अमेरिका भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि व्यक्तिगत रूपमा सफल देखिए पनि भारतका लागि कुनै ठोस लाभ नदेखिएको टिप्पणी भइरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई पुरानो मित्र भन्दै याद गरेको भए पनि, भारतले यो भ्रमणबाट जुन अपेक्षा गरेको थियो, त्यो प्राप्त हुन नसकेको टिप्पणीकारहरूको मत छ।
अमेरिकाले आफूलाई अरूलाई भन्दा फरक व्यवहार गरोस् भन्ने भारत र मोदीको अपेक्षा थियो। तर ट्रम्पले त्यस्तो गरेनन्। चीनलाई काउन्टर गर्न अमेरिकाका लागि भारत महत्वपूर्ण साझेदार हो, तर ट्रम्प व्यापार भन्दा अरु कोणबाट देशहरूसँगको सम्बन्ध हेरिरहेका छैनन्। पछिल्लो मोदी–ट्रम्प भेटले व्यापार, रक्षा, ऊर्जा, र कूटनीतिक सहयोगलाई बढावा दिने केही महत्वपूर्ण कदमहरू उठायो, तर भारतले यसबाट कुनै ठोस लाभ प्राप्त गर्न नसकेको जानकारहरूको तर्क छ। जसले भारतलाई आफ्नो आर्थिक र कूटनीतिक रणनीति पुनर्विचार गर्न बाध्य तुल्याएको छ।
व्यापार घाटा कम गर्ने घोषणा
अमेरिकासँगको व्यापारमा भारत नाफामा छ। त्यो विषयमा ट्रम्पले बारम्बार उठाइरहेका थिए। यो भेटमा ट्रम्पले आफ्नो व्यापार घाटा कम गर्ने विषय उठाएका थिए। जसका लागि भारतले अमेरिकाबाट विशिष्ट सैन्य उपकरण र ऊर्जा स्रोत खरिद गर्ने घोषणा गरेको छ। यसमा एफ–३५ लडाकु विमान, तेल, र ग्यास समावेश छन्। यो कदमले भारतलाई अमेरिकी उत्पादनहरूमा बढी निर्भर बनाउन सक्छ भन्ने खालका टिप्पणीहरू भइरहेका छन् ।
पारस्परिक कर्तव्य
ट्रम्पले अमेरिकी सामानमा भारतले लगाइरहेको ट्यारिफ-आयात कर)को विषय पनि महत्वपूर्ण ढंगले उठाएका छन्। ‘पारस्परिक कर्तव्य’ भन्दै ट्रम्पले अमेरिकी सामानमा भारतले जति ट्यारिफ लगाएको छ, भारतीय सामानमा अमेरिकाले पनि त्यही ट्यारिफ लगाउने भनेका छन्। यसले दुई देशबीचको व्यापारिक सम्बन्धलाई जटिल बनाउन सक्ने देखिएको छ। किनभने यसले भारतीय उत्पादनहरूलाई अमेरिकी बजारमा प्रतिस्पर्धी बनाउन कठिन बनाउने देखिन्छ। जसले भारतीय निर्यातमा ह्रास आउन सक्छ।
बिहीबार मोदीसँग भेटघाट गर्नु अघि ट्रम्पले सबै देशहरूमा पारस्परिक कर लगाउने कुरा गरेका थिए।‘भारत होस् वा अन्य कुनै देश फरक पर्दैन, उनीहरूले हामीमाथि लगाएको शुल्क हामी उनीहरूमथि लगाउने छौँ’, ट्रम्पले भनेका छन्, ‘हालै प्रधानमन्त्री मोदीले भारतको अनुचित र धेरै कडा ट्यारिफहरू घटाउने घोषणा गरेका छन्, जसले भारतीय बजारमा अमेरिकी पहुँचलाई कम गर्छ। र म भन्न चाहन्छु कि यो ठूलो समस्या हो।’
अवैध भारतीय आप्रवासी समस्या
मोदीले अमेरिकामा गैरकानुनी रूपमा बस्ने भारतीयहरूलाई फिर्ता लैजाने प्रस्ताव राखेका छन्। जसले दुई देशबीचको आप्रवासी सम्बन्धलाई सुधार गर्ने र मानव तस्करी रोक्ने दिशामा एक कदम हुन सक्छ। अमेरिकामा गैरकानुनी रूपमा बस्ने भारतीयहरूको सम्बन्धमा मोदीले भने, ‘यस विषयमा हाम्रो धारणा एउटै छ र त्यो हो कि अमेरिकामा गैरकानुनी रूपमा बस्ने कुनै भारतीयको प्रमाणीकरण भएमा उनीहरूलाई भारत फिर्ता लैजान हामी पूर्ण रूपमा तयार छौँ।’ कतिपय आप्रवासीलाई मानव तस्करले ल्याइदिएको र उनीहरूलाई अमेरिका लगिएको पनि थाहा नहुने मोदीले बताए। उनले भने, ‘उनीहरू सामान्य परिवारका हुन्, उनीहरूलाई ठूला सपना देखाइन्छ र ठूला–ठूला वाचा गरिन्छ।’
