आगामी २१ फागुनमा कांगेसका सहमहामन्त्री योगेन्द्र चौधरी पहिलो जितको खोजीमा रहँदा दाङ क्षेत्र नम्बर १ मा अर्का उम्मेदवार मेटमणि चौधरी ‘ह्याट्रिक’ जित निकाल्ने दाउमा रहने छन् । नेपाली कम्यूनिष्ट पार्टीबाट यो क्षेत्रमा अहिले भिडेका मेटमणि २०७४ मा एमालेबाट, २०७९ मा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित भैसकेका नेता हुन् ।
२०७९ को निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धनका आधारमा सहज जीत निकालेका उनलाई कांग्रेस उम्मेदवार योगेन्द्रसंगको मुकाबिला अहिले त्यति सहज आकलन गरिएको छैन । थारु बाहुल्य मतदाता रहेको यो क्षेत्रमा दुबै थारु उम्मेदवार आमनेसामने हुँदा यो भिडन्त रोचक बन्ने देखिन्छ ।
दाङ १ मा गत निर्वाचनमै कांग्रेसका तर्फबाट बलिया उम्मेदावारका रुपमा अघि सरेका थिए योगेन्द्र । तर कांग्रेसले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसंग चुनावी तालमेल गरिदिएपछि चुनावी मैदानमा उत्रने योगेन्द्रको योजना तुहियो, मेटमणीको समर्थकका रुपमा चुनावी प्रचारमा खटिनु पर्यो उनलाई । तर अहिले बदलिएको कांग्रेस राजनीतिले योगेन्द्रलाई चुनावी मैदानमा होमिने अवसर मिलेको मात्रै छैन, जीतका लागि उत्तिकै सम्भावित हकदार बन्न सक्ने लख समेत काटिएको छ ।
आसन्न निर्वाचनमा दुबै थारु उम्मेदवारको नजर यो क्षेत्रको थारु मतमाथि पर्ने छ । थारु मतलाई आफ्नो पोल्टामा पार्न सके सहज जीत निकाल्न सकिनेमा बिश्वस्त यि दुइ उम्मेदवारहरुले थारुहरुका एजेण्डालाई कसरी बलियो बनाउने भन्ने रणनीतिमा छन् । लगातार दुइ पटक चुनाव जितिसकेका कारण थारु मत आफ्नो पक्षमा पर्ने दृढ बिश्वासमा देखिन्छन् मेटमणी । तर थरुहट आन्दोलनबाट थारुहरुमा अधिकार प्राप्तीको चेतको विकास गर्ने नेता योगेन्द्र मेटमणीका लागि पेचिला बन्ने छन् । तत्कालीन थरुहट आन्दोलनको सुरुवातीकर्ता मध्यका एक योगेन्द्रकै अगुवाइमा दाङ क्षेत्र नम्बर १ मा पनि अधिकार प्राप्तीका लागि थारुहरुमा ठूलो जागरण पैदा भएको थियो । थारुहरुको हक अधिकारका लागि चेतना अभिवृद्धि गराएको आन्दोलनका रुपमा थरुहठ आन्दोलनलाई अहिले पनि यो समूदायले बुझेको छ । फलतः थरुहट आन्दोलनको नेतृत्वकर्ताका नाताले योगेन्द्र बहुमत थारुहरुको रोजाइमा पर्न सक्ने सम्भावना बलियो देखिन्छ ।
थारुहरुकै मतका आधारमा नतिजा उलटफेर हुने यो क्षेत्रको विगतका चुनावी इतिहासलाई हेर्ने हो भने पनि थारु उम्मेदवार नै यो क्षेत्रमा रोजाइमा परेका देखिन्छन् । फलतः यो क्षेत्रका निर्णायक मतदाताहरुले एक जना बाहेक अहिले सम्मका सबै निर्वाचनबाट थारु प्रतिनिधिलाई नै चुनेका छन् ।
पहिलो संसदीय निर्वाचन २०१५ मा यो क्षेत्रबाट राप्रपाका परशुनारायण चौधरीले चुनाव जितेका थिए । २०४८ को संसदीय निर्वाचनमा कांग्रेसका हरि चौधरी निर्वाचित भए, २०५१ को मध्यावधि निर्वाचनमा पनि उनै हरि दोस्रो पटक निर्वाचित भए । त्यसपछिको निर्वाचनमा भने तत्कालीन मन्त्री समेत रहेका खुमबहादुर खड्का यो क्षेत्रबाट निर्वाचित भए । यो बेला पनि दोस्रो स्थानमा रहेका राप्रपाका परशुरानारायण चौधरीले झिनो मतान्तरले हार्नु परेको थियो । २०५६ बाहेक सबै निर्वाचनमा भने थारु उम्मेदवार नै निर्वाचित भए । २०५६ मा मन्त्री रहेकैबेला चुनाव जितेका खुमबहादुर २०६४ को पहिलो संविधानसभामा पुनः निर्वाचन लडे । २०५६ मा थारु मतदाताको रोजाइमा परेको भएपनि २०६४ को निर्वाचनमा भने थारु मत बदलियो, आफ्नै समुदायका उम्मेदवार तर्फ यो मत ढल्कीएको देखिन्छ । २०६४ को निर्वाचनमा तत्कालीन माओवादीका इन्द्रजीत चौधरी कांग्रेसका खुमबहादुर खड्कालाई पराजित गर्दै विजयी बने । त्यसयताका निवार्नचनमा पनि थारु मत थारु उम्मेदवार तर्फै ढल्कीयो । २०७० को पछिल्लो संविधानसभा निर्वाचनमा पनि थारु मतदाताले आफ्नै समुदायकी पार्वती डिसी चौधरीलाई रोजे र विजयी बनाए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा थारु समुदायकै तत्कालीन एमालेका मेटमणी चौधरी निवर्नाचित भए भने २०७९ को निर्वाचनमा पनि यहाँका मतदाताले थारु समुदायकै उम्मेदवार मेटमणीलाई सांसद चुने ।
यसपाला पनि दुई थारु उम्मेदवार आमनेसामने हुँदा थारु मत निर्णायक रहेको यो क्षेत्रमा थारु प्रतिनिधि नै चयन हुने सम्भावना बढि देखिएको छ । थारु मतलाई आफ्नो पक्षमा पार्नकै लागि शक्ति प्रयोग गरिरहेका योगेन्द्र र मेटमणी थारु समुदायमा उनिहरुको हकहितको मुद्धा लिएर मतदाता समक्ष पुगिरहेका छन् । थारु समुदायको मत आफ्ना समुदाय बाहिरका खुमबहादुर खड्का बाहेक अन्य उम्मेदवारलाई अहिले सम्म निर्णायक नबनेको अवस्थामा अहिले पनि थारु मत थारु उम्मेदवारकै पक्षमा जाने आँकलन गरिएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक भने थारु उम्मेदवारका लागि केहि चुनौती बन्ने छन् । उनि गत निर्वाचनमा पनि यसै चुनावी क्षेत्रबाट भिडेका थिए ।
प्रकाशित: १६ माघ २०८२ १५:४८ शुक्रबार





