४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

हातमा सीप छैन, खानेलाई अन्न छैन र ओछ्याउन डस्ना पनि छैनः सिंगो बस्तीसँग छैन एउटा पनि सिरक

कोहलपुरस्थित हवल्दारपुरबाट पश्चिमतर्फ अलिकति हिँड्ने हो भने सडकछेउमै लहरै देखिन्छन्, ‘त्रिपालले बनाइएका टेन्टहरू ।’ टाढाबाट हेर्दा अस्थायी शिविर जस्तै लाग्ने ती टेन्ट वास्तवमा एउटा बस्ती हुन् । यहाँ १८ वटा टेन्ट छन्, र ती सबैमा मगन्त समुदायका परिवार बसिरहेका छन् । कुनै योजना, कुनै संरचनाबिना टाँगिएका ती त्रिपालहरू नै उनीहरूको घर, छाना र ओत बनेका छन् ।

तर ती घरहरू पनि सुरक्षित छैनन् । त्रिपालमा प्वाल परेका छन्, सिलाइ छैन, टालटुल पनि छैन । सानो हावाले पनि भित्रसम्म चिसो पस्छ । पुसको कठ्यांग्रिने चिसोमा ती प्वालहरूबाट पस्ने हावा उनीहरूका लागि केवल हावा होइन, रातभरको पीडा हो । एउटा टेन्टभित्र पाँचदेखि सातजनासम्म कोचिएर बस्छन् । सुत्न ठाउँ कम छ, ओढ्न त झन् छैन ।

जफरुद्दीन मुस्लिमको टेन्टभित्र सातजनाको परिवार बस्छ । श्रीमती र छोराछोरी । पुसको चिसोमा ओढ्न एउटा पनि सिरक छैन । भएको एउटा पुरानो कम्बल सातजनाले बाँड्नुपर्छ । ‘एउटाले ताने अर्कोलाई पुग्दैन,’ उनी गह्रौं स्वरमा भन्छन् । रातभर कोही न कोही नांगैैजस्तै बस्नुपर्छ । चिसोले निद्रा लाग्दैन, निद्रा लागे पनि झसंग उठाइदिन्छ । रात कटाउनु नै यहाँ सबैभन्दा ठूलो संघर्ष हो । बिहान घाम चाँडै लाग्दैन । कुहिरोले बस्ती ढाकेको हुन्छ । ओछ्याएको पराल भिजेको, चिसो माटो र भोक तीनैसँग जुध्दै उनीहरू बिहानी कुर्छन् । बिहान उज्यालो हुनासाथ अर्को चिन्ता सुरु हुन्छ, ‘आज चुलो कसरी बाल्ने ? के पकाउने ? के खाने ?’

दिउँसो करिब दुई बजेतिर बस्तीमा सैमुल मुस्लिम भित्रिन्छिन् । नजिकैको झन्डहवाको बजारबाट मागेर ल्याएका सामान बोकेकी हुन्छिन् । झोलाभित्र हेर्दा कुहिन थालेका खुर्सानी र आलु छन् । मुस्किलले आधा किलो बराबरको चामल । ‘बिहान आठ बजेदेखि माग्दै हिँडेर जम्मा गरेको,’ उनी भन्छिन् । दिनभर हिँड्दा पाएको यही हो । सैमुल बस्तीमा पुग्नासाथ उनको परिवारले घेरिहाल्छ । बालबालिकाको नजर उनको हातमा रहेको झोलामै अडिएको हुन्छ । उनले मागेर ल्याएका पकौडी झिकेर सबैलाई बाँड्छिन् । त्यो पकौडी उनीहरूका लागि केवल खाना होइन, दिनभरको आशा हो । पेटभर त हुँदैन, तर भोक केही समय चुप लाग्छ ।

