६ चैत्र २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा हसिनाका समर्थकको प्रदर्शनअघि फेरि हिंसा, उनका बुबाको घरमा तोडफोड र आगजनी

अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शन अघि बुधबार अबेर राति बंगलादेशका धेरै शहरहरूमा फेरि हिंसा भड्किएको छ। बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान ‘बंगबन्धु’, पूर्वप्रधानमन्त्री शेख हसिनाका पिताको ढाकास्थित धानमण्डी–३२ स्थित निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।

यस्तै प्रदर्शनकारीहरूले खुलनामा शेख हसिनाका काका शेख सोहेल र शेख जेवेलको घरलाई दुईवटा बुलडोजरले भत्काइ दिएका छन्। सामाजिक सञ्जालमा ‘बुलडोजर जुलुस’ घोषणा गरेपछि हिंसा भएको हो। आक्रमण हुँदा त्यहाँ सुरक्षाकर्मी पनि उपस्थित थिए। भीडलाई त्यहाँबाट छोड्न मनाउन प्रयास गरियो, तर सबै प्रयास असफल भएको सञ्चार माध्यमहरूले जनाएका छन्।

केही प्रदर्शनकारीहरू निवास र संग्रहालयमा पनि प्रवेश गरेका छन्। बालकनीमा चढेर तोडफोड गरे भने घरमा आगजनी समेत भएको बताइएको छ। यस घटनाका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

किन भड्कियो हिंसा?

शेख हसिनाको पार्टी अवामी लिगले आफ्ना कार्यकर्ता र नेताहरूलाई फेब्रुअरी ६ मा सडकमा आउन अपील गरेको थियो। पार्टीले पूर्वप्रधानमन्त्री हसिनामाथि कथित मुद्दा दर्ता गर्न र अल्पसंख्यकमाथि आक्रमणको विरोधमा जुलुस निकाल्न आह्वान गरेको थियो।

शेख हसिनाले बंगलादेश छोडेको हिजो बुधबार ६ महिना पूरा भएको छ। शेख हसिनाले राति ९ बजे आफ्ना समर्थकहरूलाई अनलाइन भाषण दिने कार्यक्रम थियो।

यसअघि ‘२४ क्रान्तिकारी विद्यार्थी-जनता’ नामको विद्यार्थी संगठनले यसको विरोधमा राति ९ बजे ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेको थियो। यसका लागि सामाजिक सञ्जालमा प्रचारप्रसार गरिएको थियो। त्यसमा शेख हसिनाका बुवाको घर भत्काउने भनिएको थियो तर प्रदर्शनकारीहरू ८ बजे शेख मुजिबुर रहमानको घर धानमण्डी–३२ पुगेर भत्काउन थालेका थिए।

 ‘शेख हसिनालाई फाँसी देऊ’ नारा

प्रदर्शनकारीहरूले शेख मुजिबुर रहमानको घरको मुख्य गेट तोडेर भित्र पसेका थिए। त्यही क्रममा उनीहरूले ‘फाँसी देऊ, फाँसी देऊ। शेख हसिनालाई फाँसी देऊ‘ जस्ता नारा लगाएका थिए। आन्दोलनकारीले मुजिबुर रहमानको घर ‘फाँसीवादीहरूको गढ’ भएको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताएका थिए। एजेन्सी

प्रकाशित: २४ माघ २०८१ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App