नेपाली कांग्रेसका सभापति गगन थापाले उत्साह र उर्जा बोकेर पाँच वर्ष देश बनाउने संकल्पका साथ कांग्रेस जनतामाझ उभिएको बताएका छन् । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ मा बिहीबार आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि कांग्रेसले संकल्प गरेका कामहरुलाई पुरा गरेरै छाड्ने दृढता ब्यक्त गरे ।
‘अबको पाँच वर्ष सुशासनको पाँच वर्ष हुनेछ, कांग्रेसले प्रतिज्ञा गरेको छ, २०४६ सालपछि सत्तामा बसेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन हुन्छ, कानुन बनाएर छानबिन गर्छौ, म पनि मन्त्री भएको हुनाले मेरो पनि सम्पत्ति छानबिन हुन्छ, यो हाम्रो सुशासनको संकल्प हो ।’
शिक्षा, स्वास्थ्य, रोजगारीबारे संविधानमा जे लेखिएको छ, सोही अनुसार काम गर्ने उनले बताए । थापाले अगाडी थपे, ‘२०७४ सालपछि ७ वर्षको क्षतिपूर्ति गर्ने गरिकन हामी बेजोडले गाडी दौडाउँछौं, युवा, बुढा सबैलाई राखेर दौडाउँछौं, गाडी दौडाएर मात्र हुदैन, गाडी दुर्घटनामा पर्दैन, सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो । चटक गरेको जस्तो होइन, दौडाउँदा जोखिम पनि हुन्छ, उर्जा पनि चाहिन्छ ।’
अबको ५ वर्ष भित्र प्रत्येक नेपालीको आयलाई माथी उठाउने, युवाहरुले रोजगारी पाउने अवसर बनाउनुपर्ने, संसारभरका लगानीकर्ताले लगानी गर्ने ठाउँ नेपाल हो भन्ने बनाउनुपर्ने र वर्षौदेखी नबनेका पुर्वाधारहरुलाई छोटो समयमा बनाइने सभापति थापाले प्रतिबद्धता जनाए । बाँके जिल्ला स्वर्गिय सुशिल कोइरालाको कर्म भूमि भएको भन्दै यहाँका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई मतदाताले चुनाव जिताउने विश्वास गरे । सुर्खेतमा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर सभापति थापा हेलिकप्टरमार्फत बाँके आईपुगेका थिए । कार्यक्रमको बीच समयमा आईपुगेका उनी करिव आधा घण्टा मात्रै बसेका थिए ।
कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त सभालाई नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसाल, पार्टीका लुम्बिनी प्रदेश सभापति एवम् बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुन, कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार सञ्जय गौतम, पार्टीका लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, कांग्रेस बाँकेका सभापति एवम् बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला सचिव एवम् बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला, जिल्ला उपसभापति कृष्ण कार्की, जिल्ला सचिव एवम् लुम्बिनी प्रदेश सभाका सांसद सञ्जु कुमारी चौधरी लगायतले सम्बोधन गरेका थिए ।
प्रकाशित: १४ फाल्गुन २०८२ १९:५९ बिहीबार





