आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नागरिकका आवाज र मागलाई समेट्ने घोषणा पत्र तयार पार्न नागरिक समाजले राजनीतिक दलहरूलाई अपिल गरेको छ ।
नेपालको लोकतन्त्रलाई नयाँ दिशा दिने ऐतिहासिक अवसरको रूपमा निर्वाचनलाई व्याख्या गर्दै नागरिक समाजले जेन-जी आन्दोलनको मनभाव र नागरिकको अपेक्षा सम्बोधन हुने घोषणापत्र तयार पार्न राजनीतिक दललाई खबरदारी गरेको गैर सरकार संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न १६ संघ संस्था महासंघले राजनीतिक दललाई सामूहिक खबरदारी गरेका हुन् ।
नागरिक समाजले राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा नागरिक अधिकार, सामाजिक न्याय, सुशासन, आर्थिक विकास र समृद्धि सुनिश्चित गर्ने विषय समावेश गर्न अपिल गरेको छ ।
नागरिक समाजले संविधान कार्यान्वयनको दशकभरको अनुभवले केही संरचनागत र शासनसम्बन्धी कमजोरी देखाएको भन्दै, संविधान संशोधन प्रक्रिया लोकतन्त्रको गुणस्तर सुधार र संघीयताको सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेको छ। अपिलमा संसद् र प्रदेश सभामा सदस्य संख्या घटाउने, समानुपातिक राष्ट्रिय सभा बनाउने, संघीयता कार्यान्वयनमा अधिकार हस्तान्तरण गर्ने जस्ता विषयमा स्पष्ट प्रतिबद्धता माग गरिएको छ।
त्यस्तै, निर्वाचन खर्च पारदर्शिता, सार्वजनिक सेवा सुधार, बालबालिका, महिला, युवा, अपांगता भएका व्यक्ति र विभिन्न अल्पसंख्यकको अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, वातावरणीय सुरक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राजनीतिक दलहरूले कार्यन्वयनयोग्य योजना समावेश गर्नुपर्ने अपिलमा जोड छ।
नागरिक समाजले घोषणापत्र केवल शासन प्रणालीको प्रतिबद्धता नभई नागरिक स्वतन्त्रता, समानता र न्याय सुनिश्चित गर्ने प्रतिवद्धता जनाउन माग गरेको छ । यो मागले नेपालको लोकतान्त्रिक स्थायित्व र दीर्घकालीन विकास सुनिश्चित गर्न सघाउ पुर्याउने विश्वास लिएको गैसस महासंघका अध्यक्ष भट्टराईले बताए ।
अपिल हेर्नुहोस्






प्रकाशित: १४ माघ २०८२ १६:१० बुधबार





