको तनावपूर्ण भेटपछि जेलेन्स्की हाल बेलायत पुगेका छन्। स्टारमरले उनलाई स्वागत गर्दै भने, 'तपाईंलाई डाउनिङ स्ट्रिटमा हार्दिक स्वागत छ।' शनिबार दुई नेताले न्यानो अँगालो हाले। स्टारमरले भने, 'बाहिर सडकमा सुनिएको जयजयकारले देखाउँछ, तपाईंलाई बेलायतभरि पूर्ण समर्थन छ। जति समय लागे पनि हामी तपाईं र युक्रेनसँगै उभिनेछौं।'

उनले जेलेन्स्कीलाई बेलायतको पूर्ण दृढताको आश्वासन दिए। ट्रम्पसँगको तिक्ततापछि जेलेन्स्कीले युरोपेली साझेदारहरूको साथ खोजिरहेका छन्। त्यसैले उनी अमेरिकाबाट बेलायत पुगेका हुन्। ट्रम्प प्रशासनले अहिलेसम्म रूस–युक्रेन युद्धमा शान्ति कायम गर्न भइरहेका वार्तामा युरोप र युक्रेनलाई बाहिर राखेको छ। डाउनिङ स्ट्रिटमा जेलेन्स्कीले स्टारमरलाई भने, 'हामी तपाईंको समर्थनमा भरोसा गर्छौं र यस्ता साझेदार एवं मित्रहरू पाउँदा साँच्चै खुसी छौं।' उनले युद्धको सुरुदेखि नै ठूलो सहयोग गरेकोमा बेलायतको प्रशंसा गरे।

दुई नेताले युक्रेनी सेनाका लागि २.२६ अर्ब पाउण्डको ऋण सम्झौतामा हस्ताक्षर गरे, जुन जफत गरिएको रूसी सम्पत्तिबाट तिरिनेछ। स्टारमरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलन आयोजना गर्नेछन्। सम्मेलनले रूस-युक्रेन युद्ध अन्त्य गर्ने र युरोपेली रक्षालाई बलियो बनाउन प्रयास गर्नेछ। जेलेन्स्कीले बेलायती राजा चार्ल्स तृतीयलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १८ फाल्गुन २०८१ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App