७ फाल्गुन २०८१ बुधबार
image/svg+xml २०:२ अपराह्न
अन्तर्राष्ट्रिय

अमेरिकी दशककै भयानक विमान दुर्घटनामा ट्रम्पको प्रश्न, ६४ जनाको मृत्यु भएको आशंका

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा, कान्सासबाट वाशिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको 'ब्ल्याक हक' हेलिकप्टर आकाशमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। विमानमा चालक दलका चार जनासहित ६४ जना सवार थिए। आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेका थिए। 

दुर्घटनाको समय राति, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले 'अत्यन्त कठिन' अवस्थाको सामना गर्नुपरेको भनेका छन्। स्थानीय समयअनुसार बुधबार राति ९ बजे वाशिङ्टन रेगन राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो। सेनाको हेलिकप्टरमा तीन जना थिए। सिबिएस समाचारअनुसार विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ। अहिलेसम्म १९ जनाको शव फेला पारिएको समाचारमा बताइएको छ। दुर्घटनापछि कसैलाई पनि जीवित अवस्थामा निकाल्न सकिएको छैन। 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा यस घटनाको बारेमा प्रश्न उठाएका छन्। हेलिकप्टरले विमानको बाटो किन नछाडेको भन्ने प्रश्न उनको छ। उनले लेखेका छन्, 'विमान अवतरणका लागि जाँदै थियो। लामो समयसम्म हेलिकप्टर सिधै विमानतर्फ गइरहेको थियो। विमानको बत्ती पनि बलिरहेको थियो। त्यसपछि हेलिकप्टर किन घुमेन? वा किन यो माथि र तल सरेन।' उनले थपेका छन्, 'यदि कन्ट्रोल टावरले विमान देखेको थियो भने, किन हेलिकप्टर चालक दललाई के गर्ने भनेर बताएनन्? यो नराम्रो अवस्था हो। यस्तो हुनबाट रोक्नुपर्ने थियो। यो ठीक होइन।'

अमेरिकामा भएको यो विमान दुर्घटनालाई एक दशक यताकै डरलाग्दो दुर्घटना मानिएको छ। पछिल्लो प्रमुख अमेरिकी व्यावसायिक हवाई दुर्घटना फेब्रुअरी २००९ मा भएको थियो, जसमा ४९ जनाको मृत्यु भएको थियो। त्यसअघि भएको अर्को प्रमुख दुर्घटना नोभेम्बर २००१ मा जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको थियो, जसमा २६५ जनाको मृत्यु भएको थियो। एजेन्सी

प्रकाशित: १७ माघ २०८१ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App