भारतमा दोहोरो भिडन्तमा परी तीन माओवादी विद्रोही लडाकु महिला मारिएका छन्। भारतको मध्य प्रदेशको बालाघाट जिल्लामा बुधवार प्रहरीसँग भएको मुठभेटमा परी तीन जना महिला माओवादी लडाकु मारिएको बिबिसी हिन्दीले लेखेको छ।
मृत्यु भएका विद्रोही लडाकुको शव प्रहरीले बरामद नै गरेको जनाएको छ। यस्तै भिडन्तमा धेरै माओवादी लडाकु घाइते भएको पनि समाचारमा उल्लेख छ। भिडन्तपछि घटना आसपासको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ।
उक्त भिडन्तमा मध्य प्रदेश प्रहरीको माओवादी विरुद्ध गठन गरिइको स्पेसल होक फोर्स, सिआरपिएफको कोबरा बटालियन र जिल्ला पुलिस बलको टिम सहभागी रहेको जनाइएको छ।
भिडन्तपछि मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले पुलिसलाई बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गृहमन्त्री अमित शाहले सन् २०२६ सम्म माओवादी आन्दोलन खतम गर्ने अभियान चलाएको बारे ध्यानाकर्षण गराए।
भिडन्तमा प्रहरीले एक इन्सास राइफल, एक एसएलआर राइफल र एक ३०३ राइफल पनि बरामद गरेको समाचारमा उल्लेख छ।
सरकार तथ्यांकअनुसार सन् २०१८ सम्म मध्य प्रदेशको बालाघाट जिल्ला मात्रै माओवादी आन्दोलनबाट प्रभावित थियो। त्यसपछि मण्डला जिल्ला र सन् २०२१ मा डिन्डोरी जिल्लालाई पनि सरकारले माओवादी प्रभावित घोषणा गरेको छ।
प्रकाशित: ७ फाल्गुन २०८१ १९:०९ बुधबार





