चीनको पहिलो कोर्गी जातको पुलिस कुकुर ‘फुजाई’ ले जागिरमा सुत्ने बानी र आफ्नै खाना राख्ने भाँडोमा पिसाब गरेपछि ‘वर्षान्त बोनस’ गुमाएको छ। यस घटना चिनियाँ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
फुजाई २०२३ को अगस्ट २८ मा जन्मिएको हो। फुजाई दुई महिनाको हुँदा एक व्यक्तिले पार्कमा घुमाउन लगेका थिए। सोही क्रममा चाङले काउन्टी पब्लिक सेक्युरिटी ब्युरोका प्रहरी कुकुर प्रशिक्षक झाओ छिङसुआईले फुजाईको प्रतिभा देखे। उनको अनुरोधमा कुकुरका मालिकले फुजाईलाई शान्दोङ प्रान्तको वेइफाङस्थित प्रहरी कुकुर तालिम केन्द्रलाई दान गरे।
चार महिनाको उमेरमा फुजाईले विस्फोटक पहिचान गर्ने रिजर्भ प्रहरी कुकुरको रूपमा तालिम सुरु गर्यो। तीन महिनाभित्रै यसको मुस्कान, छोटा खुट्टा, र उत्कृष्ट सुँघ्ने क्षमताका कारण यो इन्टरनेटमा भाइरल बन्यो।

अक्टोबर २०२४ मा फुजाईले आफ्नो रिजर्भ स्टेटसबाट पदोन्नति पाउँदै पूर्ण प्रहरी कुकुरको रूपमा प्रमाणपत्र प्राप्त गर्यो। वेइफाङ प्रहरी प्रशासनद्वारा सञ्चालन गरिने ‘कोर्गी पुलिस डग फुजाई एन्ड इट्स कम्रेड्स’ नामक सामाजिक सञ्जाल एकाउन्टमा फुजाईको कथा सार्वजनिक गरियो। अहिले उक्त एकाउन्टमा ३.८ लाखभन्दा बढी फलोअर्स छन्।
जब कुकुरको बोनस खोसियो..
जनवरी १९ मा पोस्ट गरिएको एक भिडियोमा फुजाईले २०२४ भरि गरेको उत्कृष्ट प्रदर्शनबारे जानकारी दिइएको थियो। यस अवधिमा उसले थुप्रै सुरक्षा कार्यहरू सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। यसको योगदानलाई कदर गर्दै प्रहरी अधिकारीहरूले फुजाईलाई रातो फूल, खेलौनाहरू, र स्वादिला स्न्याक्स उपहार दिए।

भिडियोमा एक प्रहरी अधिकृतले भनेका छन्, ‘फुजाई, तिमीले यो वर्ष निकै राम्रो काम गर्यौं। तिमीले लेभल-४ प्रहरी कुकुर मूल्यांकन पास गर्यौ। सुरक्षा कार्यहरू पूरा गर्न मात्र होइन, तिमीले वेइफाङ प्रहरी कुकुर विभागको प्रतिष्ठा बढाउन पनि ठूलो योगदान गर्यौ। त्यसैले हामी तिमीलाई सम्मानस्वरूप रातो फूल, केही क्यान्ड स्न्याक्स, र खेलौनाहरू प्रदान गर्छौं।'
उनले थपे, ‘तर, पछिल्लो समय तिमी काम गर्दा धेरै थाक्ने मात्र होइन, आफ्नै खानाको भाँडोमै पिसाब गर्न थालेका छौ। त्यसैले तिम्रो बोनस काटिएको छ। अब तिमीले स्न्याक्स पाउने छैनौ, तर रातो फूल चाहिँ राख्न पाउने छौ।’
त्यसपछि एक महिला प्रहरी अधिकारीले खेल्दै-खेल्दै फुजाईको ‘स्न्याक्स’ खोस्छिन्।
यो रमाइलो भिडियोले इन्टरनेटमा ठुलो चर्चा पायो। एक प्रयोगकर्ताले लेखे, ‘बिचरा फुजाई! उसले वर्षभरि मेहनत गरेर काम गर्यो, अन्त्यमा बोनस गुमायो। मलाई आफ्नै कथा जस्तो लाग्यो।’
अर्काले प्रयोगकर्ताले भनेका छन्, ‘फुजाईले आफ्नै भाँडोमा मात्र पिसाब गर्यो, साहुको भाँडोमा होइन। कसैले यसको साटो सजाय भोगोस् र बोनस फिर्ता गरियोस् !’
सोसल मिडियामा व्यापक प्रतिक्रिया आएपछि प्रहरी प्रशासनले अर्को भिडियो पोस्ट गर्दै भन्यो, ‘चिन्ता नलिउँ ! बोनस काटिए पनि फुजाईलाई चाडपर्वका लागि विशेष उपहार दिइएको छ।’
फुजाईलाई प्रदान गरिएको उपहारमा प्रशान्त महासागरको माछा, कद्दू सुप, रङ्गिन म:म, खरायोको मासुबाट बनेका बल्स, र कुकुरमैत्री ‘बुद्धा जम्प्स ओभर द वाल’ नामक प्रसिद्ध चिनियाँ व्यञ्जन समावेश थियो।
यस अनौठो घटनाले सामाजिक सञ्जालमा मनोरञ्जनको माहोल सिर्जना गरिदिएको छ।
प्रकाशित: १७ माघ २०८१ १६:४४ बिहीबार