९ वैशाख २०८२ मंगलबार
image/svg+xml ११:२९ पूर्वाह्न
सम्पादकीय

सुखद २०८२!

नयाँ शब्द आफैंमा जिज्ञासापूर्ण हुन्छ। यसले आशा र भरोसा बोकेकै हुन्छ। बितेको पलमा गर्न नसकेका कामलाई सम्झँदै समुन्नत, समृद्ध र अग्रगामी यात्राको अपेक्षा गरिन्छ यो अवसरमा। यो यस्तो अवसर हो, जोसुकैले फेरि एकपटक सिर्जनात्मक भएर सोच्छन् र यात्रा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्छन्। जसरी वसन्तमा नयाँ पालुवा पलाउँछन्, त्यसैगरी यो वासन्ती समयमा फेरिने नयाँ पात्रोले फेरि पनि आशाका नयाँ मुजुरा पलाउँछन्। नयाँ वर्ष यस्तै नयाँपनको अर्को दिन हो।

हामी नेपाली यतिबेला नववर्ष २०८२ को पहिलो दिनको स्वागतका निम्ति तत्पर भएका छौं। नयाँ वर्षमा पात्रो मात्र फेरिँदैन, आकाङ्क्षाका नयाँ पालुवा पनि पलाउँछन्। नयाँ योजना यसै दिनबाट बन्छन्। असल काम थाल्ने र खराबलाई छाड्ने प्रतिज्ञाको दिन पनि हो यो। धेरैले अब आफूलाई परिवर्तन गर्ने सोच र समझदारी बनाउँछन्। वर्षभरि जेजस्ता दुःख आइपरे पनि, आफन्तजनसँग बिछोडिए पनि र परिजन टुटे पनि फेरि नयाँ धारबाट जीवन अघि बढाउने असीम चाहना यतिबेला प्रतिबिम्बित हुन्छन्। यस दिन नयाँ ठाउँ घुम्ने, सम्बन्धलाई नवीकरण गर्ने र सकारात्मक भाव राखेर अगाडि बढ्ने चाह सबैमा हुन्छ।

बितेको वर्ष २०८१ हाम्रा निम्ति मिश्रित उपलब्धिको समय रह्यो। यो वर्ष अर्थतन्त्रलाई लयमा ल्याउन निकै संघर्ष गर्नुपरेको छ। यो वर्ष संविधान निर्माणको एक दशक पुग्दैछ। २०७२ सालमा भूकम्प आएर जनधनको ठुलो क्षति गरेको पनि दशक पुगेको वर्ष हो यो। अर्थतन्त्रलाई भूकम्प, संविधान जारी भएपछिको भारतीय नाकाबन्दी, त्यसपछि आएको कोभिड–१९को त्रासद समय आदिले नराम्ररी धक्का दिएको छ। एकपछि अर्को प्रतिकूल परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पारेको प्रभावबाट निस्किन गत वर्ष पनि सकिएन। यस अर्थमा पनि नयाँ वर्षप्रति आशा र अपेक्षा हुनु स्वाभाविक हो।

मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था छ। यसले बढीभन्दा बढी नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्न सक्नुपर्छ। लोकतन्त्र प्रक्रियामा केही ढिलो हुन्छ। त्यसमा पनि यसलाई सञ्चालन गर्ने राजनीतिक नेतृत्वको सुझबुझ त्यतिकै आवश्यक हुन्छ। सर्वसाधारणको जीवनमा सकारात्मक परिणाम आउन सकेन भने जस्तोसुकै शासन व्यवस्थाले पनि मुलुकमा स्थायित्व दिन सक्दैन। यसकारण पनि शासनशैलीमा परिवर्तन गर्दै अगाडि बढ्नुको विकल्प छैन। यस्तो अवस्थामा स्वार्थका रोटी सेकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास प्रतिगमनकारी कित्ताबाट भइरहेको छ। यस्तो परिस्थितिबारे लोकतान्त्रिक गणतन्त्रका पक्षधरले राम्ररी बुझ्नेछन् भन्ने अपेक्षा गर्नु अन्यथा हुने छैन।

बितेका वर्षहरूमा भएका कमजोरी र गल्तीबाट सिक्दै आगामी वर्षलाई समृद्ध बनाउनु सबैको कर्तव्य हुन आउँछ। देशमा केही भएन भन्ने भाष्यलाई बलियो बनाउन थालिएको छ। त्यति धेरै नकारात्मक हुनुपर्दैन। चारैतिर नकारात्मकता मात्र छैन, सकारात्मक ढंगले पनि समय अगाडि बढिरहेको छ। सूचना प्रविधिको विकासले संसारलाई एउटा परिवारमा परिणत गरिसकेको छ। मानिसले हिजोभन्दा आज बढ्ता सुख पाएका छन्। नयाँनयाँ खोज र अन्वेषण भइरहेका छन्। यस्ता पक्षमा नेपालले पनि हातेमालो गर्न आफूलाई तयार पार्नुपर्छ। आजको दुनिया व्यापारमा जोडिएको छ। आफूले किन्ने मात्र होइन, बेच्ने पनि केही वस्तु अवश्य बनाउनुपर्छ। आजको दिनमा सामान्य वस्तुको मात्र उत्पादन होइन, सूचना प्रविधिमा आधारित कामलाई  बढाउन सकिन्छ।

त्यसैले यो नयाँ वर्षमा हामीले गर्नुपर्ने प्रण भनेको आफ्नै मुलुकमा केही गरेर देखाउँछौं र नेपाल आमालाई हँसाउँछौं भन्ने नै हो। आखिर हामी जस्तोसुकै अवस्थामा पनि खुसी रहन सक्छौं भन्ने त ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट २०२५’ अनुसार दक्षिण एसियाका राष्ट्रबीच सबैलाई उछिनेर प्रमाणित नै गरिसकेका पनि हौं। नयाँ वर्षले नेपाललाई विश्व रंगमञ्चमा अगाडि बढ्न र प्रगति गर्न प्रेरणा दिन सकोस्। नेपाल सधैं अविकसित भनिनबाट अभिशप्त छ। नेपाल सानो छैन। यसलाई उद्योगधन्दा, अन्वेषण र प्रगतिबाट थप विशाल बनाउन सकिन्छ। नयाँ वर्षले चौतर्फी प्रगतिका साथ अझै खुसी हुने अवसर उपलब्ध गराओस्, सम्पूर्ण नेपालीमा शुभकामना !

प्रकाशित: १ वैशाख २०८२ ०५:५५ सोमबार

Download Nagarik App
Download Nagarik App