नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस कांग्रेसको जन्मभूमि भएको टिप्पणी गरेका छन्। सर्लाही–४ मा बुधवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस मधेसको जेठो छोरा भएको पनि दाबी गरे।
‘मधेस कांग्रेसको जन्मभूमि हो,’ थापाले भने, ‘कांग्रेसलाई बनाएको, कांग्रेसलाई सम्हालेको, कांग्रेसलाई हुर्काएको, कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो। यसैले टिकाएको हो।’
कांग्रेसले थुप्रै गल्ती–कमजोरी गरेको बताउँदै उनले ती कमजोरी सुधार्ने संकल्पसहित मधेस पुगेको उनले दाबी गरे । ‘मधेसले कांग्रेसलाई सधैँ न्याय ग¥यो। कांग्रेसले मधेसलाई न्याय गर्ने क्रममा केही गल्ती, केही चुक भएकै छ,’ उनले भने। खास गरी मधेसले प्राप्त गर्नुपर्ने सम्मान, प्रतिनिधित्व, न्याय र अधिकारका सन्दर्भमा कांग्रेसले सम्बोधन नगरेका कारण नयाँ र मधेसकेन्द्रीत दल आएको उनले बताए।
उनले भने,‘म कसैलाई दोष दिन चाहन्न। तर, कांग्रेसले के ठान्नुपर्थ्यो भने यो हाम्रो जननी हो, आमा हो। हामी हो यसको जेठो छोरा, हामी हो जेठो छोरी। हामीले गर्नुपर्छ यसको सेवा।’ अब कांग्रेसबाट त्यस्तो गल्ती नहुने उनले दाबी गरे।
प्रकाशित: १४ माघ २०८२ १६:०९ बुधबार





