२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासले छाड्याे तीन इजरायली बन्धक: ‘नर्कबाट बाँचेको’ भन्दै खुसीयाली

‘यहाँ आज ठुलो दिन छ, म भन्दा खुसी कोही छैन’

शनिवार अमेरिकी–इजरायली नागरिक महिला अविभा सिगलले सामाजिक सञ्जालमा लेखेकी छन्। उनलाई इजरायली सेनाले लत्ताकपडालगायतका व्यक्तिगत सामानसहित तयार रहन भनेको छ। ‘म सबै चीजहरू लिएर तयार बसेकी छु,’ हातमा झोला देखाउँदै उनले भिडिओमा भनेकी छन्।  

अविभाले यति खुसी हुँदै ‘ठुलो दिन’ भन्नुको कारण उनका पति किथ सिगल जीवितै घर आउन लागेकामा हो। सिगल परिवारसँग अमेरिका र इजरायल दुवैतिरको नागरिकता छ। 

किथ ७ अक्टोबर २०२३ देखि प्यालेस्टाइनी सशस्त्र समूह हमासको कब्जामा थिए। त्यसयताका ४८४ दिन अविभाका लागि कम्ती पिडादायी थिएनन्। उनका पति किथ मर्ने–बाँच्ने केही ठेगान थिएन्। 

शनिवार हमासले किथलाई रिहा गर्ने सूचना पाएदेखि नै अविभाका लागि खुसीको कुनै सीमा बाँकी थिएन। तर, आधिकारिक रूपमा रिहा नभएसम्म भन्न सकिने अवस्था थिएन्। 

यस क्रममा बिहान हमासका लडाकुले गाजापट्टीमा ६५ वर्षीय किथलाई ल्याएर स्टेजमा लगेर देखाए। गाजा सहरको भीडलाई हात हल्लाए, त्यो भिडिओ तेल अभिभको होस्टेज स्क्वायरमा भेला भएको भीड हेरिरहेको थियो। 

त्यसपछि हमासले उनलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो। रेडक्रसले गाडीमा हालेर हिँडाएपछि मात्र अविभामा असीमित खुसीको सञ्चार दौडिएको हो। 

किथ मात्र होइन, शनिवारै थप दुई इजरायली बन्धक ओफर काल्डेरोन र यार्डेन बिबसलाई हमासले छाडेको छ। काल्डेरोन र बिबसलाई गाजाकै खान युनिसमा रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको छ। 

यस्तै काल्डरोनका परिवारले उनी ‘नर्कबाट बाँचेको’ भन्दै खुसीयाली मनाइरहेका छन्। काल्डरोन अक्टोबर ७ मा छोरी र छोरासँगै हमासको अपहरणमा परेका थिए। छोरी र छोरा भने २०२३ नोभेम्बरको युद्धविराममा छुटेका थिए।

अहिले उनका परिवारले ‘खुसी, राहत र भावनाले अभिभूती’ गरेको बतएका छन्।  

रिहा भएका तीनै जना बन्धकलाई इजरायल पुर्‍याइएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूको स्वास्थ्य परीक्षणको काम चलिरहेको छ। स्वास्थ्य परीक्षणपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने छ। 

प्रकाशित: १९ माघ २०८१ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App