विश्व स्वास्थ्य संगठनबाट बाहिरिने अमेरिकाको घोषणाप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहितको घोषणा गरेपछि डब्लूएचओले चिन्ता व्यक्त गरेको हो ।
बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै डब्लूएचओले बाहिरिने आशयसहितको घोषणाले दुखित बनाएको उल्लेख गरेको छ ।
संगठनले भनेको छ, ‘संयुक्त राज्य अमेरिका आफ्नो निर्णयबारे पुनर्विचार गर्नेमा हामी आशावादी छौँ र विश्वभरका करोडौँ मानिसहरूको सुस्वास्थ्य र आरोग्यताका लागि संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन बीचको साझेदारीलाई कायम राख्न सकारात्मक संवाद हुने अपेक्षा गरेका छौं ।’
अमेरिकीसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न संगठनको भूमिका महत्त्वपूर्ण रहेको र आगामी दिनमा समेत रहने प्रतिबद्ध डब्लूएचओले गरेको छ।
अमेरिका डब्लूएचओको संस्थापक सदस्य हो । सन् १९४८ मा सदस्य बनेको अमेरिकाले डब्लूएचओमा आवद्ध १९३ सदस्य राष्ट्रसँग सहकार्य गर्दै आएको छ ।
प्रकाशित: ९ माघ २०८१ १६:०५ बुधबार