मोहम्मद अहिमको अवस्था पनि फरक छैन । उनको परिवार पनि त्रिपालमुनि नै छ । पानी पर्दा भित्र पस्छ, हावा चल्दा टेन्ट हल्लिन्छ । राति सुत्दा सर्प, मुसा वा अन्य जनावरको डर । “घर भन्नु नै यही हो,” उनी हाँस्न खोज्छन्, तर त्यो हाँसोमा पीडा लुकेको छ ।

समानी अहिमद पनि गरिबीले घेरिएका छन् । पुस्तौंदेखि उनीहरूको आफ्नै नाममा कुनै जग्गा छैन । बस्ने ठाउँ स्थायी छैन । आज यहाँ, भोलि अर्को ठाउँ । करिब दुई हप्ता जति एउटै ठाउँमा बस्छन् । फेरि त्रिपाल बोकेर अर्को ठाउँतर्फ लाग्छन् । काम गर्न उनीहरू इच्छुक छन्, तर काम पाउँदैनन् । सीप छैन, अवसर छैन । मागेर खानेबाहेक अरू विकल्प उनीहरूसँग छैन । तर माग्न जाँदा पनि अहिले सजिलो छैन । पहिलेपहिले केही न केही पाइन्थ्यो, अहिले धेरैले फर्काइदिन्छन् । ‘सबैलाई आफैंलाई गाह्रो छ भन्छन्,’ जफरुद्दीन भन्छन् ।

बालबालिकाको अवस्था झन् दयनीय छ । उनीहरू विद्यालय जाँदैनन् । किताब, कपडा, झोला त परै जाओस्, चप्पलसमेत सबैसँग हुँदैन । चिसो जमिनमा नांगो खुट्टा दौडिरहेका बालबालिका देख्दा पनि कसैको मन पग्लिँदैन । उनीहरूका लागि बाल्यकाल खेल होइन, संघर्ष हो ।

बस्तीमा स्वास्थ्य सुविधा भन्ने केही छैन । बिरामी परे अस्पताल जान पैसा छैन । चिसोले खोकी, ज्वरो, छाती दुख्ने समस्या धेरैमा देखिन्छ । महिलाहरूका लागि झन् कठिन छ । सुरक्षित बसोबास र सरसफाइको अभावले उनीहरूको स्वास्थ्य जोखिममा छ । मगन्त समुदायका यी परिवारहरू राज्यको नजरमा प्रायः देखिँदैनन् । न उनीहरूको तथ्यांक छ, न स्थायी ठेगाना । सहायता वितरण हुँदा पनि उनीहरू छुट्छन् । कम्बल बाँड्दा, राहत दिँदा टेन्टभित्रका यी मानिससम्म पुग्दैन । यही कारण सिंगो बस्तीमा एक थान कम्बल पनि पर्याप्त छैन ।

उनीहरू भन्छन्, राज्यले यदि सीपमूलक तालिम दिइ रोजगारी सिर्जना गरिदिए आफ्ना सन्तानको भविष्य सहज हुन्थ्यो । मागेर होइन, काम गरेर खान पाउँदा आत्मसम्मान बाँच्ने थियो । स्थायी बसोबास र न्यूनतम सुविधा पाए जीवन फेरिन सक्थ्यो । तर अहिलेको यथार्थ कठोर छ । पुसको चिसो रातमा त्रिपालमुनि कँपिरहेका ती परिवारहरूका लागि भोलि पनि आजजस्तै हुनेछ । न कम्बल छ, न निश्चित खाना । सिंगो बस्ती चिसोसँग लडिरहेको छ, र त्यो लडाइँमा उनीहरू एक्ला छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार बाँकेमा गरिबी दर २६ दशमलब ९२ प्रतिशत पुगेको छ । जिल्लाको कुल जनसंख्या पाँच लाख ९७ हजार २ सय ८३ रहेको छ । एक लाख २९ हजार २ सय २९ घरधुरी रहेको बाँकेमा गरिब जनसंख्या एक लाख ६० हजार ८ सय १७ रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित: २९ पुस २०८२ २०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App