तहव्वुर राणाको सुपुर्दगी
भारत र अमेरिकाले इस्लामिक चरमपन्थी आतंकवाद विरुद्ध सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसको एक महत्वपूर्ण पक्षको रूपमा मुम्बई हमलाका मास्टरमाइन्ड मानिएका तहव्वुर राणालाई सुपुर्दगी गरेर भारतलाई बुझाउन दुवै देश सहमत भएका छन्। ‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि हाम्रो प्रशासनले विश्वको सबैभन्दा खराब मानिसमध्ये एकको सुपुर्दगीलाई अनुमोदन गरेको छ’, सहमतिपछि ट्रम्पले भनेका छन्, ‘अब उनलाई कानुनी कारबाहीका लागि भारत पठाइनेछ। हामी तत्कालै भारतलाई बुझाउँछौँ।’ यसले भारतलाई आतंकवाद विरुद्धको लडाइँमा न्यायिक औचित्य र सहयोग प्रदान हुने विश्लेषण भारतमा हुने गरेको छ।
आणविक ऊर्जा सहयोग
आणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्न अमेरिका र भारत सकारात्मक देखिएका छन्। अमेरिकी आणविक प्रविधिलाई भारतीय बजारमा स्थान दिन नीतिगत सुधार गर्न भारत तयार रहेको ट्रम्पले बताए। यसले भारतको ऊर्जा सुरक्षालाई सुदृढ गर्न सहयोग पुग्ने र दुवै देशको पर्यावरणीय लक्ष्य पूरा गर्न मद्दत पुग्ने दाबी गरिएको छ।
रक्षा, तेल र ग्यास
अमेरिका र भारतबीच तेल र ग्यासका लागि एक नयाँ सम्झौता भएको छ। जसले अमेरिकालाई भारतको प्रमुख आपूर्तिकर्ता बनाउने सम्भावना छ। यस सम्झौताले व्यापार घाटा कम गर्ने योजनाको भाग हो। रक्षा क्षेत्रमा भारतले एफ-३५ जेट सहित विभिन्न रक्षा सामग्री खरिद गर्ने तयारी गरेको छ । जसले दुई देशको रक्षा साझेदारीलाई उचाइमा पुर्याउनेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई भारतसँगको अमेरिकी व्यापार घाटा (४५ अर्ब डलर) घटाउने योजनाको हिस्सा भएको भनेका छन्।
व्यापार
दुई देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारलाई ५ खर्ब डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेका छन्। यसका लागि, विभिन्न व्यापार सम्झौता र रक्षा खरिद जस्ता विषयहरूमा छलफल भएको छ ।
बंगलादेशमा सत्ता परिवर्तन
ट्रम्पले बंगलादेशमा भएको सत्ता परिवर्तनमा अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नभएको स्पष्ट पारे। यसै सन्दर्भमा मोदीले भारत लामो समयदेखि यस विषयमा काम गरिरहेको बताए। ट्रम्पले बंगलादेशलाई मोदीले सम्हाल्ने तर्क गरेका छन्। बंगलादेशमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्त ५ मा देश छाडेर अहिले भारतमा बस्दै आएकी छन्। अहिले बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। बंगलादेशको वर्तमान सरकारले शेख हसिनालाई स्वदेश फिर्ता पठाउन भारतसँग पटक पटक माग गरेको छ।
भारत तटस्थ छैन
ट्रम्पसँगको भेटमा मोदीले रुस-युक्रेन विवादमा भारतलाई तटस्थ नभएको र शान्तिको पक्षधर रहेको बताए। उनले रुस र युक्रेन दुवैसँग वार्ता गर्ने आह्वान गरे । यस्तै मोदीले ट्रम्पको युद्ध अन्त्य गर्ने प्रयासको प्रशंसा गरे। एजेन्सीको सहयोगमा
प्रकाशित: २ फाल्गुन २०८१ १९:५७ शुक्रबार